Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 450
    Shares

  • विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

     

    काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

     

    प्रतिनिधिसभाकोे आजको बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले बजेटले जनताले खुसीयाली मनाउने दिन नआएको जिकिर गर्दै सरकारले चामल, गहुँ, दाल, गेडागुडीलगायतमा लगाएको अग्रिम करका कारण बजारमा महँगी र कालाबजारी मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

     

    सांसद अञ्जनी श्रेष्ठले महँगी र असुरक्षाले समाजलाई आक्रान्त बनाएको तथा सरकारी अस्पतालमा उपचार गर्न लामो समय पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गर्नुभयो ।

     

    सांसद अनिता देवीले सरकारले मधेश प्रदेशका आगलागी पीडित परिवारका लागि आवश्यक रकम विनियोजन गर्न माग गर्नुभयो । 

     

    सांसद अम्बरबहादुर थापाले दैलेखको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत सम्भार नहुँदा करिब दुई सय विद्यार्थीलाई पठनपाठनमा समस्या भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    सांसद अम्बरबहादुर रायमाझीले सामाजिक सुरक्षाभक्ता लिन तथा नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अवस्था भएकाले स्थानीय तहबाटै वितरण गर्न सरकारसँग माग गर्नुभयो । 

     

    सांसद डा अमरेशकुमार सिंहले तराईमा आगलागी पीडितको सम्पूर्ण आवास र अन्न जलेर नष्ट भएकाले तत्काल राहत उपलब्ध गराउन माग गर्नुभयो । 

     

    सांसद अमृतलाल राजवंशीले झापामा हात्तीको उपद्रोका कारण मकै बाली तहसनहस भएकाले त्यसको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    सांसद अर्जुननरसिंह केसीले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यस वर्षको मनसुनजन्य प्राकृतिक विपद्बाट करिब १८ लाख नागरिक प्रभावित हुने र चार लाख परिवार जोखिममा रहेको आकलनका सम्बन्धमा पूर्व तयारीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

     

    सांसद अरुणकुमार चौधरीले शून्य समयमा उठान गरिएका समस्या समाधान गर्न सरकारले चासो नदिएको गुनासो गर्नुभयो । 

     

    सांसद अशोककुमार चौधरीले विधि बनाउने थलोमा महत्वपूर्ण ओहोदामा बसेका व्यक्तिको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    सांसद आश्माकुमारी चौधरीले नेपाल कृषि प्रधान मुलुक भए पनि किसानले समयमा मल र बीउ नपाएको गुनासो गर्नुभयो । 

     

    सांसद असिम साहले सरकारले गत कात्तिक २७ गतेदेखि सामाजिक सञ्जाल ‘टीकटक’मा प्रतिबन्ध लगाउने काम गरेपछि स–साना व्यवसाय र दूरसञ्चार प्राधिकरणलाई घाटा भएको उल्लेख गर्दै व्यवस्थित रुपमा ‘टिकटक’ चलाउन दिन सरकारसँग माग गर्नुभयो ।

     

    सांसद ईश्वरबहादुर रिजालले शून्य समयमा बोलेका विषयलाई  सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । 

     

    सांसद ईश्वरी घर्तीले यही जेठ ३० गतेको बैठकमा केही सांसदले महिलाबारे असोभनीय शब्द बोलेकाले संसद्मा क्षमा माग्नुपर्ने माग गर्नुभयो । 

     

    सांसद ईश्वरबहादुर रिजालले संसद्को शून्य समयमा बोलेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गर्नुभयो । 

     

    सांसद उर्मिला थेबेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु हुँदा प्रभावकारी उद्धार, राहत र पुनःस्थापनको काम सक्दो चाँडो गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

     

    सांसद उर्मिला माझीले व्यवस्था बदलिए पनि जनताको अवस्थामा परिपर्तन नआएको उल्लेख गर्दै आवश्यकताको आधारमा बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।

     

    सांसद ऋषिकेश पोखरेलले खेतीपातीको समय सुरुवात भएकाले किसानलाई आवश्यक मल र बीउ समयमै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

     

    सांसद एकनाथ ढकालले सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाएकाले योग्यता, क्षमता, दक्षता र अनुभवको आधारमा जतिसक्दो छिटो नियुक्ति गर्न माग गर्नुभयो ।

     

    सांसद किरणकुमार साहले नेपाल धार्मिक सहिष्णुता भएको देश भएकाले धार्मिक विषयलाई लिएर द्वन्द्व गर्नेलाई कानुनी कारबाही गर्न माग गर्नुभयो । 

     

    सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय गौरवको योजना सुरुङमार्गका कारण दहचोकको पूर्वीद्वारमाथिको क्षेत्रमा रहेका घर चर्किन थालेकाले  सुरिक्षत पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    सांसद गणेश पराजुलीले प्राकृतिक स्रोतलाई सदुपयोग गर्नुको सट्टा बाहिरबाट ल्याउने र भएका स्रोतसाधन यतिकै खेर जाने परिपाटीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

     

    सांसद चन्दा कार्की भण्डारीले विपद् व्यवस्थापनमा सरकारको नीति स्पष्ट नभएको र स्वास्थ्य क्षेत्रलाई १० प्रतिशत बजेट छुट्ट्याउन माग गर्नुभयो ।

     

    सांसद चित्रबहादुर केसीले रोल्पाको मिजिङकी शिक्षक विपना घर्तीको सरुवाका लागि उच्च अदालत तुलसीपुरले सरुवा गर्न दिएको आदेशको कार्यान्वयन गराउन सरकारको ध्यानार्षण गराउनुभयो । 

     

    सांसद जुलीकुमारी महतोले सांसदहरुलाई स्वअनुशासनमा बस्न आग्रह गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस