काठमाडौं । विगत तीन वर्षयता सेयर बजार निरन्तर ओरालो यात्रामा छ । कुनै समय ३२ सय अंकमा पुगेर लगानीकर्तालाई हर्षित बनाएको बजार पछिल्लो तीन वर्षयता निरन्तर घटिरहेको छ । जसले लगानीकर्ताहरूलाई बजारप्रतिको आकर्षण घटाइरहेको छ ।
सेयर बजार बढेको समयमा लगानी गर्नेको आकर्षण मात्रै होइन डिम्याट खाता खोलेर सर्वसाधारण सेयर (आईपीओ) भर्नेको संख्या पनि उत्तिकै बढी थियो । तर, अहिले बजारको विषयमा चासो दिनेहरूको संख्या सीमित छ । त्यस कारण पनि बजार बढ्न सकेको छैन भने सेयर कारोबार पनि न्यून थालेको छ । अहिले २ हजारको हाराहारीमा नेप्से परिसूचक छ ।सिडिएस एण्ड क्लियरिङकाअनुसार हालसम्म ६२ लाख ४२ हजार ६४३ जनाले डिम्याट खाता खोलेका छन् । मेरो सेयरमा ५३ लाख दुई हजार ५९९ वटा खाता खुलेकोमा ३५ लाख ७४ हजार ४२५ वटा कारोबारमा सक्रिय छन् ।
अहिले निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार कहिले बढ्ला भन्ने उत्सुकता र चासो लगानीकर्ताहरूमा छ । धेरैले बजार बढ्नका लागि सेयर बजारमा खुकुलो नीति अपनाउनु पर्ने बताइरहेका छन् भने अहिले भएका केही नीतिहरू पनि परिवर्तन गर्नु पर्ने धारणा सरोकारवाला राखिरहेका छन् ।
बर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भएपनि त्यो सम्भव हुन सकेन । अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै पुनले सेयर बजारलाई प्राथमिकता दिएर नीतिगत सुधारका लागि आफू तयार भएको बताएका थिए ।उनले सेयर बजार ६० लाख लगानीकर्ताको भविष्यसँग जोडिएकाले सुधारको कदम चाल्ने बताएका थिए यसले पनि लगानीकर्तामा एक किसिमका आसा पलाएको थियो ।
अर्थमन्त्री पुनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बजार सुधारका लागि एक साताभित्र कार्ययोजना पेस गर्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई निर्देशन पनि दिए । तर, सेयर बजार सुधारको लागि अहिलेसम्म कुनै पनि कदम अगाडि बढाउन सकेका छैनन् ।
उनी अर्थमन्त्रीका रूपमा नियुक्त हुँदा फागुन २३ गते बजार २०१७ बिन्दुमा थियो । पुनको नियुक्तिलाई स्वागत गरेको बजार बढेर फागुन ३० मा २१०८ बिन्दुमा पुगेको थियो । केही दिन सकारात्मक देखिएको सेयर बजारको यात्रा धेरै दिन टिक्नै सकेन ।
बजारले कहिले उकालो यात्रा तय गर्ला भन्ने चासोमा लगानीकर्ता छन् । बजारका जानकारहरू भने अर्थतन्त्रमा देखिएको समस्या समाधान नभएसम्म बजार बढ्न सक्ने संकेत नदेखिएको बताउँछन् । अहिले लगानीकर्तामा आत्मविश्वासको कमी भएकोले विश्वास बढाउनका लागि नीतिगत सुधार हुन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सरकारले लगानीकर्ताको मनोबल बढाउनमा ध्यान दिनु पर्ने बताउँछिन् । उनी अहिले लगानीकर्ताहरू थप लगानी गर्नेभन्दा पनि बजारबाट बाहिरिने कि भन्ने योजनामा रहेको सुनाउँछिन् ।
‘अहिले लगानीकर्ताको ‘सेन्टिमेन्ट’ एकदमै कमजोर छ, यसलाई उकास्न अर्थमन्त्रीज्यूले धेरै कुरा गर्नै पर्दैन, सेयर धितो लगानीमा लगाएको सीमा हटाउनुपर्छ, कसैसँग सम्पति छ, त्यसलाई धितो राखेर कर्जा लिन्छु भन्दा पाउनु पर्छ, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १२५ मा पुर्याएको छ, त्यसलाई १०० मा झार्नुपर्छ, यति दुई काम हुन सक्यो भने सेयर बजारले आफ्नो लय समात्छ,’ उनले भनिन् ।
सेयर बजारका १३ वटा उपसमूहहरू नकारात्मक छन् । यो अवधिमा सबैभन्दा धेरै बैंकिङ उपसमूह घटेको देखिन्छ । लघुवित्त उपसूचकमा भने निकै नै उतरचढाव भएको देखिन्छ उत्पादन तथा प्रसोधन उपसमूहको सूचकमा खासै दबाव परेको देखिँदैन । यसै वर्ष यस समूहमा तीनवटा कम्पनी सूचीकृत हुँदा पनि सूचक सन्तुलन देखिएको हुन सक्ने लगानीकर्ताहरुको बुझाइ छ ।
राज्य निरिह भएकै कारण सेयर बजारमा सुधार आउन नसकेको लगानीकर्ता तारा फुलेल बताउँछन् । ‘राज्य निरिह भएकै कारण बजारमा सुधार आउन नसकेको हो, उनी भन्छन्, ‘राज्यका नियामक निकाय विशेषगरी राष्ट्र बैंकको कडाइको कारण सेयर घटिरहेको छ ।’
उनका अनुसार बजार धेरै अघिबाट बढ्नुपर्ने भएपनि राजनीतिक अस्थिरता र सेयर बजारमा पनि राजनीतिक हालिमुहाली भएकै कारण सुधार आउन नसकेको हो ।
उनी भन्छन्, ‘अर्थमन्त्रीको नियुक्तिपछि सेयर बजारमा सुधार आउने आशा धेरैको थियो तर उहाँले बोल्ने काम मात्रै गर्नुभयो, व्यवहारिक रूपमा केही पनि काम गर्नुभएन, अहिलेको सेयर बजार बोलेर मात्रै सुधार हुने अवस्थामा छैन, त्यसैले केही काम गरेरै देखाउनु पर्ने अवस्था छ र मात्रै सुधारको बाटो खुल्छ ।’
निरन्तर ओरालो लागेको सेयर बजार सुधार नहुनुको मुख्य कारण लगानीकर्ताको मनोबल कमजोर रहेको लगानीकर्ता माधव खनाल बताउँछन् । ‘सेयर बजार भनेकै मनोबलले काम गर्ने ठाउँ हो, मनोबलले काम गर्ने ठाउँमा मनोबल नै कमजोर भएपछि बजार सुधार हुने आशा पनि कम भएको हो,’ उनले भने ।
‘अहिले बजारमा आर्थिक मन्दी छ । तर, पनि बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको कमी भने छैन । ब्याजदर घट्दै गएको छ । यति हुँदा हुँदै पनि सेयर बजार उकालो लाग्न सकेको छैन, उनी भन्छन्, ‘आर्थिक मन्दी र राजनीतिक कारण नै अहिलेको बजार उकालो नलाग्नुको मुख्य कारण हो ।’
पछिल्ला सबै गतिविधिहरुलाई नियाल्ने हो भने अब सेयर बजारको ओरालो यात्राको करिब करि अन्तिम बिन्दुमा रहेको उनी बताउँछन् । ‘सेयर बजारको ओरालो यात्रा लगभग अन्त्यतिर छ, राज्यस्तरबाट केही सुधारका काम हुने हो भने बजार बढ्ने बेला आएको छ,’ उनले भने ।
सेयर बजारलाई बढाउनका लागि तरलता, ब्याजदर, राजस्व, आर्थिक गतिविधि वृद्धि हुँदै गइरहेका छन् । यसले पनि बजार बढाउन मद्दत पुग्ने उनीहरू बताउँछन् । अहिले सेयर बजार उठे पनि हिड्न बाँकी रहेको उनीहरूको धारणा छ ।
अहिले बजारमा माग न्यून छ । दैनिक तीन/चार अर्बको मात्रै कारोबार भइरहेको छ । बजार बढेको समयमा दैनिक २०÷२१ अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको थियो ।बजारमा सर्वसाधारण सेयर निरन्तर बढ्न सकेमा, हकप्रद सेयर बढेमा, कम्पनीहरूले दिने प्रतिफल बढ्न सकेमा, बैंकले सस्तो ब्याजमा ऋण प्रवाह बढाएमा र आर्थिक गतिविधि बढाउन सकेमा बजार बढ्ने धारणा लगानीकर्ताको छ । अहिले लगानीकर्ताहरू घट्दो बजारमा बजारबाटै पलायन हुने कि भन्ने योजना बनाइरहेका छन् भने कपितय पलायन पनि भइसकेका छन् । यो परिस्थिति रोक्न सरकारले भूमिका खेल्नु पर्ने लगानीकर्ताको धारणा छ ।
अझै पनि बजारप्रति आम लगानीकर्ताको विश्वास गुमेमा थप नकारात्मक वातावरण सिर्जना हुन सक्ने उनीहरूको धारणा छ । तर, पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारको संकेतले बजार बढ्नेमा लगानीकर्ता आशावादी छन् ।यो समाचार विकास न्युजमा प्रकाशित छ