Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् जेठ १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 513
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् जेठ १४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १४ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    भोलि सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं ।  सेयर बजार भोलि मंगलबार बन्द हुने भएको छ । भोलि गणतन्त्र दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । यस कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार जेठ १६ गते, बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी कम्पनीले कुमारी क्यापिटललाई दिएको हो ।सोमवार कम्पनी र विक्री प्रबन्धककाबीच आईपीओ निष्कासनका लागि आवश्यक जिम्मेवारी पुरा गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित उक्त कम्पनी नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । कम्पनीमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट छन् ।

    शेयर बजार : नेप्से परिसूचक ३.९३ बढेर २११३.२७ विन्दुमा ,३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.९३ बढेर २११३.२७ विन्दुमा आएको छ । आज ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समुहका सूचक सकारात्मक भएका छन् ।
    यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।

    रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रसुवागढी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले स्थानियलाई बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    कालिका पावरको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज( नेप्से )मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ७ लाख ९३ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि  कारोबार गर्न सक्नेछन् । 

    कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    ‘लहान एक्पो’ मा रु एक करोड ५९ लाखभन्दा बढी कारोबार

    सिरहा । उद्योग वाणिज्य संघ सिरहा लहानले गत चैत्र ३० गतेदेखि वैशाख १० गतेसम्म आयोजना गरेको ‘लहान एक्पोः मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ मा रु एक करोड ५९ लाखभन्दा बढी कारोबार भएको छ । 

    संघले आइतबार पत्रकार सम्मेलन गरी १० दिनसम्म चलेको महोत्सवमा एक करोड ५९ लाख ३२ हजार तीन सय ५५ रुपैयाँ कारोबार भएकामा त्यसमध्ये एक करोड ४८ लाख ५२ हजार छ सय ९९  हजार रुपैयाँ खर्च भएको जनाएको छ । संघका अध्यक्ष विकास सारडाले खर्च कटाएर १० लाख ७९ हजार छ सय ५६ रुपैयाँ नाफा भएको र आठ लाख ७२ हजार पाँच सय ६४ रुपैयाँ सरकारलाई राजश्व बुझाएको जानकारी दिनुभयो ।

    आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ‘९% आइसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ निष्कासन गर्न लागेको हो ।

    यसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइसीएफसी फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

    नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति लिएर ऋणपत्र जारी गर्ने कम्पनीले जनाएको छ ।

    छिमेक लघुवित्तको १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।लघुवित्तको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने न्यूनतम ६०० रुपैयाँ रहेको सूचनामा उल्लेख छ ।

    कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी खुला

    काठमाडौं । कुमारी बैंकले आजदेखि १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ २२ गतेसम्म आवेदन सकिनेछ । यसमा बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    जुवा खेलाउने आधा दर्जन क्यासिनोहरूले सरकारलाई साढे ३१ करोड बढी दस्तुर बुझाउन बाँकी

    काठमाडौं । जुवा खेलाउने आधा दर्जन  क्यासिनोहरूले सरकारलाई साढे ३१ करोड बढी बुझाउनुपर्ने दस्तुर नबुझाएको पाइएको छ ।  महालेखा परीक्षकको  कार्यालयले यस्तो जनाएको हो ।

    महालेखा परीक्षकको  कार्यालयले  सार्वजनिक गरेको  ६१औं वार्षिक प्रतिवेदनमा ६ वटा क्यासिनोले नवीकरण दस्तुर, रोल्टी तथा थप शुल्क गरी गत आर्थिक वर्ष २०७९/८० सम्ममा  ३१ करोड ६५ लाख ४९ हजार रुपैयाँ सरकारलाई बुझाउन बाँकी रहेको छ ।

    क्यासिनो नियमावली २०७० (चौथो संशोधन २०७६) को नियम १० मा इजाजत दस्तुर आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने खेलका हकमा १ करोड र क्यासिनोका हकमा २ करोड ५० लाख लाग्ने छ ।

    सुनचाँदी कारोबारका समस्या चुटकीमा हल गर्ने नेपाली  एप सुनपात्र

    काठमाडौं । बहुमूल्य धातु सुन चाँदीको खरिद बिक्री व्यवहारसँग जोडिएका सबै समस्याहरूको समाधान चुटकीमा दिलाउने एपको विकास नेपालमै गरिएको छ । सुनपात्र नाम दिइएको यो एपले सुन चाँदी व्यवसायलाई प्रविधि मैत्री तथा सहज र उन्नत व्यवहारको अनुभव दिलाइने यसका विकासकर्ताहरूले दाबी गरेका हुन् ।सुनको गहना बनाउने, सुनको गुणस्तर, तौल र कारीगरसमेतको गतिविधिलाई ध्यान दिन सहज हुने गरी यो एपको निर्माण गरिएको छ ।

    ‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

    काठमाडौँ । नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ ।बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रुपमा रहेको छ । उक्त चक्रवातको नाम ‘रेमल’ नामाङ्कन गरिएको छ । उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ ।

    एन आई सी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

    काठमाडौं । लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं। १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।

    यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । साथै, उक्त नवनिर्मित भवनमा ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन केआईओएसके मेसिन क्यास रिसाइकलर मेसिनजस्ता  जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ ।

    काठमाडौं महानगरले बञ्चरेडाँडामा फोहर विसर्जन मापदण्ड बेवास्ता गर्दा जोखिमहरू बढ्ने चिन्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले  बञ्चरेडाँडामा फोहर विसर्जन मापदण्डलाई बेवास्ता गर्दा जोखिमहरू बढ्ने चिन्ता औँल्याइएको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर विसर्जनबारे काठमाडौं महानगरका पाँच कमजोरी औंल्याउँदै यस्तो चिन्ता व्यक्त गरेको हो ।

    भक्तपुर नगरपालिका बाहेक धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गरिरहेका छन् ।  काठमाडौं महानगरपालिकाले  बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मेवारी पूरा गर्दै आएको छ।

    भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित

    नयाँ दिल्ली ।विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । 

    गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पुर्वानुमान विभागले गरेको छ ।

    गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै  रिट दर्ता ,जेठ १६ गते पेशी

    काठमाडौं । सर्वोच्च अदालतमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै  रिट दर्ता भएको छ ।  सो   रिटको जेठ १६ गते पेशी तोकिएको छ ।

    अनुपम भट्टराईले गृहमन्त्री लामिछानेविरुद्ध  रिट निवेदन दर्ता गराएका हुन् । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग माग दाबीसहित सो रिट दायर गरिएको छ ।

    वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा

    काठमाडौँ।  नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार आर्थिक २०७९/८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ । नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजनको खुद नोक्सान पनि उच्च देखिएको छ ।गत आर्थिक वर्षमा वायुसेवा निगमको खुद नोक्सान रु ६५ करोड २९ लाख ३९ हजार बराबर छ ।

    न्युरोडका बासिन्दाद्वारा मानव साङ्गलो बनाइ काठमाडौं महानगरपालिका विरुद्ध विरोध प्रदर्शन

    काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचय बनाएको न्युरोड क्षेत्रका बासिन्दाले काठमार्डौ महानगर पालिका विरुद्ध आन्दोलित भएका छन् ।  व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले  विरोधमा  मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।

    जलविद्युत् आयोजनाबाट रु २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

    काठमाडौँ ।नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ ।

    विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ ।(रासस)

    सुनको मूल्य तोलामा रु तीन सयले बढ्यो , प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १८ सय ८० रुपैयाँ कायम भएको छ ।

    रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द

    भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०÷८१ मा दुई सय सात उद्योग बन्द भएका छन् ।  

     

    घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो । 

     

    कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रुपन्देहीमा पनि देखिएको बताउनुभयो । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उहाँले बताउनुभयो । “उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ”, उहाँले भन्नुभयो, “आव २०७९÷८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।”

    सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने

    काठमाडौं । सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३  अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

    बुधबार  जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।

    चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । 

     

     

     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस