Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् जेठ ६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 606
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् जेठ ६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ६ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचक ४५.६९ बढेर  २०६४.४५ विन्दुमा ,५ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४५.६९ बढेर  २०६४.४५ विन्दुमा आएको छ । आज ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
    यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो ।

     

    १४ करोड ८० लाखसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः फस्ट माइक्रोफाइनान्स र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।

    पाँचथर पावरको साधारण सभा जेठ २७ गते , मर्जर प्रस्ताव पारित गर्ने

    काठमाडौं । पाँचथप पावर कम्पनी लिमिटेडले जेठ २७ गते वार्षिक साधारण सभा बोलाएको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

     

    सूर्योदय वोमी लघुवित्तको ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता २९४ रुपैया अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।इच्छुक खरीदकर्ताहरुले जेठ १३ गतेभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    सानिमा बैंकको ४९ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

    यसमा आज ९वैशाख ६ गते० देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

    सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि , प्रतितोला रु एक लाख ४० हजार नौ सय

    काठमाडौ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

     

    यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।

    देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै , हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौँ ।  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

    विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

    सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः नगर प्रमुख कोइराला

    विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताउनुभएको छ । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

     

    उहाँले नगर क्षेत्रमा सञ्चालित प्रत्येक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको समेत बताउनुभयो । “महानगरको क्षेत्राधिकारमा रहेका सहकारी संस्थाले बदमासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं”, प्रमुख कोइरालाले भन्नुभयो ।

    सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन :  १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

    काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे÷नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो ।

     

    सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात र गृह मन्त्रालयमा नौ गरी १६ जना कर्मचारी अनुपस्थित देखिएका छन् । त्यस्तै, अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको सङ्ख्या ७४ जना भेटिएको थियो । सूचना अधिकारी शर्माका अनुसार शिक्षा मन्त्रालयका सात, गृह मन्त्रालयका ३४, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका १० जना तोकिएको कार्यालय समयभन्दा ढिला कार्यालय आएको भेटिएको थियो ।

    नरबहादुर ओली र शिव अग्रवालद्वारा सञ्चालित बर्दिया डिस्टिलरीको करोडौं राजस्व छलीको मुद्दा के हुँदैछ ?

    काठमाडौं । नरबहादुर ओली र शिव अग्रवालद्वारा सञ्चालित  बर्दिया डिस्टिलरी र अन्य कम्पनीको करोडौं राजस्व छलीको मुद्दा तीन वर्ष बितिसक्दा पनि दर्ता हुन सकेको छैन् ।

    २०७८ सालमा राजस्व अनुसन्धान विभागले बर्दिया डिस्टिलरी र उसका भगिनी कम्पनीहरूमा छापा हानेको थियो ।छापा हानेर सूक्ष्म अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्ष पछाडि मुद्दा लाने तयारी गरेको बताइएको छ ।

    त्यसबखत गुणस्तरमा कमी र राजस्व चुहावट गरेको आंशकामा बर्दिया डिस्टिलरी र उसका सिस्टर कम्पनीहरूमा राजस्व अनुसन्धानले छापा हानेको थियो ।  बर्दिया डिस्टिलरीका सञ्चालकद्वय ओली र अग्रवालका झण्डै दश ओटा कम्पनीहरू छन् । ओम वैभव लक्ष्मी प्रालि, चित्रालेखी सप्लायर्स, मेगाश्री सप्लायर्स, ओम शिव शिखर स्टोर्स, त्रिवेणी ट्रेडलिंक प्रालि, तानिया पसमिना एन्ड इन्डस्ट्रिजलगायतका कम्पनीहरू रहेका छन् ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा जितपुरको बिक्की वस्त्रालयमा छापा

    वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले एक कपडा पसलमा छापा हानेको छ ।बारा जिल्लाको जितपुरस्थित चन्दन मार्केटमा रहेको बिक्की वस्त्रालयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापा हानेको हो ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत प्रमोद चौधरीको टोलीले उक्त फर्ममा छापा हानेको छ । ठुलो मात्रामा राजस्व छली तथा चोरी तस्करी गरिएका  कपडाको ठुलो मात्रामा कारोबार भएको आंशकामा छापा हानिएको स्रोतले बताएको छ । राजस्व अनुसन्धान विभागमा नयाँ महानिर्देशक चक्रबहादुर बूढा आएपछि गरिएको सम्भवतः यो पहिलो छापा हो ।

    नेपाल चेम्बर अफ कमर्सद्वारा तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक ,के के छन् कार्ययोजनामा ?

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एक तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।मुलुकको अर्थतन्त्र विभिन्न कारणले पछिल्ला केही वर्षदेखि शिथिलताबाटै गुज्रिरहेको जनाउँदै चेम्बरले आइतबार चेम्बर भवनको सभाहलमा यस्तो रणनीति कार्ययोजना सार्वजनिक गरेको हो ।

    चेम्बरले जारी गरेको विज्ञप्ति अनुसार अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएपनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । नागरिकको आयस्रोतहरु खुम्चिदै गएपछि बजारमा माग सिर्जना हुन सकेको छैन । निजी क्षेत्रको सम्पत्ति झण्डै ५० प्रतिशत सम्मले गिरावट आएको छ । बैंक वित्तीय संस्थामा लगानीयोग्य रकम तरलता झण्डै साढे ६ खर्व रुपैयाँ थुप्रिएको छ । बजेट र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय हुन नसक्दा अझ संकुचनकारी मौद्रिक नीतिका कारण आर्थिक र वित्तीय क्षेत्र प्रभावित भईरहेको छ । कोभिड १९ पछि विश्वको अर्थतन्त्र लयमा आईसकेको छैन । रुस युक्रेन युद्ध हुँदै पछिल्लो समय इजरेल हमास द्वन्द्वले विश्वको आपूर्ति शृंखलालाई नराम्ररी प्रभावित पारेको छ ।

    मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोडको मुद्दा

    काठमाडौं ।  मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल  कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

     अनुसन्धानमा स्नेही रसाइली र नायब सुब्बा अग्नि बहादुर शाहीले गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, विमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको पाइएको अख्तियारको भनाइ छ । 

    इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

    गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । 
    “मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ“, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ। 
    प्रत्यक्षदर्शीका अनुसार ३  बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ।

    इजरायली मन्त्रीमण्डलका सदस्य गान्ट्जद्वारा गाजा युद्धको योजना माग, राजीनामाको चेतावनी

    तेल अभिभ । गाजामा जारी युद्धलाई लिएर इजरायली नेताहरूमा बढ्दै गइरहेको तनावकाबीच इजरायली युद्ध मन्त्रीमण्डलका सदस्य बेनी गान्ट्जले तीन हप्ताभित्र गाजा युद्धको लागि नयाँ योजना नआए सरकारबाट राजीनामा दिने चेतावनी दिनुभएको छ । उहाँको यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आफ्नो अति–दक्षिणपन्थी सहयोगीहरूमा बढी निर्भर बनाउनेछ । 

    पूर्व इजरायली रक्षामन्त्री गान्ट्जले युद्ध मन्त्रीमण्डललाई जुन ८ सम्म हमासविरुद्ध युद्धको योजना बनाउन माग गर्नुभएको  छ ।  शनिबार राति रामत गान सहरमा गान्ट्जले आफ्ना मागहरू पूरा नभए आफू सरकारबाट बाहिरिने चेतावनी दिनुभयो । 

    प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

    काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो । 

    घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार अभियुक्तहरु अष्ट नारायण हलपछाडि, २२ धारा जङगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो ।

    नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

    काठमाडौं ।  नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएकी छन् । भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।  
    उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

    मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

    भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । 

    मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उहाँले भन्नुभयो “पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ” ।

    सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

    दमौली । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरयो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो । 

    सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ । उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

    यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ ।”

    फर्निचर उद्योगलाई व्यवस्थित बनाउनुपर्नेमा व्यवसायीको जोड, दर्ता नभएका र कर नतिर्नेलाई नियमनको दायरामा ल्याउन आग्रह

    काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । 

     

    नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए । दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भुतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग उद्योग वाणिज्य महासंघले सहकार्य गरी आवश्यक लबिङ गर्ने बताए ।

    प्रतिनिधि सभाको बैठक २ बजेका लागि सर्‍यो , गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिइने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान  ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिइने भएको छ ।

    असोज पहिलो साता राजधानीमा दशौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने, पहिलो पटक किनमेल बजार

    काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना गर्न लागेको हो । 

    राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोजकले एक्स्पोमा पहिलो पटक खुल्ला बजार समेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुल्ला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुल्ला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् ।

    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

    गौशाला चोक ठडिएका अवैध भवनहरूमा मेयर बालेनको डोजर

    काठमाडौं । मेयर बालेन साह नेतृत्वको काठमाडौं महानगरपालिकाले गौशाला चोक ठडिएका अवैध भवनहरूमा डोजर लगइ भत्काउन सुरु गरेको छ ।  गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

    अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको बेला  सवारी आवागमन पनि असहज भयो  । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान सुरु गरेका थिए ।

    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको जानकारी सार्वजनिक गरेका हुन् । पाण्डेले  जनाए अनुसार  आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।

    ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी जारी गरिदैं

    काठमाडौं । ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी जारी गरिदैं छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।
    कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जार गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि सोमबार जेठ ७ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

    सहकारी ठग्नेमाथि अनुसन्धान हुने , संसदीय छानबिन समिति बन्ने

    काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धि अनुसन्धान गर्न संसदीय समिति बन्ने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएपछि अब सहकारीको रकम अपचलन गर्नेविरुद्द छानबिन हुने भएको हो । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा सहमति भएको हो ।
    आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । लेखकका अनुसार छानबिन समितिको कार्यादेश ९टिओआर०  आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ ।

     

     
     
     
     
     
     
     

     

     
     
     
     

     

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस