Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 516
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    मौद्रिक नीति समीक्षा कार्यान्वयन गर्न राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र (सर्कुलर) जारी गरेको छ । आइतबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै असल कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न, घर कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।

    आईएमई लाइफ इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    नेप्सेले कम्पनीको २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ५६० मा अन्तिम कारोबार भएको थियो ।

    सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

    काठमाडौँ ।  हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९र८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो । 

    प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय रु पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ । “अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा तीन हजार ४६ दशमलव २० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९र८० मा रु ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ”, प्रतिवेदनमा भनिएको छ,“यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा रु ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आव २०७९/८० मा रु ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो ।” आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा नौ सय ८१ दशमलव ४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनीक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ ।

    नेपाल एसबिआई बैंकले  ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि जेठ २ गते सेबोनमा निवेदन दिएको हो ।

    यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

    सिटिजन्स बैंकको संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको १३ हजार ३२९ दशमलव २३ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले जेठ १२ गतेदेखि यी शेयर प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा विक्री खुला गरेको हो । 
    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आज आइएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १३ गते आइतबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १।३१ प्रतिशत नगद लाभांश गरी कुल २६।३१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको साधारण सभा जेठ २८ गते बस्ने भएको छ । सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७५८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । 

    यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरुमा पेश गर्न सकिनेछ ।

    आज सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथलीबाट पेश गर्न सकिनेछ ।

    शेयर बजार : नेप्से परिसूचक २२.१४ घटेर  २१०९.३४ विन्दुमा ,४ अर्ब ४४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २२.१४ घटेर  २१०९.३४ विन्दुमा आएको छ ।आज  ४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ वटा समूहको सूचकमात्र सकारात्मक भएका छन् ।

    यस दिन ३१५ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ । आज  तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ ।
    आज  चाँदीको भाउ प्रतितोला १८ सय ५५ रुपैयाँ कायम रहेको छ ।

    आर्थिक सर्वेक्षण :  सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

    काठमाडौँ ।  आर्थिक सर्वेक्षण २०८०/८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । 

     

    अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभामा  सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको हो ।

    महालेखापरीक्षकको प्रतिवेदन : सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

    काठमाडौँ ।  सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ ।

     

         प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो ।

    समग्रमा निजीकरण गरिएका र बाँकी सार्वजनिक संस्थानहरूको अवस्था उस्तै उस्तै,आधाजति घाटामा

    काठमाडौं । निजीकरण गरिएका र बाँकी सार्वजनिक संस्थानहरूको अवस्था करिब उस्तै उस्तै रहेको देखिएको छ । सरकारका कुल सार्वजनिक संस्थानहरू मध्ये करिब आधाजति घाटामा रहेको देखिएको बेला निजीकरण गरिएका सार्वजनिक संस्थानहरूको अवस्था उस्तै देखिएको हो ।

    ४४ सार्वजनिक संस्थानहरू मध्ये २६वटा संस्थान नाफामा रहेको अर्थमन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा २६ संस्थान नाफामा देखिएको हो ।१५ वटा संस्थान घाटामा देखिएका छन् भने  ३ वटा संस्थानको कारोबार शून्य छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ ।

    प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री

    काठमाडौँ ।प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको बताउनुभएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट पेश भएका संशोधन प्रस्तावका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमार्फत सांसदहरूबाट प्राप्त रचनात्मक सुझाव तथा पृष्ठपोषणका लागि धन्यवाद व्यक्त गर्नुभयो ।  “सांसद चित्रबहादुर केसीले प्रस्तावित नीति तथा कार्यक्रममाथि १६ बुँदामा संशोधन प्रस्ताव पेश गर्नुभएको छ, तीमध्ये कतिपय प्रस्ताव भाषिक परिमार्जन गरिनुपर्ने र केही थप संशोधन गर्नुपर्ने प्रकृतिका रहेका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो,“सांसदहरुले प्रस्तुत संशोधनमार्फत कृषि, भूमिसुधार, उद्योग, महिला, हिंसा, स्वास्थ्य, शिक्षा, श्रम, राष्ट्रियता तथा परराष्ट्र नीतिलगायतका क्षेत्रमा राख्नुभएका सुझावहरू महत्वपूर्ण र मननयोग्य छन् ।”

    आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

    काठमाडौं । आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति प्रतिवेदन संसदमा पेश गरिएको छ ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरेका हुन् ।

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका विपक्षी दलको अवरोधका बीच पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरे ।

    अर्थमन्त्री  पुनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरे ।  अर्थमन्त्री  पुनले  निर्माण क्षेत्र  शिथिल भए पनि कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरे ।

    आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२को बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यस्तो जानकारी दिएका हुन् ।

    आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने सभामुख घिमिरेले  भने ।त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह समेत गरे ।

    आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन ।आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ ।

    प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौँ ।प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

         

    विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११ः३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताउनुभयो ।

    न्यून चापीय प्रणालीको आंशिक प्रभाव,यी स्थानमा वर्षा हुने

    काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ  । 

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस