Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

चीनबाट कार आयात


नया सडक

२०८१, जेठ ५ शनिबार

  • 741
    Shares

  • चीनबाट कार आयात

    रसुवा ।  नेपाल चीन सिमानाका रसुवागढीबाट विद्युतीय कार आयात बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४ हजार ७ सय ६  सवारीसाधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये ४ हजार ६ सय ७९ विद्युतीय कार नेपालतर्फ भित्रिएका हुन् ।

    यस नाकाबाट ५ हजार ८ सय ५० सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकृत निर्मल कँडेलले जानकारी दिए । 

    विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । रसुवा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको ९ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको हो । तुलनात्मक हिसाबले १ सय ६६ प्रतिशत राजस्व वृद्धि भएको पाठकले बताए ।

    गत आवको यस अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँ मात्र असुली भएको थियो । ठूलो संख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको हो । चालु आवको ९ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँबराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीमा साना–ठूला सवारीसाधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका छन् ।

    २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा मौसममा दैनिक ३ सयदेखि ४ सय सवारीसाधन आवतजावत हुने गरेको छ । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको हो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । यो समाचार अन्नपूर्ण दैनिकबाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस