Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 444
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    प्रस्तावित बजेट कार्यान्वयनबाट छ प्रतिशत आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री पुन

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताउनुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकमा आव २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । 

    अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको बजेटको कार्यदिशा रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको जिकिर गर्नुभयो । “आगामी आवको खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले मात्र बढी हो ।

    शेयर बजार : नेप्से परिसूचक ६.२२  अंकले बढेर  २०८५.३० विन्दुमा ,४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ६.२२  अंकले बढेर  २०८५.३० विन्दुमा आएको छ । आज ४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.४८% ले बढेको छ ।
    यस दिन ३१५ कम्पनीको ८३ लाख ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।२० करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पाmइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।

    भारतीय सेयर बजार मंगलबार ६ हजार अंकले ढल्यो

    काठमाडौं । मगलबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । संघीय सरकारका लागि सम्पन्न भएको  लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो ।

    दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार यो सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ ।

    युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने , साधारण सभा असार ६ गते

    काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

    जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विव्रणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले  खरिद गर्न मिल्ने

    काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज बाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

    आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन् । यसमा आइजीआई प्रुडेन्सियलकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
    सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    आज कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्मि दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंक संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।


    यसमा बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ७.९५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ७.९५ विन्दुले बढेको छ । यससँगै सूचक २०८७.०२ अंकमा आएको छ । ८५ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको १७ हजार १ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

    ३२ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ ।

    नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको बैंक खाता रोक्का

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।

     

    “पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैंकद्वारा हिजो जारी सूचनामा उल्लेख छ ।

    सुनको मूल्य तोलामा १७ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

    काठमाडौ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।  आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।

    सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेश

    काठमाडौँ ।नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ । 

    आज प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरेको बताउनुुभयो । उहाँले समितिले दिएका सुुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताउनुभयो । “समितिले प्रतिवेदनमार्फत दिएका सुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने विषयमा सोहीअनुसार आवश्यक कार्य अगाडि बढाइने छ”, मन्त्री शर्माले भन्नुभयो ।

    टुँडिखेल, तीनकुने र हाँडिगाउँमा   टी–२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

    काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो । 

     

    ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुदप्रेमीको मनोबल उच्च पान टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो । यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आज साँझ ६ बजे टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले उद्योगी व्यवसायीलाई त्रसित बनाउन विभागले नचाहेको बताए

    काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले विभागले उद्योगी व्यवसायीलाई त्रसित बनाउन नचाहेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योग व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा महानिर्देशक  बुढाले  यस्तो बताएका हुन् ।

    बजारमा स्वस्थ प्रतिस्पर्धाका लागि विभागले काम गरिरहको बताउँदै  महानिर्देशक  बुढाले   अस्वस्थ प्रतिस्पर्धा कम गरेर स्वस्थ व्यावसायिक वातावरण सिर्जना बताए ।

    यस्तै उनले ८ सय बढी गाडी नियन्त्रणमा लिएर छुटाएको पनि बताए ।

    उद्योगी व्यवसायीको धन शुद्धीकरण हुनुपर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको भनाइ

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको धन शुद्धीकरण हुनुपर्ने बताएका छन् । महानिर्देशक   भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योगी व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा यस्तो बताएका हुन् ।

    अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग

    काठमाडौं।मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग राखेका छन । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेका हुन् ।  देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा सम्म मुलुकले आर्थिक रुपमा गति लिन नसक्ने केसीले बताए ।

    एमसीसीका उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता , परियोजना समयमै सक्ने प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटेवार्ता गरेका छन् ।

    नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

     मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने बताउँदै मन्त्री पुनले  ‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता रहेको बताए ।

    झन्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । सम्झौता अनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकारले आफ्नो तर्फबाट लगानी गर्ने छ ।

    काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

    काठमाडौँ ।  स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका  राजधानीवासीलाई राहत भएको छ ।

    काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिनुभयो । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ । 

    हाल देशमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको  उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

    डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

    काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ (Infosys Finacle Innovation Awards 2024) प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि (Innovation Awards 2024) अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ ( Channel Innovation Platinum)अवार्डबाट बैंक सम्मानित भएको हो । 

    काठमाडौँ महानगरपालिकाले असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।  

    कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् ।  यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उहाँले जानकारी दिनुभयो । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।

     

     

     

     
     
     
     
     
     
     
     
     

     

     
     
     

    प्रतिक्रिया दिनुहोस