Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सचिव सहसचिवहरूको सरुवा गर्ने तयारी गर्दै सरकार


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 873
    Shares

  • सचिव सहसचिवहरूको  सरुवा  गर्ने  तयारी गर्दै सरकार

    काठमाडौं । सत्ता गठबन्धन फेरिएको एक सातामै मन्त्रालयका सचिव र सहसचिवहरूलाई सरुवा गर्ने तयारी भइरहेको छ । गृहमन्त्रालयको सचिवमा एकनारायण अर्याललाई लगेर सचिव सरुवाको खाता खोलिसकेको छ । केही दिन भित्र सरकारले ठूलो संख्यामा सचिव  सहसचिवहरूको सरुवा गर्ने योजना तयारी भइसरहेको सम्बध स्रोतले जानकारी दिएको छ ।अर्याल गृह प्रवेश गरेपछि त्यहाँ जान नपाएका सचिवहरू अन्य ठूला मन्त्रालयमा बल गरी रहेका छन् । 
    अर्थसचिव कृष्णहरि पुस्कर अमेरिका भ्रमणमा गएपछि अर्थमन्त्री बर्षमान पुनले अर्थमा राजस्व सचिव डा.रामप्रसाद घिमिरेलाई नै जिम्मा दिने तयारी गरेको स्रोतको भनाइ छ ।हुन त पुस्कर अमेरिका गएपछि पूरै मन्त्रालयको कार्यभार घिमिरेले नै सम्हालिरहेका छन् । अर्थतन्त्र संकटमा परिरहेको बिषम परिस्थितिमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका पुनलाई मन्त्रालय र मातहतको ब्रिफिङ नसकी पुस्कर अमेरिका पुगेकाले पुन असन्तुष्ट भएकाले सो पदमा घिमिरेका अलावा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम रायाले सत्तागठबन्धनका राजनीतिक दलको पावर लगाइरहेको स्रोतको बुझाइ छ ।
    अर्थ सचिवका लागि  प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले पनि प्रयास जारी राखेका छन् । पुस्करले विस्थापन गरेका पोखरेल उनलाई नै हटाएर प्रतिस्थापन भई जाँदा उनको ताकत बढने विश्वास उनलाई छ । अर्थमा बल नलागे पोखरेल उद्योग सचिवमा पनि प्रयास गरिरहेका छन् । हालका उद्योग सचिव मुकुन्द निरौलालाई मन्त्री दामोदर भण्डारीले अर्को व्यक्ति ल्याउन चाहेका छन् ।

    मन्त्री भण्डारीले बाणिज्य सचिव नारायणप्रसाद दवाडीलाई ल्याउन खोजिरहेका छन् । कतिपयले भरतमणि सुवेदी पनि उद्योगमै जान चाहिरहेका छन् । सुवेदीको उद्योग भए निरौलाले सार्वजनिक खरिदमै थन्किने अवस्था हुने स्रोतको भनाइ छ ।  संचार मन्त्रालयबाट बाहिरिएका कृष्णबहादुर राउत वित्त आयोगबाट मन्त्रालयमा आउन खोजिरहेका छन् । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि अन्यत्र पु¥याउन खोजिएको छ ।

    उद्योग नपाए सुवेदीले रक्षा मिलाइ दिन शक्तिकेन्द्रमा बिन्ती चढाइरहेका छन् । पर्यटनका डा. दीपक काफ्ले माओवादीकै मन्त्री सुदन किराँतीले ल्याए पनि उनलाई हितबहादुर तामाङले निरन्तरता दिन नचाहेकाले उनी प्रधानमन्त्री कार्यालयमै थन्किनुपर्ने स्थिति बन्ने देखिन्छ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय संघीय मामिला मन्त्रालयमै चित्त बुझाउन तयार छन् । तर संघीय मामिलाका बिनोदप्रकाश सिंहले  आफ्नो रुचिको मन्त्रालय नपाए यही टिक्ने बल गरिरहेका छन् ।

    मुख्यसचिव बैकुन्ठ अर्यालका प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेका र अर्याल अवधि नपुग्दै बाहिरिएको अवस्थामा यसअघि मुख्य सचिव नै ताकेका उदयराज सापकोटा तेस्रो पटक प्रधानमन्त्री कार्यालयमा जानुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।कानुन सचिवका लागि लीला गड्तौला, तोयानाथ अधिकारी, फणिन्द्र गौतमको चाहना रहेको छ । मन्त्रालय स्रोतका अनुसार गड्तौलाको पालो मिचेर सापकोटा दोस्रो पटक कानुन मन्त्रालयमा आएका हुन् ।

    खानेपानी सचिव सुरेश आचार्यका लागि बिज्ञान प्रविधि र प्रधानमन्त्री कार्यालय मध्ये कुनै एक ठाउँ पठाउन मन्त्री राजेन्द्र राईले सम्बद्ध अधिकारीहरूको मन चोरिरहेका छन् ।  नेपाल ट्रष्टका सचिव विश्वबाबु पुडासैनी  खानेपानीमा जान लागेको चर्चा छ ।  

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको यसअघि  सडक विभागको महानिर्देशक भएको बेला मन्त्री रघुवीर महासेठसँग ठाकठुक परेकाले उनको ठाउँमा पनि अर्को सचिव ल्याउने प्रयास  स्वाभाविक हुने मन्त्रालयमा चर्चा छ । जानकारहरूका अनुसार शर्माको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध बलियो भएकाले महासेठले उनलाई सरुवा गराइ छाड्ने सम्मको कदम न चाल्ने हुन कि भन्ने एकथरि भनाइ छ ।

    सचिवहरूको सरुवसँगै सहसचिवहरूको पनि सरुवा हुने मन्त्रालयहरूका अधिकारीहरूले बताइरहेका छन् । कतिपयले आफै सरुवा गराउन खोजेका छन् भने कतिपयलाई नियतवस गराउन खोजिएको छ ।

    प्रतिक्रिया दिनुहोस