Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र


नया सडक

२०८०, माघ २७ शनिबार

  • 810
    Shares

  • बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र

     

    लमजुङ ।  बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो ।

     

    डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सात सय मिटर बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार उक्त सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

     

    योजना कार्यालयका अनुसार उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म रु १९ करोड खर्च भइसकेको छ । ट्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ । 

     

    सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । 

     

    अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर ९पेन्टिङ० गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इञ्जिनियर पोखरेलले बताउनुभयो । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

     

    सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । सडक योजना कार्यालयका अनुसार कूल रु ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाखमा कालोपत्रको सम्झौता भएको छ । 

     

    विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । कालोपत्र नहुँदा आक्रोशित बनेको यहाँका स्थानीय कालोपत्र सम्पन्न हुन लाग्दा उत्साहित भएका छन् । 

     

    मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकएपछि विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । पैसठ्ठी किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ । रासस

    प्रतिक्रिया दिनुहोस