Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू............


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 612
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू............

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २५ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    माउण्टेन इनर्जी  र नेशनल लघुवित्तको ३७ लाख ६५ हजार भन्दा बढी शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

    माउण्टेन इनर्जी नेपालको २९ लाख ५२ हजार ४० दशमलव ५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १५४ दशमलव ६६४ कित्ता गरेर कुल ३७ लाख ६५ हजार १९५ दशमलव १६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । नेशनल लघुवित्त वित्तीय संस्थाले गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउस ९एनसिएचएल०को माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने

    काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।

    बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११:३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

    नेपाल लाइफ क्यापिटलले असार ११ गते देखि हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । नेपाल लाइफ क्यापिटलले असार ११ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । क्यापिटलले जेठ २५ गते सम्म कायम संस्थापक शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

    संस्थापक शेयरधनीले आफ्नो हाल कायम शेयरको अनुपातमा हुन आउने हकप्रद शेयर खरीद गर्न लागि क्यापिटलले अनुरोध गरेको छ । आवेदन पेश गर्ने अन्तिम दिन असार २५ गते कार्यालय समय सम्म रहेको छ ।शेयरधनीहरुले ग्लोबल आइएमई बैंकमा रहेको यस कम्पनीको खाता नम्बर ३०१०१०१०००२२७२ र आइसीएफसी फाइनान्स नक्सालमा रहेको यस कम्पनीको खाता ०१००१०००४०३२००००००३ मा रकम बुझाउन सक्नेछन् ।

    यसपटक एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

    काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको बिहीबार जेठ २४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७८-७९ मा पनि लाभांश दिएको थिएन ।

    सुनको भाउ आज  फेरि नयाँ रेकर्ड कायम, १ लाख ४५ हजार रुपैयाँमा कारोबार

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।

    रु ३५ हजार घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

     

    आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।

    धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताउनुभएको छ ।

         नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्थामा रहेकाले महत्वपूर्ण निर्णय हुन नसकेकोसमेत बताउनुभयो । “बोर्डको संस्थागत सुशासन र क्षमता अभिवृद्धिका कुरा उठेका छन् । ऐनले व्यवस्था गरेअनुसार अहिले अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा मैले अध्यक्षको हैसियतमा काम गरिरहेको छु । सरकारले चाँडोभन्दा चाँडो धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरोस्”, उहाँले भन्नुभयो । धितोपत्र बजारलाई चलायमान बनाउने विषयमा आवश्यक  ऐन, नीति, नियम, निर्देशिका, कार्यविधिमा संशोधन गर्न सकिने उहाँको भनाइ थियो ।

    राजस्व अनुसन्धान विभागद्वारा बैशाख मसान्तसम्म कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित ९२ मुद्दा दायर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आवको १० महिनामा  राजस्व चुहावट तथा विदेशी विनिमयतर्फको कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित  ९२ मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले प्रतिवेदनमा यस्तो जनाएको हो ।

    विभागका अनुसार राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ दायर गरिएको मुद्दामा बिगो ६ अर्ब ४५ अर्ब ८१लाख रुपैया कायम गरिएको छ ।९२ मुद्दामा विभागले २सय २ जनालाई प्रतिवादी बनाएको छ । सो मुद्दामा सजाज मागदाबी रकम  ७ अर्ब ३० करोड ३३ लाख कायम गरिएको विभागले जनाएको छ ।

    गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने

    काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी आव २०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताउनुभयो ।

    रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्

    गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा  दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । 

    “मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ”, ४२ वर्षीय लामिछानेले भन्नुभयो, “उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४÷२५ लाख जति आम्दानी छ ।” उद्योगमा छ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लिन छन् ।

    ठगी गरेको आरोपमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ   पक्राउ

    काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ   पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाटै  पक्राउ परेको हो ।

    सीआईबी स्रोतका अनुसार  अहिलेसम्म कोही पनि पक्राउ नपरको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    बजारबाट थप ३० अर्ब तरलता शोस्दै  राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बजारबाट एक सातामा तेस्रो पटक पैसा तान्न लागेको छ। बैंकले आज ३० अर्व रुपैयाँ तान्न लागेको हो । तरलता व्यवस्थापन गर्न  निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको हो ।

    राष्ट्र बैंकले निक्षेप संकलन खरिदका लागि बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आज मध्यान्ह १२ बजेसम्मको समय दिएको थियो । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छन् ।बैंकले बिहीवार ४० अर्व र गत शुक्रबार १२ अर्ब १५ करोड रुपैयाँ तानेको थियो।

    दरबार मार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागको छापा, करोड भन्दा बढी रकमसहित कागजपत्र नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको दरबार मार्गस्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।विभागले छापामारी एक करोड पाँच लाख भन्दा बढी रकम र कागजपत्र नियन्त्रणमा लिएको हो ।

    यसक्रममा विभागले क्यासिनोको सेफ , लकर र केही डिभाइससमेत नियन्त्रणमा लिएको राजस्व अनुसन्धान स्रोतले जनाएको छ । विनय शाहलगायतले सञ्चालन गरेको उक्त क्यासिनोमा अवैध विदेशी मुद्राको कारोबार तथा राजस्व चुहावट भएको आशंकामा राजस्वले छापा हानेको विभाग स्रोतले बताएको छ ।

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।

    डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

     

     

     
     
     
     
     
     
     
     
     

     

     
     

     

     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस