काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...........
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको (एचआइडीसीएल) को शेयर सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद शेयर (संस्थापक समूह) नेप्सेमा सूचीकृत भएको हो ।
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य
काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो ।
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राँै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पु¥याउने लक्ष्य छ ।
शेयर बजार : नेप्से परिसूचक ९.५४ घटेर २०१७.९७ विन्दुमा ,३ अर्ब ७० करोडको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक ९.५४ घटेर २०१७.९७ विन्दुमा आएको छ । । यस दिन ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ३ वटा समूह सकारात्मक भएको छ ।यस दिन ३१५ कम्पनीको ८४ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पिपुल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र साँग्रिला डेभलपमेन्ट बैंक परेका छन् ।
अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
सोही लिलामी सेयर मंगलबार बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा ९कट आफ प्राइस० कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने
काठमाडौं । कुमारी बैंकले शुक्रबारदेखि ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
प्रि ओपन सेसन : नेप्से सूचक ३.३५ विन्दुले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.३५ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.८७ अंकमा आएको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको २ हजार ७ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
अत्तरिया । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट आउने बताउनुभएको छ ।
धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुपै्र नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।”
मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउनुभएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भन्नुभयो । उहाँले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताउनुभयो । “आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ रु उसले बोलेको हामीले मात्रै सुन्नपर्ने रु यस्तो संसदीय अभ्यास हुँदैन”,अध्यक्ष ओलीले भन्नुभयो ।
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबीच भेट
काठमाडौँ । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग आज विविध विषयमा कुराकानी भएको छ । काठमाडौँको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल र युरोपियन युनियनबीच सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।”
एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
काठमाडौँ ।निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौँ ।”
काठमाडौँ ।निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्रिकेटर सन्दिप लामिछानेलाई बलत्कार मुद्दामा उच्च अदालतद्वारा सफाइ, क्रिकेटमा फर्किन बाटो खुल्यो
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
सो फैसला उल्टाइ पाउँ भनी लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले क्रिकेटरलाई निर्दोष ठहर गरेको हो ।
पर्सामा १० महिनामा रु त्रिचालीस करोडभन्दा बढी मूल्यका सामान बरामद
वीरगञ्ज (पर्सा)। जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा रु ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी रु छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँले त्यसरी पक्राउ गरिएका सामानलाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उहाँले बताउनुभयो ।
१३ प्रतिशत भ्याटलाई झारेर १० प्रतिशतमा झार्नुपर्ने उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको माग
काठमाडौं । १३ प्रतिशत भ्याटलाई झारेर १० प्रतिशतमा झार्नुपर्ने बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रत्साहन दिने खालको भएको बताउँदै अध्यक्ष ढकालले अब आउने बजेट हतोत्साहित हुने गरी आउन नहुने बताए ।
१४ निकाय एकल बिन्दु सेवामा बसेर मुलुकभरि व्यावसायिक वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले राजनीतिक स्थिरता नहुदा कर्मचारी सरुवा हुने प्रचलन बढेको पनि बताए । कम्तीमा २ वर्ष कर्मचारी सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउँदै ढकालले लगानीकर्ताको मनोबल बढाउन १ सयभन्दा बढी रोजगारी दिने गरी स्थापना भएका उद्योग व्यवसायलाई प्राथमिकता राख्नुपर्ने बताए ।
क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।
राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन् ।
चीनको बसाईमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा, तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरू साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सुनको मूल्य प्रतितोला रु १ हजारले बढ्यो , प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ४५ रुपैयाँ कायम भएको छ ।
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो ।
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो, यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।