Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रिय सभा निर्वाचनमा १८ पदमा सत्ता गठबन्धन विजयी एमालेको एक जित


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 453
    Shares

  • राष्ट्रिय सभा निर्वाचनमा १८ पदमा सत्ता गठबन्धन विजयी एमालेको एक जित

    काठमाडौँ । १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले १८ पदमा जित हात पारेको छ भने एक पद गुमाएको छ ।कोशी प्रदेशमा सत्ता गठबन्धनका मतदाताहरूले फ्लोर क्रस गरेपछि त्यहाँको  एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए ।

    कोशी प्रदेश

    कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गरिन् । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गरेका कारण  गठबन्धनकी कार्की पराजित बनिन् ।

    मधेस प्रदेश

    मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित भए । ढुंगाना ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितेकी छिन् ।

    बागमती

    बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन् । यो प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी हुँदा   एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईं पराजित बनिन् ।दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बनिरहँदा  एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाए पराजित बने ।  

    अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेतले  ६ हजार ५३१ मतभारसहित निर्वाचित बन्दा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारमा पाएर पराजित बने । अल्पसंख्यक  तथा अपांगतातर्फ  माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत मात्र पाए ।

    गण्डकी

    गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए । यो प्रदेशमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन् । श्रेष्ठले ३ हजार ८०८, परियारले ३ हजार ७७९ र मनरुपाले ३ हजार ६६० र मतभार पाएर विजयी बने ।

    एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभारमात्र  पाएर पराजित भए ।

    लुम्बिनी

    लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन् । सापकोटाले ५४३५ मत भार प्राप्त गर्दै विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन् ।

    कर्णाली

    राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएकामा  नेकपा एमालेका उम्मेदवारहरू पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरू विजयी भए । 

    कर्णालीमा दलित, महिला र अन्य कोटामा निर्वाचन भएको थियो । जसमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन् ।

    मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् ।

    एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्ली प्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । चन्द ४ हजार ४५३ मतसहित निर्वाचित भइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

     

    प्रतिक्रिया दिनुहोस