Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै : ४६ युवा ठगिए


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 570
    Shares

  • खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै : ४६ युवा ठगिए

    खोटाङ ।  वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । 

    सुरक्षित आप्रवासन कार्यक्रम ९सामी०का खोटाङ संयोजक सन्तोष राईले  रु एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिनुभएको छ । “वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा रु २३ लाख ४० हजार पाँच सय ठगी भएको उल्लेख छ”, उहाँले भन्नुभयो, “विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट रु १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ ।”

    चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले रु एक लाख ५० हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदाधाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेको जनाइएको छ ।

    वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने अधिकांश जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट बञ्चित भएको स्रोत केन्द्रले जनाएको छ । वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिनुभयो । 

     ठगीका नयाँनयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “पछिल्लो समय नयाँनयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगारसम्बन्धी तथा विभिन्न बहानाम ठगीका घटना हुन थालेका छन् । ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “घटना भइसकेपछि मात्र प्रहरीमा जानकारी आउँछ । पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेको छ । यसप्रति सचेत हुन आवश्यक छ ।”

    खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०÷८१ को पछिल्लो पाँच महिना ९मङ्सिरसम्म० मा खोटाङबाट तीन हजार तीन सय ४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमा महिला तीन सय २२ रहेको श्रोत केन्द्रले जानकारी दिएको छ । दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार आठ सय छजना युवाले श्रम स्वीकृति लिएको पाइएको छ । यसमा आठ सय ३१ महिला छन् ।रासस

    प्रतिक्रिया दिनुहोस