काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर आफ्नो कार्यकालमा घटेको बताएका छन् । आफ्नै सक्रियताले अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा उनले यस्तो बताए ।
वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए ।
सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरी नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरुलाई नाफामा लाने काम आफ्नै कार्यकालमा भएको खुलाए ।