Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, मंसिर १८ सोमबार (From Archieve)

  • 630
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १८ सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    पुस २ गतेदेखि कोरियन भाषा परीक्षामा आवेदन दिन सकिने

    काठमाडौँ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन फारम भर्न आग्रह गरेको छ । इपीएस कोरिया शाखा ग्वार्को, ललितपुरले सोमबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

    भाषा परिक्षाकालागि आवदेन यहिँ  २०८० पुस २ गतेदेखि ६ गतेसम्म  दिन सकिनेछ । अब ४ दिनसम्म चल्ने आवदेन लिने क्रममा हजारौं युवाले भाषा परीक्षाको फारम भर्नेछन्। परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ।

    हिमालयन रिइन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सको आइपीओमा ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (मंसिर १८ गते)साँझ ५ः०८ बजेसम्ममा ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.५२ गुणा बढी आवेदन हो ।  हिमालयन रिइन्सुरेन्सले मंसिर ४ गतेबाट आज (मंसिर १८ गते) सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो ।

    घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

    काठमाडौँ । मपछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।

         

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट(डिसिआर) २०२१/२०२२ अनुसार गत आर्थिक वर्ष २०२१र२२ मा नेपालले प्राप्त गरेको कुल वैदेशिक विकास सहायताको करिब २१ प्रतिशत रकम सरकारको वार्षिक बजेट बाहिर (अफ-बजेट) बाट खर्च भएको देखिएको छ ।

     

    आव २०२१/२२ मा नेपालले अमेरिकी डलर दुई अर्ब ४० करोड बराबरको वैदेशिक विकास सहायता प्रतिबद्धता प्राप्त गरेकोमा वास्तविक प्राप्ति एक अर्ब ४० करोड अमेरिकी डलर बराबर छ । त्योभन्दा अघिल्लो वर्ष अर्थात् आव २०२०/२१ मा नेपालले एक अर्ब ७० करोड अमेरिकी डलर बराबर विकास सहायता लिएको थियो भने आव २०१९र२० मा पछिल्लो १० वर्षयताकै उच्च अर्थात् दुई अर्ब अमेरिकी डलर विकास सहायता प्राप्त गरेको थियो । विकास सहायता प्राप्तिको यो तथ्याङ्क हेर्दा आव २०१९र२० मा २६ दशमलव नौ प्रतिशतले बढेको थियो भने पछिल्लो दुई आर्थिक वर्षमा भने लगातार घटेको देखिन्छ । नेपालले पाएको विकास सहायता आव २०२०र२१ मा १५ दशमलव नौ प्रतिशत र आव २०२१/२२ मा १५ दशमलव सात प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

    काठमाडौँ । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ । 

    ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि दर्ता गरी पाँच वर्षका लागि रु दुई करोड ८८ लाख न्यूनतम पट्टा वहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी आज समितिसँग सम्झौता गरेको हो । 

    समितिको टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनीबीच आज भएको सम्झौता अनुसार कम्पनीले यही मङ्सिर २९ गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्नेछ । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलको उपस्थितिमा कम्पनीका निर्देशक युवक डङ्गोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले करार सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।

    कम्पनीको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत भएको हो । 

    कम्पनीले कात्तिक  २१ गते देखि २४ गते सम्म निष्कासन गरेको १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

    एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा

    काठमाडौँ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।

    मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् ।

         एनसेलको स्वामित्व खरिद–बिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले एनसेल खरिद–बिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरीले पुष्टि गर्नुभयो ।

         एनसेलको शेयर खरिद–बिक्रीमा देखिएका प्रश्न र शङ्काबारे सरकारले जवाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बताउनुहुन्छ । “यो खरिद–बिक्रीका सन्दर्भमा नागरिकस्तरबाट प्रश्न उठिरहेका छन् । सरकार उत्तरदायी र नागरिकका प्रश्नमाथि जवाफदेही हुनुपर्छ”, उहाँले भन्नुभयो, “यो खरिद–बिक्री प्रक्रिया विधिसम्मत हो कि होइन रु हाम्रो ऐन कानुनअनुसार भएको छ कि छैन रु यसले सरकारी आय र राजस्वमा के प्रभाव पार्छ रु सेवा प्रवाहमा के असर गर्छ रु लगायत विषयमा सम्बन्धित निकायसँग जानकारी मागिएको छ”, सभापति पोखरेलले भन्नुभयो ।

    विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित ४ जना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की र माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

    औद्योगिक राष्ट्रको कार्बन उत्सर्जनका कारण नेपालले विपद् भोग्नुपरिरहेको छ : उर्जामन्त्री बस्नेत

    यूएई । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।

    संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा भइरहेको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा साथसाथै संस्थाले आज नेपालको पेभिलियनमा आयोजना गरेको कार्यक्रममा उहाँले औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको कार्बनका कारण नेपालजस्ता कार्बन उत्सर्जनमा न्यून योगदान भएका मुलुकहरुले बढी क्षति व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।

    ‘जलवायु परिवर्तन र हिमाल, महिला तथा जोखिममा रहेका समुदायमा पारेको असर’ शीर्षकमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि गरेको आफ्नो प्रतिबद्धतालाई पूरा गर्नेतर्फ अग्रसर रहेको स्पष्ट पार्नुभयो । विकसित मुलुकहरुले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँको जोड थियो ।

    तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का

    काठमाडौं  ।तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । 

    नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्था अनुरुप २०८० साल मङ्सिर १८ को निर्णायअनुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ । साथै उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । 

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं  । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

    कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने

    काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    केन्द्रीय बैंकले १६ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (मंसिर १९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।

    व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

    वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

    काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।

    उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।

    ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेड च्यानलबाट निकाल्दा सामान अनुसारको राजस्व तिर्नुपर्ने र विभिन्न कागजातहरू समेत आवश्यक पर्ने भएकोले राजस्व पनि खासै तिर्न नपर्ने र सहज किसिमले निकाल्न मिल्ने ग्रीन र यल्लो च्यानलबाट निकाल्न व्यापारीहरूले विभिन्न सेटिङ गरी योजना बनाइरहेको स्रोतको दाबी छ । भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।

     

     

     

     
     

     

     
     
     

     

     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस