Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, माघ २२ सोमबार

  • 726
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ २२ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २२ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा हो : अर्थमन्त्री महत

    त्रिशूली । अर्थमन्त्री डा प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ । 

     

    आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले रोजगार सिर्जना, आर्थिक उपार्जनलगायत क्षेत्रका लागि शिक्षा नै पहिलो आधार रहेको बताउनुभयो ।

     

    “विकासका लागि पूर्वाधार निर्माण आवश्यक पर्दछ । यसले दैनिक जीवनयापनमा सहजता ल्याउने भए पनि त्योभन्दा ठूलो शिक्षाको विकास सबैभन्दा शक्तिशाली माध्यम हो”, अर्थमन्त्री महतले भन्नुभयो, “आम्दानीको स्रोत बढाउन, बचत गर्न र भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने मुख्य बाटो नै शिक्षाले देखाउँछ ।”

    एनआइसी एसिया ग्रोथ फन्ड-२ को इकाई नेप्सेमा सूचीकृत

    काठमाडौं । ‘एनआइसी एसिया ग्रोथ फन्ड-२’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । एनआइसी एसिया क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गत ‘एनआइसी एसिया ग्रोथ फन्ड-२’ को ९ करोड ५ लाख इकाई नेप्सेमा सूचीकरण गरिएको हो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एनआइसीजीएफ-२’ संकेत दिएको छ ।

    सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ४० हजार ६२५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (माघ २२ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

    शेयर बजार : १४.५७ अंकले बढेर नेप्से २०७६.२७ विन्दुमा , २ अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १४.५७ अंकले बढेर  २०७६.२७ विन्दुमा आएको छ । आज २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३१० कम्पनीको ७४ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५९ लाखरुपैयाँसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।

    ङादी ग्रुप पावरको खुद नाफा ३ करोड ३२ लाख

    काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ३२ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३५.६५ प्रतिशतले धेरै हो । 
    विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ४२ लाखबाट बढेर ८ करोड १३ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च २ करोड ६७ लाखबाट घटेर १ करोड २५ लाख रुपैयाँ कायम भएको छ । खर्च घट्दा र आम्दानी बढ्दा कम्पनीको नाफा पनि बढेको हो । ङादीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको  रिटेन्ड अर्निङमा ९ करोड २१ लाख रुपैयाँ रहेको छ । अदर इक्विटी १ अर्ब २ करोड ७५ लाख रुपैयाँ बराबर छ ।

    मिर्मिरे लघुवित्तको  साधारण सभा फागुन १४ गते

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल नगरपालिका वडा।७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

    युनाइटेड इदी मर्दीको लाभांश घोषणा

    काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावर लिमिटेडले ५.७८९ लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार (माघ २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।  यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन-१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

    सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आज (माघ २२ गते) देखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा  फिर्ता हुँदै

    काठमाडौं ।  अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशस् फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् । अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौ रकम जम्मा भएको छ । यसले गर्दा सो रकम दोस्रो बजारमा फर्किदा सेयर बजार चलायामान हुने लगानीकर्ताहरु बताउँछन् । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ ।

    चिलिमे जलुविद्युतको खुद नाफा ५.५१ प्रतिशतले घट्यो

     काठमाडौं ।चिलिमे जलुविद्युतको खुद नाफा ५.५१ प्रतिशतले घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ । पुस मसान्तसम्म आइपुग्दा चिलिमे जलुविद्युतको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यसअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसाले घटेर ९ रुपैयाँ ४० पैसामा आएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेबाट ऋणपत्र निष्कासन गर्दै

    काठमाडौं  । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा ६२.९३ प्रतिशत बढ्यो

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा बढेको छ । यसअवधिमा नाफा ६२.९३ पैतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । 
    यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।  खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो । कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ ।

    पार्किङको विषयमा काठमाडौ महानगरपालिका र न्यूरोड क्षेत्रका स्थानीयबासिन्दा तथा  व्यापारीहरूबीचको विवाद चर्किने

    काठमाडौं । काठमाडौ महानगरपालिका र न्यूरोड क्षेत्रका स्थानीयबासिन्दा तथा  व्यापारीहरूबीचको विवाद चर्किने देखिएको छ ।सुन्धारा न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि न्यूरोड क्षेत्रका स्थानीयबासिन्दा तथा व्यापारीहरूले महानगरको सो निर्णय विरोध फेरि चर्किने भएको हो ।

    महानगरले विवाद समाधान गर्न सुन्धारास्थित निर्माणाधिन धरहराको भूमिगत पार्किङमा निशुल्क पार्किङ सुविधा उपलब्ध गरायो । तर महानगरले सरोकारवाला मन्त्रालयसँग समन्वय नगरी त्यो सुविधा उपलब्ध गराउँदा विवाद चर्किन पुग्ने देखिएको हो । 

    ९ माघदेखि पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो । तर न्यूरोडका व्यवसायी आन्दोलित भएपछि महानगरपालिकाले १४ माघदेखि निर्माण कम्पनी जिआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा दुई पाङ्ग्रे सवारी साधनका लागि पनि पार्किङ खुलाइयो ।

    व्यवसायी अरुण चौधरीसहितलाई थप ३ दिन हिरातमा राख्न अदालतको अनुमति

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

    प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र  बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।

     

    बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गर्नुभयो । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् ।

    पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ ।  अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

    काठमाडौँ ।  नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिनुभयो ।

    आजको मौसमः हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको  छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकोपहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

     

     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस