Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 819
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन ९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  फागुन ९ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरका लागि धितोपत्र बोर्डको अन्तिम स्वीकृति

    काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको छ । बोर्डले फागुन ९ गते मर्जरका लागि स्वीकृति दिएको हो । यी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले भने गत माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ । यी दुई लघुवित्त संस्था १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो ।

    नेप्सेमा पहिरो रोकिएन ६.४६अंकले घटेर २०२६.५९ बिन्दुमा अडियो

    काठमाडौं । आज नेप्से  ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा आएको छ ।

    आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९  रुपैयाँ ३७ पैसाको सेयर कारोबार भएको छ । 

    विभिन्न कम्पनीका  ६३ लाख ४१  हजार १सय ७४ कित्ता सेयर कारोबार भएको छ । 


    आजको गिरावट ०.३१ प्रतिशत रहेको नेप्सेले दर्शाएको छ ।

    हिमालयन रिइन्सुरेन्सको  साधारण सभा फागुन २० गते

    काठमाडौं । हिमालयन रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सुरुको सात महिनामा तीस अर्बको सवारी साधन आयात, बिजुलीबाट चल्ने वाहनको हिस्सा ठुलो राजस्व सानो

    काठमाडौं । चालु आर्थिक वर्षको सुरुको सात महिनामा तीस अर्ब बढीको सवारी साधन भित्रिएको छ ।

    त्यस मध्ये बिजुलीबाट चल्ने वाहनको हिस्सा १७ अर्ब बढीको रहेको छ ।

    भन्सार विभागका अनुसार  १२  अर्ब  ५२ करोड  ५६ लाख रुपैयाँ बराबरको इन्धनबाट चल्ने  सवारी साधनको आयात गरिएको छ ।

    राजस्वको हिसावले सरकारलाई  इन्धनबाट चल्ने सवारी साधनको आयातबाट बढी राजस्व प्राप्त भएको छ ।

    बिजुलीबाट चल्ने सवारी साधनको आयातबाट सरकारलाई प्राप्त भएको राजस्व  ७ अर्ब ४३ करोड ७९ लाख  रुपैयाँ राजस्व संकलन भएको बेला इन्धनबाट चल्ने सवारी साधनको आयातबाट १७ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको हो ।

    विद्युतीय टयाक्सीमा भन्सार छुट हुनुपर्ने माग गर्दै व्यवसायी आन्दोलित 

    काठमाडौं । टयाक्सी व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।

    १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।

    लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाउनुभयो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ । यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ ।”

    उहाँले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको उल्लेख गर्दै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।

    बेलायतले नेपाललाई साढे ६६ अर्ब बढीको अनुदान दिने घोषणा

    काठमाडौं । बेलायतले नेपाललाई ६६ अर्ब ६० करोड रुपैयाँ (४० करोड पाउन्ड) अनुदान दिने  घोषणा गरेको छ । बेलायतले नयाँ विकास पोर्टफोलियो घोषणा गर्दै सन् २०३० सम्म सो  सहयोग दिने जनाएको हो ।  
    बेलायतका विकास तथा अफ्रिका मामिला हेर्ने मन्त्री एन्ड्रयु मिचेलको दुईदिने नेपाल भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर भएको छ । (सोमबार र मंगलबार दुई दिने नेपाल भ्रमणमा मिचेल नेपाल आएका बेला अर्थमन्त्री डा. प्रकाशशरण महत र मन्त्री मिचेलको उपस्थितिमा सो अनुदान सहायतासम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भयो  ।

    पीडितले समयमै न्याय पाए मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्य हासिल हुनसक्ने बताउनुभएको छ । 
          
    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुझाउनुभएको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन ब्ुझ्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो । जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस भन्दै उहाँले न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकको सहज पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो ।

    गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पीडितको प्रदर्शन

    काठमाडौं । देशभरका लघुवित्त पीडितहरु बालुवाटारमा गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन् । पीडितहरुले न्याय नपाएको भन्दै काठमाडौं आएर प्रदर्शन शुरु गरेका हुन् ।

    हिन्दू र मुसलमानबीचको तनाव घटाउन वीरगन्जमा जारी निषेधज्ञा राति १० बजेसम्मका लागि हटाइयो

    वीरगञ्ज (पर्सा)  । दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि राति १० बजेसम्मका लागि खुला गरेको हो ।

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस