Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, फागुन २१ सोमबार

  • 1.1k
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २१ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    आजको लागि शेयर बजार बन्द

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्किट ब्रेकर लागेर आजको कारोबार स्थगित भएको छ । सूचक  मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ । अब कारोबार सोमबार मात्र खुला हुनेछ ।

    तीन मन्त्री तामाङ, गिरी र अर्यालद्वारा शपथ

    काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।
    तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् ।

    मन्त्रीहरु जिम्मेवारी विहीन,२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड 

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले सपथग्रहण गरेका छन । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई सपथ खुवाए पनि उनीहरूबिना विभागीय  मन्त्री बनेका छन् । उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

    प्रतिधिनिसभा बैठक स्थगित , अर्को बैठक फागुन २४ गते

    काठमाडौँ ।  प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ । 

     

    “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति  फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

    छिमेक लघुवित्त र युनिभर्सल पावरको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
    छिमेकको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
    युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले वितरण गरेको ८.५५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

    सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ  शुक्रबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ।

    कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कारोबार  भएको छ  । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ कायम रहेको छ ।

    शेयर बजारमा सर्किट, कारोबार रोकियो

    काठमाडौँ । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । 

     

    आज बजार खुलेको केही समयमै  नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।

    प्रभु इन्सुरेन्सको बोनस सेयर घोषणा

    काठमाडौं । प्रभु इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल बिमा समिति र प्रभुको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

    सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम आरबीबी मर्चेन्ट बैंकिङमार्फत हुने भएको छ । यस हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब आरबीबी मर्चेन्टले गर्नेछ । फागुन १ गतेदेखि लागू हुने गरेर सुपरमाईले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्ति गरेको हो ।

    नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं  । नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार फागुन २२ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ भदौ १८  गते परिपक्व हुनेछ ।

    २१ लाख नगदसहित पाँच जना हुण्डी कारोबारमा संलग्न  रहेको आरोपमा पक्राउ 

    काठमाडौं । २१ लख नगदसहित पाँच जना हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा सोहीठाउ–४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाई नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारी रहेका छन् ।

    बारा प्रहरीले जानकारी सार्वजनिक गरे अनुसार  पक्राउ पर्नेहरूमा अन्य  भारतको बिहार राज्य मोतिहारी जिल्ला आदापुर थाना हरपुर पञ्चायत नायकाटोला बस्ने शम्भु साहका २९ वर्षीय छोरा रञ्जित सरार्फ, सोही ठाउँ श्यामपुर टोल बस्ने ४२ वर्षीय कृष्णालाल प्रसाद र अरेराज बस्ने ४० वर्षीय रविशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका हुन् ।

    ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौँ ।  ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

     

    यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ । दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

     

    आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

    राजस्व छली र चुहावट नियन्त्रण गर्न  राजस्व अनुसन्धान विभाग सक्रिय ,यस्तो छ विभागको २०८० माघ मसान्तसम्मको प्रगति

    काठमाडौं । राजस्व अनुसन्धान विभाग राजस्व छली र चुहावट  नियन्त्रण गर्न आक्रामक देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्म राजस्व चुहावटसम्बन्धी २५ओटा मुद्दा दायर गरेको छ ।

    २५ ओटा मुद्दामा एक अर्ब  ६२ करोड बढी रुपैयाँ बराबरको बिगो तथा सजाय माग दाबी अनुसन्धान विभागले गरेको हो । विभागले व्यक्ति र कम्पनी गरी  ४५लाई प्रतिवादी बनाएको छ । गत वर्षको सोही अवधिमा विभागले ३४ ओटा मुद्दा दायर गरेको थियो । विभागले गत आवको सोही अवधिमा ३४ ओटा मुद्दामा ५९लाई प्रतिवादी बनाइ एक अर्ब ४५ करोड बढीको बिगो तथा सजाय माग दाबी गरेको थियो । विभागले गत आवको भन्दा चालु आवमा १७ करोड बढी बिगो माग दाबी गरेको छ ।

    दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

    चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।

     

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उहाँले दूध नउठ्दा समस्या भएको बताउनुभयो । साउन यताको भुक्तानी रु ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उहाँको भनाइ छ ।

    ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता

    कर्णाली ।  कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ ।

     

    यही फागुन १८–१९ गतेसम्म वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत प्रदेश सरकारले १४ बुँदे प्रतिबद्धता जनाएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज उक्त १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । 

     

     

     

     
     
     
     

     

     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस