Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

काठमाडौं महानगरका प्रशासकीय अधिकृतसँग एनआरएनए आरके समूहका पदाधिकारीको छलफल


नया सडक

२०८०, फागुन २१ सोमबार

  • 918
    Shares

  • काठमाडौं महानगरका प्रशासकीय अधिकृतसँग एनआरएनए आरके समूहका पदाधिकारीको छलफल

    काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके) समूहका केही पदाधिकारीले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतसँग छलफल गरेका छन् । समूहका सल्लाहकार, उपाध्यक्षसहितको टोलीले काठमाडौं प्लाजामा रहेको महानगरपालिकाको कार्यालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग छलफल गरेको हो । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला गरेपछि एनआरएनएको सचिवालय पनि सरकारी करण भएको छ । संविधान अनुसार सरकारी जग्गाको सरंक्षण गर्ने जिम्मा स्थानीय तहको रहेको छ । त्यसैका आधारमा काठमाडौं महानगरपालिकाको ७ दिने सार्वजनिक सूचना जारी गर्दै त्यस क्षेत्रमा रहेका संस्था तथा व्यक्तिगत सम्पत्ति खाली गर्न भनेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पाटनमा दायर रिटमा अहिले अन्तरिम आदेश जारी भएपनि भवन खाली गर्ने समय थप भएको अवस्थामा आरके समूहका अभियन्ताहरुले प्रशासकीय अधिकृतसँग छलफल गरेका हुन् ।
    छलफलमा सहभागी भएका उपाध्यक्ष गंगाधर गौतमले प्रमुख प्रशासकीय अधिकृतसँग उक्त भवन भविष्यमा पनि एनआरएनएको सचिवालय चलाउन मिल्ने गरी दिनका लागि पहल गर्न आग्रह गरेको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरुले १०–१० डलर जम्मा गरेर बनाएको संरचना सरकारीकरण भए पनि त्यहाँ कार्यालय चलाउनका लागि दिन आग्रह गरेका हुन् । जनताको पसिना परेको उक्त भवन एनआरएनएलाई भोग चलन गर्न दिनु पर्ने कुराहरु राखेपछि प्रमुख कार्यकारी अधिकृत परियारले पनि आफू यस विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएको बताए । उनले सरकारबाट कर छुटमा बनाएको भवनबाट अहिले पनि एनआरएनएले भाडा उठाइरहेको विषय पनि आएको बताउँदै यसलाई तत्काल सल्टाउन आग्रह गरेका थिए । छलफलमा सहभागी भएका शर्मा समूहका एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले बताए । आफूहरु काठमाडौं महानगरपालिकासँग मिलेर काम गर्न तयार रहेको बताउँदै विदेशका नगरपालिकासँग भगीनी सम्बन्ध विस्तार गर्नका लागि पहल गर्ने पनि सल्लाहकार आनन्द विष्टले बताएका थिए । एनआरएनए काठमाडौं महानगरपालिकासँग टसल भन्दा पनि मिलेर काम गर्ने तयारीमा रहेको उपाध्यक्ष खगेन्द्र न्यौपानेले उल्लेख गरे  । जवाफमा प्रशासकीय अधिकृत परियारले अहिले ललिता निवास जग्गा प्रकरणका विषयमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश भएको र यसको निरुपण भएपछि आफूहरुले पनि मिलेरै काम गर्ने लक्ष्य लिएको बताए । 
    सो अवसरमा एनआरएनएका सल्लाहकार तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएनएका उपाध्यक्षद्वय गंगाधर गौतम र खगेन्द्र न्यौपाने, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए युएईका सल्लाहकार तथा जनसम्पर्क समितिका सभापति भुवानी तिम्लिसेना, एनआरएनए अभियन्ता तथा जनसम्पर्क समिति साउदीका सभापति अर्जुन थापा, एनआरएनए अभियन्ता राजु सैयद लगायतको उपस्थीति रहेको थियो । 
    एनआरएनएका पदाधिकारीहरुले अब छिट्टै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग पनि भेटेर सचिवालय भवनका विषयमा थप कुरा गर्ने तयारी पनि गरेको उपाध्यक्ष गौतमले बताए ।

    प्रतिक्रिया दिनुहोस