Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 870
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १४ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा ८ गुणा बढी आवेदन

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा दोस्रो दिन अर्थात सोमबार साँझ ५ः०७ बजेसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ । सीडीएसका अनुसार ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार (फागुन १३ गते) गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

    राधी विद्युत कम्पनीको बोनस शेयर नेप्सेमा  सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा राधी विद्युत कम्पनीको बोनस शेयर सोमवार (आज) सूचीकृत भएको छ ।

    कम्पनीको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सकिनेछ ।  

    कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    नागरिकको जीवनस्तर उकास्ने गरी आगामी आवको बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री डा महत

    काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भइ आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनुभएको छ । 
    प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गतिसँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नागरिकको जीवनस्तर उकास्ने गरी बजेट तर्जुमा गरिने उल्लेख गर्नुभयो ।

    शेयर बजार : १३.२८ अंकले बढेर नेप्से १९९२.३० विन्दुमा ,  २ अर्ब १ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १३.२८ अंकले बढेर नेप्से १९९२.३० विन्दुमा आएको छ । आज  २ अर्ब १ करोड रुपैयाँ भन्दा बढीको  सेयर खरिद बिक्री भएको छ ।यस दिन ३१४ कम्पनीको ५९ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ९ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । बोटलर्स नेपाल बालाजुको भाउ १०५ ले सर्किट लागेर बढेको छ ।

    सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्दै

    काठामडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूको असोज ३० गते सम्पन्न अलगअलग बसेको विशेष साधारण सभाबाट पारित भएको थियो ।

    नेपाल राष्ट्र बैंकले माघ २४ गते र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डबाट भने फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीहरूले दिएका छन् । मर्जरपश्चात् बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा कायम रहनेछ ।

    युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा  चैत २९ गते

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ६ गतेसम्म कायम  रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनछन् ।

    मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य (सूचीसहित)

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक सूची अनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

    आज मिर्मिरे लघुवित्तको साधारण सभा

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सोमबार (फागुन १४ गते)वार्षिक साधारण सभा बस्दैछ । सभा, होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

    क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साधारण सभा चैत ५ गते 

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चाल निर्वाचन गर्नेछ ।

    सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ

    काठमाडौँ । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

    दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    सीमावर्ती भारतीय नाकाहरूबाट कस्मेटिक सामानहरूको चोरी तस्करी बढ्यो, सरकरी नीतिकै 'खोट' , सम्बन्धित निकाय मौन

    काठमाडौं । सीमावर्ती भारतीय नाकाहरूबाट कस्टमेटिक मालवस्तुको चोरी तस्करी बढेको छ । पछिल्लो एक महिनायता भारतसँग सीमा जोडिएका नाकाहरूबाट कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको चोरी तस्करी भएर नेपाल आउने क्रम बढेको हो ।

    भारतसँग जोडिएका पूवी नाकाहरू मेची भन्सार कार्यालय झापा र त्यस आसपासका खुला नाकाबाट अत्याधिक कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुहरूको चोरी तस्करी भइरहेको नाम नबताउने सर्तमा एक व्यापारीले बताए ।इलामको पशुपतिनगर भन्सार कार्याल तथा आसपासका खुला क्षेत्रबाट पनि पन्ध्र दिन यतादेखि यस्ता मालवस्तुको चोरी तस्करी तीव्र बनेको स्रोतले बताएको छ ।यस्तै भद्रपुर र आसपासका खुला नाकाहरूबाट समेत कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको निर्बाध चोरी तस्करी भएर नेपाल भित्रिएको त्यसक्षेत्रका एक कस्मेटिक व्यापरीले नयाँ सडकलाई बताए ।

    एनआरएनएलाई उच्च अदालतबाट राहत, काठमाडौं महानगरपालिकालाई एनआरएनए भवन तत्काल खाली नगराउन आदेश

    काठमाडौँ । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालय तत्काल खाली नगराउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले तत्काल एनआरएनएको कार्यालय खाली नगराउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

    यसअघि विशेष अदालतमा दायर भएको ललितानिवास परिसरभित्रको जग्गा विवादमा विशेष अदालतले उक्त जग्गा नेपाल सरकारको हुने फैसला गरेको थियो । सो फैसलासँगै महानगरपालिकाले सूचना निकालेर घर तथा जग्गा खाली गर्न भनेको थियो । फागुन ११ गते शुक्रबार काठमाडौं महानगरपालिकाले घर तथा जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेसँगै उच्च अदालतले त्यस्तो सूचना कार्यान्वयन नगर्न नगराउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक डुब्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘नेपालका कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन्’ उनले भने, ‘राष्ट्र बैंकले निक्षेपकर्ताको पैसा डुब्न दिँदैन ।’बैंक तथा वित्तीय संस्थालाई स्वस्थ बनाइराख्न यसबीचमा नियमनकारी निकायले ल्याएका विभिन्न प्रावधानमा धेरै विरोध र टिप्पणी गरेको तर्फ इंगित गर्दै उनले भने, ‘राष्ट्र बैंकको नीतिगत कडाइका कारणले बैंकहरुमा समस्या आउँदैन ।’

    बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद

    काठमाडौँ ।   वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिनुभयो ।

     

    अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उहाँको भनाइ छ ।

     

    अनुगमन टोली सदस्य समेत रहनुभएका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भन्नुभयो, “विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधिखरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।”

    ‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छ जना खेलाडी पर्न सफल भएका छन् । 

     

    बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

    अर्थमन्त्रालयमा बस्न चाहने र मनपर्नेले राख्न चाहनेबीचको तनावले सहसचिवको सरुवा निर्णय अन्यौलमा

    काठमाडौं । अर्थमन्त्रालयमा बस्न चाहने र मनपर्नेलाई राख्न चाहनेहरूका कारण कार्यसम्पादनमा समस्या उत्पन्न भएको छ ।यसले गर्दा हुनुपर्ने पदस्थापन र सरुवाहरू हुन नसकेको देखिएको हो ।४० जना सहसचिवहरूको  सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेपनि अहिलेसम्म मन्त्रिपरिषदबाट सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय हुन नसकेको हो । प्रस्तावित सरुवाको सूचीमा थपघट गर्ने काम  नरोकिएको हो ।

     

     
     
     

     

     
     
     
     
     
     
     
     

     

     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस