Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८०, चैत १४ बुधबार

  • 519
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १४ बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

    डिप्रोक्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सेयर मूल्य ७२५ रुपैयाँ १८ पैसा कायम भएको छ ।

    शेयर बजार : नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घट्यो , २ अर्ब ३५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से  १०.८३ विन्दुले घटेर २०३०.८६ अंकमा आएको छ । आज २ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा उत्पादनमूलक तथा प्रशोधन समूहमात्र बढेको छ । यस दिन ३१० कम्पनीको ६० लाख ४७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड ७२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

    चिरख्वा हाइड्रोपावरको शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ४० हजार कित्ता शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने भएको छ ।सामूहिक लगानीकोष स्वामित्वमा रहेको उक्त शेयर ६ महिना लइकनपछि कारोबारमा आउन लागेको हो ।

    पछिल्लो समय नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा आपूर्तिक कम गर्न सर्वसाधारणमा बाँडफाँट भएको ६ महिनासम्म लकइनमा रहने व्यवस्था गरेको हो ।सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत आरक्षित शेयर कम्पनीले सामूहिक लगानीकोषका लागि छुट्याएको थियो ।

    इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

    गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले गर्‍यो समस्याग्रस्त घोषणा

    काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबार (चैत १३ गते) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

    मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जनाघाइते

    मुगु ।गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिनुभयो ।

    रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताउनुभयो । रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

    अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

    काठमाडौँ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो ।

     

    गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आबद्ध कुनै पनि दलका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताउनुभयो । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश जोगाउने छु, जनतालाई जोगाउने छु, अनि मुलुकको अर्थतन्त्र जोगाउने छु, देशमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्नका लागि लागिपर्ने छु,” उहाँले भन्नुभयो, “अपराध गर्ने जो कोही व्यक्तिलाई समाएर छोड्ने हो कि भन्ने प्रश्न पनि छ तर समाएर कुनै प्रभावको आधारमा छाड्नुपरे बरु म नै पद छाड्ने छु । जो कोहीलाई छाड्ने छैन ।”

    ‘रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन’ : सुरक्षामन्त्री डोलप्रसाद अर्याल

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज यहाँ आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय कार्यक्रम उहाँले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पार्नुभएको हो । 

    पवन गोल्यानलाई दिइएको सीबीफिनको प्रेसिडेन्ट अफ इमिरेट्स पद अवैध

    काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)का पूर्व अध्यक्ष पवन गोल्यानको ‘पे्रसिडेन्ट अफ इमिरेट्स’  वैधानिक नभएको भनी खारेज गरिएको छ ।एनएमबी बैंकको अध्यक्षबाट हटेपछि सीबीफिन अध्यक्षको दोस्रो कार्यकाल पूरा गरेका थिएनन् ।

    सीबीफिनमा बैंक संचालक वा अध्यक्षबाट हटेपछि पदबाट स्वतः हट्नु पर्ने भएर गोल्यान हटेका थिए । गोल्यानले  प्रेसिडेन्ट अफ इमिरेट्सको पद प्राप्त गरेका थिए ।सो पदको  कार्यकाल चार वर्षको हुन्छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान विपरित गैरकानूनी रुपमा पद सिर्जना गरेको भन्दै प्रेसिडेन्ट अफ इमिरेट्को व्यवस्था नै हटाएर ल्याउन चिठी काटेपछि गोल्यानको पद  नरहने भएको हो ।

    चालु वर्षको फागुन मसान्तसम्म विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा बढ्यो

    काठमाडौं । चालु वर्षको फागुन मसान्तसम्म विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा  बढेको छ ।  साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा डेढ   खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता   आएको  हो । 

    उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आयो ।

    उद्योग विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको  हो । 

     अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।  

    यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो ।

    सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । 

     

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताउनुभयो । “सहकारी ठगीको विषयमा केरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु । न कुनै मुद्दा आएको छ”, उहाँले भन्नुभयो–, “सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।”

    औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

    काठमाडौँ ।  औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताउनुभयो । 

     

    अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताउनुभयो । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उहाँले बताउनुभयो ।

    त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

    काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो ।  

     

    विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।रासस

    अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, यस्तो छ औसत उपलब्धि

    काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको उल्लेख गनुभएको थियो ।

    उहाँले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । पूँजीगत खर्च बढ्न नसकेका कारण राजस्व पनि बढ्न नसकेको अर्थमन्त्री पुनको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वय बढाउने र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकायको कार्य सम्पादन कमजोर रहेकाले अर्थमन्त्री पुनले तोकिएको वार्षिक लक्ष्य प्राप्त गर्ने गरी तदारुकताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

    अर्थमन्त्रालयका सहसचिवहरूको सरुवा ,भन्सार विभागमा निरौला र आन्तरिक राजस्व प्रमुखमा तिवारीलाई पठाइयो 

    काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको महानिर्देशकलाई सरुवा गरेको छ ।मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ भने भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई पठाएको छ ।

    सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बराललाई वातावरण विभागमा र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरेको छ ।

     तलिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ ।यस्तै  अर्थमन्त्रालयका सहसचिव रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाइएको छ । उनी मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले राजीनामा दिन भन्यो

    काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएर राजीनामा दिन भनेको छ । कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको हो । राज्यव्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले बोलाएको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने बताए ।

    बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

    भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

     

    बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला  पु¥याइएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।

    हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

    सियोल । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

    कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ ।

    हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पु¥याउने लक्ष्य राखेको भन्दै विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ ।

    हुन्डाई मोटर ग्रुपले बुधबार घोषणा गरेको ५०।५ अर्ब अमेरिकी डलर लगानीको साथ ‘निरन्तर परिवर्तन र नवीनताको माध्यमबाट अनिश्चित व्यावसायिक वातावरणमा भविष्यको वृद्धिका आधारहरू सुरक्षित गर्न’ चाहेको बताएको छ ।

    बुधबार सुनको मूल्य चार सय रुपैयाले बढ्यो 

    काठमाडौं । बुधबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । मंगलबार सुनको भाउ ३०० रुपैयाँले बढेको थियो ।सुनको सो भाउमा बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    आजको मौसम : अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

    काठमाडौँ ।कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ । 

     
     
     
     
     
     

     

     
     
     

     

     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस