Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २१ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २१ बुधबार

  • 681
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत २१ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २१ बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो  ।

    साना किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४।२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ ।  अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
         लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो ।
         अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन दिनुभयो ।

    शेयर बजार : नेप्से परिसूचक ३ दशमलव ४७ अङ्कले घट्यो , २ अर्ब ५३ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३ दशमलव ४७ अङ्कले  घटेको छ । आज २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
     आज १३ मध्ये जम्मा ३ वटा समूहका सूचक मात्र सकारात्मक रहेको छ । यस दिन ३ सय २२ कम्पनीको ६४ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सूर्यज्योति लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र गोर्खाज फाइनान्स परेका छन् ।

    प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
    सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

    साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आज (चैत २१ गते) बाट लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    बोर्डको निर्णय गर्ने अधिकार  दिएर राष्ट्र बैंकले गभर्नरलाई बनायो शक्तिशाली

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरलाई थप शक्तिशाली बनाउने निर्णय गरेको छ ।‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४मा संशोधन गरी  गभर्नरलाई थप शक्तिशाली बनाइएको हो ।

    राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाको कारवाही बाधा अड्काउ फुकाउमा गभर्नरको आदेशले नै कार्यान्वयनमा लैजान सकिने व्यवस्था गरी सो विनियमावली संशोधन गरिएको छ । सो संशोति विनियमावलीको परिच्छेद ९ को दफा ४७ मा थपिएको छ, ‘यस विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।’ सोही दफाको उपदफा (१) मा उल्लेख छ, ‘बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा सोको कारण र औचित्य समेत खुलाउनु पर्नेछ ।’

    सौरभ अग्रवालद्वारा सञ्चालित चेन रेस्टुरेन्ट  ‘सजन गोठ’ द्वारा ठूलो परिमाणमा राजस्व छली

    काठमाडौं । सौरभ अग्रवालले सञ्चालन गरेको चेन रेस्टुरेन्ट  ‘सजन गोठ स्विट एन्ड नमकिन’ ले करोडौँ राजस्व छलेको छ ।काठमाडौंको त्रिपुरेश्वर, कमलादी, तहाचल , सामाखुसीमा र कुमारीपाटी ललितपुरमा  चेन रेस्टुरेन्टको रूपमा सञ्चालित शाकाहारी रेस्टरन्ट ‘सजन गोठ’ ले कारोबारमा करोडौँ रकम राजस्व छलेको हो ।

    विगत लामो समयदेखि काठमार्डौमा रेस्टुरेन्ट  र क्याटरिङको काम गर्दै आएको ‘सजन गोठ’ ले विभिन्न प्रकारका शाकाहारी खाद्यपदार्थ र मिठाइसमेतको कारोबार गर्दै आएको छ । विशेषगरी मारवाडी समुदायको विवाह, पुजा, पास्नीलगायतका धार्मिक एवं पारिवारिक समारोहहरूमा ‘सजन गोठ’ ले क्याटरिङको काम गर्ने गर्दछ । काठमाडौंस्थित मारवाडी समुदायको सामाजिक ,धार्मिक एवं पारिवारिक कार्यक्रमहरूमा ६० देखि ८०प्रतिशतसम्म क्याटरिङको काम सजन गोठले गर्दै आएको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यता, आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँ कायम भएको छ ।

    राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने अर्थमन्त्री पुनको आश्वासन

    काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन दिएका छन् । अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सकंलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए ।

    निलम्बित जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौँ ।सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
           
    न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले आज सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी  गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।
           
    “पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अङ्गसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको छ, पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्धबिच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको छ”, आदेशमा भनिएको छ, “सम्बन्धविच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक देखिँदैन, यी समग्र परिस्थिति र प्रमाणलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था छैन ।”

    दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

    वासिङ्टन डीसी । विश्व बैङ्कले  सन्  २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । 

    मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

    विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ ।

    बल्खुस्थित साझाको पम्पबाट  चौबिसै घण्टा पेट्रोलियम पदार्थ वितरण

    काठमाडौँ ।  साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभयो ।
     
    कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताउनुभयो । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।
     
    उहाँले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याउनुभयो । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

    मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन

    तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।  

    सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिनुभयो ।

    श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री

    काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ । 

     

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री दाहालले सुशासनका कैयौँ मानक स्थापित गर्न सरकार सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगायत सेवाका लागि घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ ।”

    दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

    दाङ । दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । 

     

    गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा हुनुहुन्छ । थारू दुर्घटनामा परेको एक बसका चालक हुनुहुन्छ । उहाँहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

    ग्लोबल आइएमई बैंक र जी आई जेड बिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।

    भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

    हनोई । औद्योगिक विकासमा तिब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

    भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

    भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ ।

    प्रतिनिधिसभा-उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाउनुभएका प्रश्न तथा विषयमाथि जवाफ दिँदै उहाँले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भइ अध्ययन सुरु भएको बताउनुभयो । 

     

    “प्रतिनिधिसभामा यही चैत १ देखि २० गतेसम्म शिक्षा मन्त्रालयसँग सम्बन्धित ४५ वटा प्रश्न तथा धारणा उठेका छन्”, उहाँले भन्नुभयो, “उत्तरपुस्तिका हराएको, तोकिएको समयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ ।”

     
     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस