Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि


नया सडक

२०८०, चैत १८ आइतबार

  • 555
    Shares

  • नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले  वृद्धि

     

    जानकी । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । 

     

    गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । चालु आवको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ । गत वर्षको सोही अवधिमा रु दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद भएको थियो । 

     

    फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकामा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । 

     

    उहाँका अनुसार चालु आवको फागुनसम्ममा रु ४६ अर्ब १७ करोड बराबरको सामान आयात आएको छ । गत वर्ष सोही अवधिमा रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । त्यसैगरी समीक्षा अवधिमा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो । 

     

    यो वर्ष भारतबाट मात्रै ९२ दशमलव ८७ प्रतिशतले सामान आयात भएको छ । बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा ९९ दशमलव ०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक दुई लाख राजस्व सङ्कलन हुने गरेको छ ।

     

    सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट हुने गरेको छ ।

     

    चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा चैत १७ गतेसम्म रु ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ३२ दशमलव ६९ प्रतिशत हो । 

     

    प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ । रासस

     

    प्रतिक्रिया दिनुहोस