Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३१ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 558
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३१ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ३१ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
    कम्पनीले ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि क्यापिटललाई विक्री प्रबन्धमा नियुक्त गरको हो ।

    आइपीओ निष्कासनका लागि बिहीवार दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

    विजनेशस ईन्टरेष्ट ग्रुपले आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटल नियुक्त

    काठमाडौं ।  बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले निष्कासन गर्न लागेको आईपीओको प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्याफिटललाई नियुक्त गरेको छ ।

    बुधवार एक कार्यत्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।

    कम्पनीले १०० रुपैयाँ  अंकित मूल्यमा ४५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।\

    शेयर बजार : नेप्से परिसूचक ९.३२ अंकले घटेर   २११२.२९ विन्दुमा ,६ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ९.३२ अंकले घटेर   २११२.२९ विन्दुमा आएको छ । यस दिन ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज फाइनान्स र विकास बैंक गरी २ वटा समूहका सूचकमात्र बढेका छन् । 

    यस दिन ३१३ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ४७ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र समृद्धि फाइनान्स कम्पनी परेका छन् ।

    पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने , प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोष नियुक्त

    काठमाडौँ ।  ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । 

    पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

    पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२  जलविद्युत् आयोजनाको जारी पुँजी रु तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो । साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।  प्रतिकित्ता रु एक सय अङ्कित दरले उक्त शेयरको मूल्य रु ६६ करोड छ ।

    कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ ३१ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    आज प्राइम बैंकको १२ लाख ४१ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९जेठ ३१ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । बैंकले जेठ २५ गतेदेखि यो सेयर लिलामीमा ल्याएको हो ।

    यूनाइटेड मेवाखोलाले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओ निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानीकोषलाई नियुक्त गरेको छ ।

    सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा नविकेको खण्डमा नागरिक लगानीकोषले सम्पूर्ण शेयर सकार्ने सम्झौता गरेको हो । जेठ ३० गते एक कार्यक्रमका बीच कम्पनी र नागरिक लगानीकोषबीच शेयर प्रत्याभूतिका लागि सम्झौता भएको छ ।

    खोरङ्गा हाईड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो । हकप्रद शेयर निष्कासन लगाएतका विविध प्रस्ताव पारितका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।

    जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

    फर्निचर तथा फर्निसिङ एक्स्पोको सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने

    काठमाडौ । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको (पार्टनरशीपं)अवलोकनकर्ताहरु लाभान्वित हुने भएका छन ।

    नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

    काठमाडौ । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।  विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट रु एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ को फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन् । नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताउनुभयो ।

    अब लाइसेन्स बोक्नु नपर्ने

    काठमाडौ । मन्त्रिपरिषद्ले लाइसेन्सको विवरण राष्ट्रियपरिचय पत्रमै समावेश गरेर वितरण गर्ने निर्णय गरेसँगै सवारीचालकले राष्ट्रिय परिचयपत्रमात्र बोके हुने भएको हो। अब लाइसेन्स साउन १ देखि नै राष्ट्रिय परिचयपत्रमा समावेश हुनेछ। विभागले यसका लागि परीक्षण गरिसकेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रस्तावमा महानिर्देशक युवराज कटेलले लाइसेन्सका साथै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जग्गा किनबेच, राजस्व लगायत विभिन्न ९ क्षेत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गरेर वितरण गर्ने विभागको प्रस्ताव मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्रिय परिचयपत्रबाट कुन सेवा कहिलेदेखि पाउने भन्ने सूचना राजपत्रमा प्रकाशन गरिने भएको छ ।

    आजदेखि छिटपुट वर्षा हुने ,उपत्यकाको तापक्रम आज उच्च रहने

    काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

    कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ । कोशी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ ।  मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

    विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । 

    सुर्खेत वीरेन्द्रनगर नगरपालिका(९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका(९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका(१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका(९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका(१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

    लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई भ्रष्टाचार मुद्दामा ८० लाख जरिवानासहित ६ वर्ष कैद सजाय

    काठमाडौं ।  लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय तोकिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । 

    भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

    ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

    काठमाडौँ ।  जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत् उत्पादनलाई जोड दिनुपर्ने एक अध्ययनले देखाएको छ ।

     

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जर्मन सहयोग नियोग जिआइजेडद्वारा सञ्चालित आर्थिक विकासको लागि सौर्य प्रविधि प्रवद्र्धन कार्यक्रमको सहयोगमा ‘नेपालको ऊर्जा सम्मिश्रणमा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकास’ विषयमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालमा जलविद्युत् तथा सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेकाले यसलाई समपूरक रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

    अवैध आयातमा सरकारको कडाइ , एचएसकोड भ्याट बिलमा उल्लेख गर्नुपर्ने अनिवार्य प्रवधान

    काठमाडौं। राजस्व छली र राजस्व चुहावट गर्ने बदनियतले  हुने मालवस्तुको अवैध आयातमा एक पछि अर्को गरी सरकारले बाधा हाली रहेको छ ।गत वर्ष आयात गरिएका मालवस्तुमा अनिवार्यरूपमा लेबल लगाउनुपर्ने व्यवस्था गरेको सरकारले यो वर्ष हार्मोनाइज्ड कोड अर्थात् एचएसकोड अनिवार्य गरिदिएको हो ।

    सरकारले मूल्य अभिवृद्धि कर (भ्याट ) नियमावली संशोधन गर्दै भ्याट बिल जारी गर्दा अनिवार्य रुपमा एचएस कोड पनि खुलाउनुपर्ने व्यवस्था गरेको छ ।गत वर्ष  आयात गरिएका मालवस्तुमा लेबल लगाउनुका साथै  वस्तु बजारमा पठाउँदा काटिने बीजकमा अनिवार्य रूपमा लेबल खुलाउनुपर्ने व्यवस्था गरिएको थियो । यो व्यवस्थाका विरुद्धमा मोरङ व्यापार संघको नेतृत्वको अगुवाइमा देशभरका आयात व्यापारका कारोबारीले चर्को विरोध जनाएका थिए। तरपनि अन्तिममा आयात गरिएका मालवस्तुमा अनिवार्य रुपमा लेबल लगाउने र बीजक पनि त्यसरी नै जारी गर्ने सरकारी निर्णय कार्यान्वयनमा गएको थियो।

    सरकारी स्कूलका सटरमा सञ्चालित व्यवसाय तत्काल बन्द नगराउन उच्च अदालत पाटनको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।काठमाडौं महानगरपालिकाले महानगर भित्रका सरकारी स्कूलको जग्गामा बनेका सटर कोठामा सञ्चालन हुँदै आएका व्यवसायमा तालाबन्दी गर्न थालेपछि त्यस विरुद्ध दायर रिटमा यस्तो आदेश गरिएको हो ।

    न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ ।

    तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले  तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । 

    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताउनुभयो । 

    महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि  थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

     

     

     
     
     

     

     
     
     
     
     

     

     
     

     

     
     
     
     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस