Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रपति पौडेलको सप्ताहव्यापी विदेश भ्रमण मंगलबार सुरु हुँदै


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 474
    Shares

  • राष्ट्रपति पौडेलको सप्ताहव्यापी विदेश भ्रमण मंगलबार सुरु हुँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ अथवा ग्लोबल कोलिसन फर सोशल जस्टिस शीर्षकको  उद्घाटन कार्यक्रममा सरिक हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

    राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी सार्वजनिक गरेको छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ ।

    भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी सार्वजनिक गरेका छन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको  राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।

    राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस