Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह


नया सडक

२०८०, चैत ३ शनिबार

  • 525
    Shares

  • भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह

    काठमाडौँ । भरतपुर भ्रमण वर्ष प्रचार–प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहनुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।

    प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

    सो अवसरमा नेपाली राजदूतहरुले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताउनुभएको थियो । नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाउनुभयो । 

    प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रण गर्नुभएको भरतपुर भ्रमण वर्ष २०२४ मूल समारोह समितिका सदस्य एवं बेल्जियममा रहनुभएका व्यवसायी लोकप्रसाद दाहालले राससलाई जानकारी दिनुभयो ।

    प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

    भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ । 

    व्यवसायी दाहालका अनुसार प्रमुख दाहालले युरोपका विभिन्न देशका विभिन्न सहरका नगरपालिकाका प्रमुखसँग भेट गरी भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रण गर्नुभएको छ । उत्कृष्ट मेयर अवार्ड ग्रहण गर्न बेलायत जानुभएका मेयर दाहाल अवार्ड लिएर युरोप प्रस्थान गर्नुभएको हो ।

    प्रमुख दाहालले भरतपुरमा भएका विकास निर्माणका साथै घुम्नलायक धेरै स्थानको भ्रमण गर्न आग्रह गर्नुभएको छ । महानगरले कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएको छ ।

    महानगरपालिकामा उद्यान, सङ्ग्राहालय, विमानस्थल, चक्रपथ, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटनका प्रशस्त पूर्वाधार रहेको भन्दै एकपटक भरतपुर भ्रमणमा आउन प्रमुख दाहालले अनुरोध गर्नुभएको थियो ।

    प्रमुख दाहालले फ्रान्समा रहेका नेपाली समुदायलाई पनि आजै भेट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न देशमा रहेका नेपाली समुदायलगायत युरोपमा यही आइतबार र सोमबार आयोजित जनप्रगतिशील मञ्चको युरोप भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले स्पेनको बार्सिलोनाका प्रमुखसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    त्यसअघि प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डिन रसेल र लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

    प्रमुख दाहालले हाउस अफ कमन्सको टेरेस पेभिलियनमा लण्डनका मेयर सादिक खानले प्रमुख दाहाललाई इन्टरनेशनल मेयर अवार्ड प्रदान गर्नुभएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस