Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 915
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  फागुन १३ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शिवम् सिमेन्ट्ससहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्सुरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्सुरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
    शिवम् सिमेन्ट्सको ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले सेयरधनीलाई गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन परेको छ । पहिलो दिन अर्थात आइतबार साँझ ५ः०७ बजेसम्ममा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ । सीडीएसका अनुसार १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आज आइतबार (फागुन १३ गते) कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

    साताको पहिलो दिन आइतबार नेप्से दुई हजार बिन्दु तल, २६.८१ बिन्दु झरेर १९७९.०२ बिन्दुमा

    काठमाडौं । आज साताको पहिलो दिन आइतबार  नेप्से २००० बिन्दु तल झरेको छ । आज २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा झरेको छ ।

    आज  ३ अर्ब  ८ करोड ६९ लाख ५१ हजार ७०  रुपैयाँ ५१ पैसाको सेयर कारोबार भएको छ । 

    विभिन्न कम्पनीका  ८५ लाख ४६  हजार ९सय ३० कित्ता सेयर कारोबार भएको छ । 

    आजको गिरावट १.३३ प्रतिशत रहेको नेप्सेले दर्शाएको छ ।

    गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर विक्रीमा ल्याएको हो ।
    यस शेयर खरीदका लागि हाल कम्पनीका विद्यमान शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

    यसपटक जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    आज कुमारी सबल योजनामा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । कुमारी सबल योजनामा आवेदन दिने आज (फागुन १३ गते)अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४% विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

    सन नेपाल लाइफ इन्सुरेन्सको २३.८० प्रतिशत बोनस सेयर घोषणा

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २३.८०% बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।  

    प्रि ओपन सेसन : नेप्से सूचक १.०५  विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०५ विन्दुले बढेको छ । यससँगै सूचक २००६.८८ अंकमा आएको छ । १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो ।

    आजदेखि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्ने

    काठमाडौं । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
    सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँकोे नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने जनाएको छ ।

    यो ट्रेजरी बिल आगामी जेठ १५ गते परिपक्व हुनेछ । ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएकोे छ । उक्त ट्रेजरी बिल भने २०८२ फागुन १३ गते परिपक्व हुनेछ । मंगलबार फागुन १५ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

    फागुन महिनामा अधिकांश वाणिज्य बैंकहरूको आधार ब्याज दर घट्दो 

    काठमाडौं । फागुन महिनाका लागि  वाणिज्य बैंकहरूले ब्याज दर घटाएका छन् । फागुनको लागि आधार दर सार्वजनिक गरे अनुसार १९ वटै बैंकको आधार दर घटेको हो ।बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा सीमित भएको हो।

    ऋधिकांश वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशत छ। 

    बैंकहरूले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेको देखिन्छ ।केही महिना अघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।

    राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिक आइटम डा.रसेल इम्पोर्ट गर्ने कम्पनीमा छापा, अनुसन्धान नै नगरी सहमतिको प्रपञ्च 

    काठमाडौं । राजस्व अनुसन्धान विभागले केही दिन अगाडि कस्टमेटिक आइटम डा.रसेल आयात र बिक्री वितरण गर्ने कम्पनीमा छापा मा¥यो । विभागले पसल र केही गोदाम समेत सिल ग¥यो । छापा मारेर पसल र गोदाम सिल गरेर केही दिनमा विभागले सिल खोल्यो र कारोबार नियमति गर्न अनुमति दियो ।

    कस्मेटिक बजारको हब भनेर चिनिने मखनस्थित अरुण अग्रवालले सञ्चालन गरेको फेस केयर नामक पसल र उसको गोदाममा विभागले छापा मारेको थियो । तर, विभागले उक्त फर्मका सञ्चालक र डा.रसेलका उत्पादन तथा राजस्व चुहावटको गहिरो अनुसन्धान नै नगरी प्रभावमा उक्त कम्पनीलाई उन्मुक्ति दिएको ÷ दिन खोजेको स्रोतले जनाएको छ । डा.रसेलका कस्मेटिक आइटमहरूमा भिटामिन सीआधारित विभिन्न फेस क्रिम, हेयर क्रिम, स्क्रिन केयरलगायत डेढ सय बढी उत्पादनहरू बिक्री वितरणमा रहेको पाइन्छ । देखावटीरूपमा अरुण अग्रवाल डा. रसेलका अधिकृत बिक्रेता हुन् ।

    पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’  पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गर्नुभएको छ । 

     

    वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पु¥याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरिएको हो ।

    महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

    अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताउनुभएको छ । 

     

    नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग प्रधानमन्त्रीले सो धारणा राख्नुभएको हो । 

     

    प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रको अवस्थाप्रति आफू गम्भीर रहेको र यसको सुधारका पक्षमा सरकारले काम पनि गरिरहेको जानकारी दिनुभएको ती संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।   

     

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस