Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

एनआरएनएको ११औँ महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको छानिबिन समितिको ठहर


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 903
    Shares

  • एनआरएनएको ११औँ महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको छानिबिन समितिको ठहर

    काठमाडौं । सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको समितिले  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।  चौहान समितिले  एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहने १२ वटा कारण औँल्याएको हो ।

    एनआरएनको इतिहासमा पहिलोपटक अनलाइनबाट गरेको मतदानको वैधानिकतामाथि प्रश्न उठेको थियो । सो निर्वाचन विवादमा परेपछि गत माघ ९ गते मन्त्रिपरिषदको बैठकले छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निर्वाचन त्रुटिपुर्ण रहेको ठहर भएको प्रतिवेदन प्रस्तुत गरेको  हो ।कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेको थियो । 

    अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा काठमाडौंबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य देखिएको थियो । त्यसपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरे ।

    तीन अध्यक्षको निर्णयविपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत पाएका अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिले शपथ खुवाएको थियो । त्यसपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समान्तार अर्को कार्यसमिति बनाएका थिए । त्यो समिति अहिलेसम्म छ । यस्तो विवाद समाधान गर्न मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको समिति बनाइएको थियो ।चौहानको समितिले निर्वाचनमा त्रुटि नै त्रुटि रहेको प्रतिवेदन बुझाएको हो । 

    समितिले संघको १० औं महाधिवेशन हुनुअघि एनसीसीको चुनावमा समेत विवाद उत्पन्न भई उजुरी परी मन्त्रालयबाट छानबिन भएको भन्ने एंव अध्ययनको क्रममा देखिएको जनाएको छ । त्यसैगरी ११ महाधिवेशन हुनुअघि जापानलगायत केही देशहरूमा एनसीसीले प्रतिनिधिहरूको मनोनयन गर्दासमेत विवाद भई छानबिन भएको थियो । एनआरएनएमा पटक–पटक देखिएका विवादहरूले संस्थाको आन्तकि काम कारबाही सफल अभ्यासबाट अगाडि नबढेको देखिएको प्रतिवेदनमा भनिएको  छ ।

    समिति गठनअघि परराष्ट्र मन्त्रालयले संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेसहितका पूर्वअध्यक्षहरूसँग छलफल गरेका थिए । अहिले एनआरएन तीन समूहमा विभाजित छ । पूर्वअध्यक्ष शेष घलेको संरक्षकत्वमा अर्को एनएआरएन गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस