Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ११ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, असार ११ मंगलबार

  • 417
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार ११ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार ११ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    अर्थ मन्त्रालयमा सहसचिवहरुको सरुवा

    काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ ।  नरेन्द्र राना बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा सरुवा भएको अर्थमन्त्रालयले जानकारी गराएको छ । यता, नारायण सापकोटा प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् ।

    सुशीला अर्याललाई पनि महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ ।

    आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो ।

    उहाँले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताउनुभयो । “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले स्पष्ट पारेको छ”, उहाँले भन्नुभयो, “भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढेको हो तर उक्त ऋणले लगातार सात प्रतिशतको आर्थिक वृद्धिमा सहयोग गरेको अवस्था थियो ।” सरकारले आन्तरिक ऋण कम गर्ने कोसिस गरिरहेको अर्थमन्त्री पुनको भनाइ छ ।

    स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट गर्नुभयो । 

    उहाँले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अङ्गका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

    शेयर बजार : नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा ,४ अर्ब १८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा आएको छ । आज ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

    आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयरको कारोबार भएको छ ।
    आज १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २।१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ। यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १।७० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं ।  कुमारी बैंकको ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    एनएमबि बैंकको २३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २३ हजार ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९असार १२ गते० बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    निजी क्षेत्रलाई विद्युतमा लगानी बढाउने खालको उर्जा नीतिको आवश्यकता

    काठमाडौं । ऊर्जा क्षेत्रमा ठुल्ठुला काम गर्न  भवनलगायतका पूर्वाधारको अभाव भएको औँल्याइएको छ । राजधानीमा मार्टिन चौतारीद्वारा आयोजित ऊर्जा , सुरक्षा र स्वच्छ ऊर्जा रुपान्तरणका लागि जलविद्युतसम्बन्धी छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।

    नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक तथा ऊर्जाविद् प्रबल अधिकारीले २०३०सम्म १० हजार मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको बताए ।अनुमान गरिए अनुसारको ऊर्जा उत्पादनभए नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ८० प्रतिशत हिस्सा ऊर्जा क्षेत्रले ओगटने उनले बताए ।

    बिजुली उत्पादनमा निजी क्षेत्रको ठुलो लगानी भएपनि त्यसमा निजी क्षेत्रलाई बढी प्रोत्साहन दिनुपर्नेमा त्यस्तो नगरिएको बताउँदै उनले ऊर्जा नीतिमा यस्ता विषय समेटेर अगाडि बढ्नुपर्ने बताए ।

    बीवाईडीका मालिक अकस्मात् मोटरबाटो किन छिरे नेपाल?

    काठमाडौं ।  उत्तरी सीमासँग जोडिएको विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देशको रूपमा विकसित चीनका एक खर्बपति तथा बीवाईडी गाडी निर्माता कम्पनीका मालिक अकस्मात मोटरबाटो नेपाल छिरेरको चर्चा चलिरहेको छ ।चीनको ग्वान्जाओका ५४ वर्षीय युआन मोइफु आफ्नी पत्नीसँगै तिब्बतको मोटरबाटो हुँदै साढे तीन हजार किलोमिटरको दूरी तय गरी नेपाल छिरेर शनिबार फर्किनु आफैँमा चर्चाको विषय नै हो ।

    केही घन्टाको हवाईबाटो आएर हवाईबाटो फर्किन सक्ने कुरो सहज हुँदाहुँदै  त्यसो नगरी मोटरबाटो भएर आएकाले चर्चा हुनु स्वाभाविक हो ।तर राजस्व अनुसन्धान विभागसम्बद्ध एक स्रोतका अनुसार बीवाईडीको नेपालस्थित एजेन्टको कार्यालयमा छापा मारिएको घटना यो भ्रमणको पछाडिको सर्वाधिक महत्वपूर्ण कारण रहेको छ ।नेपालस्थित बीवाईडी कम्पनीको बिक्री वितरण गर्ने जिम्मा पाएको साइमेक्स कम्पनीमा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । यसपछि बीवाईडीका मालिक युयानको सडकबाटोको आगमन हो । उनले पशुपतिको जात्रा सिद्राको व्यापार नेपाली उखानलाई चरितार्थ गर्दै यो भ्रमण गरे ।

    भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

    काठमाडौँ ।  प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । 

    सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । 

    सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुनुभएको थियो ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले घर नमिलाई औद्योगिक व्यापारिक क्षेत्रमा आक्रामक बन्दा विभागको बदनामी

    काठमाडौं । राजस्व अनुसन्धान विभाग एक पछि अर्को गर्दै विवादमा तानिएको छ । राजस्व अनुसन्धान विभागको महानिर्देशकको कमाण्ड  चक्रबहादुर बुढालेको दुई महिना पनि नपुग्दै राजस्व अनुसन्धान विभाग विवादमा तानिएको हो ।

    यसअघि नया सडकले जेठ ८ गते  नैे  ‘...महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित’ शीर्षकमा समाचार प्रकाशित गरिसकेको थियो । यस्तो छ त्यसबेला प्रकाशित भएको समाचार पूर्णपाठ पढ्नुहोस् ।

    समाचार आएको एक महिना बितिसक्दा पनि महानिर्देशक बुढा नसुध्रिँदा राजस्व अनुसन्धान विभाग अत्यन्तै बदनाम भएको छ । अन्ततः अदृश्य शक्ति परिचालन भएको कुरा आज मंगलबार संसदमा समेत कुरा उठेको छ ।

    दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ

    काठमाडौँ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको रु दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।

    इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–इपिजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताउनुभएको छ । 

     

    विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पार्नुभयो । 

     

    रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घको काठमाडौँस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

    एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । 

     

    कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ । 

     

    परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उहाँले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो ।

    राजस्व अनुसन्धान विभागको नाममा फोन गरी व्यापारी तर्साउने काम रोक्न र बिचौलियालाई कारबाही गर्न संसदमा माग

    काठमाडौं । राजस्व अनुसन्धान विभागका नाममा अनावश्यक उद्योगी व्यापारीलाई तर्साएर अतिरिक्त रकम असुल गर्ने बिचौलियाहरूको खोजी गरी कारबाहीको माग गरिएको छ ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूको तर्फबाट यस्तो माग गरिएको हो ।

    सांसद रामहरि खतिवडाले राजस्व अनुसन्धान विभागको नाम लिएर व्यापारी तर्साउने काम रोक्न र बिचौलियाको खोजी गर्न माग गरे ।
    उद्योगी व्यापारीहरूको तर्फबाट राजस्व अनुसन्धान विभागका महानिर्देशकले प्रयोग गर्ने मोबाइलबाट तर्साउने गरिएको समाचार सार्वजनिक भएका विषयमा सांसद खतिवडाले सो प्रश्न गरेका हुन् ।

    विश्वकप क्रिकेट अफगानिस्तान सेमिफाइनलमा

    काठमाडौँ । अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस  पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । यसखेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ । सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्ग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

    बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

    बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।

     

    कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताउनुभयो । उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । “वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ ।”

    नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित

    काठमाडौँ, ११ असारः नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।

    गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिनुभयो । यस्तै  बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ ।

     

    आज कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने


    काठमाडौँ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने भएको छ ।  देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     

     

     
     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस