काठमाडौं । यो साताको सुरुमा बैंकहरूले स्थायी निक्षेप घटाएका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या कायम रहेको भएपनि यो साता स्थायी निक्षेप सुविधा घटाइएको हो ।गत बुधबार ७८ अर्ब स्थायी निक्षेप राखिएकोमा आइतबार करिब ७३ अर्ब केन्द्रीय बैंकमा राखिएको हो ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको बेला ब्याजदर करिडोरको तल्लो सीमा अथवा ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा निक्षेप राखिने गरिन्छ । बैंकहरुले हरेक साता दुई पटक आइतबार र बुधबार ४ दिनको अवधिका लागि केन्द्रीय बैंकमा स्थायी निक्षेप सुविधा राख्न पाउँछन । सोही प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाले आइतबार ७२ अर्ब ९० करोड रुपैयाँ स्थायी निक्षेप राखे ।
अधिक तरलताका कारण अन्तर बैंक ब्याजदरमा अस्वभाविक उतारचढाव नियन्त्रण गर्न औजारको रुपमा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा विधिको प्रयोग गरिन्छ । बैंकहरुले अधिक तरलता भएको बेला स्थायी निक्षेप राख्छन भने त्यसले तरलता तथा ब्याजदर व्यवस्थापन नभएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्छ । हाल कर्जाको माग अपेक्षा अनुसार नबढ्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाले गत बुधबार केन्द्रीय बैंकमा राखेको ७८ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप आइतबार परिपक्व भएको थियो । सो तरलतालाई बैंक तथा वित्तीय संस्थाले आइतबार फेरि स्थायी निक्षेपको रुपमा केन्द्रीय बैंकमा राखे । तर, बैंक तथा वित्तीय संस्थाले आइतबार परिपक्व भएको भन्दा थोरै स्थायी निक्षेप राखे ।
केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार वित्तीय प्रणालीको तरलता ६५ अर्ब रुपैयाँ बराबरको थियो । आइतबार पनि परिपक्व भएको सबै तरलतालाई स्थायी निक्षेप नराख्दा वित्तीय प्रणालीको तरलता आइतबार केही बढेको बुभिन्छ । आइतबार भएको कारोबारलाई गणना नगर्दा पनि शुक्रबारको अधिक तरलता र परिपक्व भएको स्थायी निक्षेप सुविधालाई नवीकरण नगरेको रकमलाई जोडेर हेर्दा पनि वित्तीय प्रणालीमा आइतबार करिब ७० अर्ब रुपैयाँ बराबरको तरलता मापन गरिन्छ ।
बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप घटाउदा पनि केन्द्रीय बैंकमा वित्तीय प्राणलीको एक खर्ब भन्दा माथिको रकम रहेको छ ।
केन्द्रीय बैंकले पछिल्लो समयमा बजारमा देखिएको अधिकत तरलता प्रशोचन गर्ने गर्ने काम गरी तरलतालाई सन्तुलनमा राख्दै गरेको देखिएको छ ।
तर कर्जा प्रवाह नभएकाले अर्थतन्त्रको गतिविधिबाट स्वाभाविकरूमा तरलता सन्तुलन हुन नसक्दा केन्द्रीय बैंकलाई हस्तक्षेप गर्नु परिरहेको देखिनुलाई कतिपय विज्ञहरूले अर्थतन्त्रको संकटको रूपमा लिने गरेका छन् ।