Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १८ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत १८ आइतबार

  • 471
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत १८ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १८ आइतबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    हर्क सम्पाङलाई अर्थमन्त्रीले भनेः तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए ।मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए ।

    शेयर बजार : नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घट्यो , ३ अर्ब २० करोडको कारोबार

    काठमाडौँ । आज नेप्से  परिसूचक १७ दशमलव ३० अङ्कले घटेको छ । आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माया खोला हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्टमा भने नकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३१६ कम्पनीको ७९ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ६८ लाख रुपैयाँसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स परेका छन् ।

    एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ  ‘ब्रेक थ्रु’ 

    काठमाडौँ ।  ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

     

    ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । 

    एचआइडीसीएलले चैत २५ गतेदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने 

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले चैत २५ गतेदेखि कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

    लगानी सम्मेलन : अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखहरुसँग भर्चुअल बैठक

    काठमाडौं । लगानी सम्मेलनको तयारीमा जुटेका अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० भन्दा बढी देशमा रहेका नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । २०८१ वैशाख १६ र १७ मा तय भएको लगानी सम्मेलनको तयारीका क्रममा अर्थमन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् ।मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न सरकारको तर्फबाट निर्देशन दिएका थिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ,’ पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको १ महिना यसमा लाग्नुस् ।’मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्त सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी दिए । साथै, राजदूत तथा नियोग प्रमुखहरूलाई सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन पनि निर्देशन दिएको बताए ।नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको पनि अर्थमन्त्री पुनले बताए । त्यसका लागि १ दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे ।

    आज समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गते आइतबार अन्तिम दिन रहेको छ  । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार (चैत १८ गते) आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ रहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।

    एसईई परीक्षामा प्रश्‍न पत्रको गोपनियता भंग गर्ने १ जना कार्वाहीमा , विभिन्न केन्द्रबाट १३१ थान मोबाइल र स्मार्ट वाच १८ थान जफत

    सिरहा । एसईई परीक्षामा प्रश्न पत्रको गोपनियता भंग गर्ने १ जना कार्वाहीमा , विभिन्न केन्द्रबाट १३१ थान मोबाइल र स्मार्ट वाच १८ थान जफत राजेन्द्र महतो सिरहा ।सिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट मोवाईल र स्मार्ट वाच जफत गरिएको छ , भने प्रश्न पत्रको गोपनियता भंग गर्ने १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार एसईईको अनिवार्य गणित विषयको परीक्षामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटीएको टोलीले विभिन्न परीक्षा केन्द्रहरूबाट मोवाईल १३१ थान र स्मार्ट वाच १८ थान जफत गरी प्रश्न पत्रको गोपनियता भंग गर्ने १ लाई नियन्त्रणमा लिएको हो। जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ७ स्थित श्री रजै मा.बि. बलही परीक्षा केन्द्र बाट प्रश्न पत्रको गोपनियता भंग गर्ने पप्पु कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। .

    नकली बिल बिजक र स्टिकर प्रयोग नियन्त्रण लिन अधिकारीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थिति नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले  आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।

    राजस्व चुहावट र अवैध   व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्  भन्दै  प्रचण्डले  झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको र त्यसबारे कारबाही गर्न भने 

    प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए ।

    नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति सर्वसम्मत चयन, कमलेश कुमार अग्रवाल अध्यक्ष 

    काठमाडौं ।  नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । सर्वसम्मतरूपमा चयन भएको नयाँ कार्यसमिति ५५ सदस्यी रहेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको अध्यक्षमा यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कमलेशकुमार अग्रवाल अध्यक्ष भएका छन् । 

    नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

     

    यही चैत २७ गते हुने चेम्बरको ७३औं वार्षिक साधारण सभा  हुँदै छ । कार्यसमितिमा निर्धारित समयभित्र आवश्यक सङ्ख्यामा मात्रै आवेदन  परेको छ । सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको वरिष्ठ अधिवक्ता समेत रहेका प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए ।

    ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनी विकको अवसरमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना  

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरेको हो । 

    कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, विमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ । यसैगरी, बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रमहरु आयोजना गरिरहेको छ । अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस