Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार १२ बुधबार

  • 504
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार १२ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १२ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को नाफा ३ करोडभन्दा बढी

    काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले जेठ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरणअनुसार फण्डले जेठ मसान्तमा रू। ३ करोड ३ लाख नाफा कमाएको छ । वैशाख मसान्तमा भने फण्ड रू. ३ लाख ४४ हजार नोक्सानीमा थियो । जेठ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । 

    वैशाख मसान्तमा फण्डको कुल आम्दानी रू. १ करोड २१ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. ४ करोड ४२ लाख पुगेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ११.६० अंकले घट्यो २०६०.१६ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं ।आज नेप्से परिसूचक ११.६० अंकले घट्यो  २०६०.१६ विन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ । 
    यस दिन ३०५ कम्पनीको ८७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४६ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

    बेष्ट फाइनान्सले गोप्य शिलबन्दी बोलपत्र आज खोलिने

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर खरीद वापत् प्राप्त बोलपत्र आज खोलिने भएको छ ।

    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले विहान ११ बजे क्यापिटलकै कार्यालयमा बोलपक्र खोलिने कार्यत्रम तय भएको हो ।

    कम्पनीले संस्थापक तर्फको ३ लाख ५६ हजार ७४ दशमलव ५७ किक्ता शेयर असार ४ गतेदेखि ११ गतेसम्म लिलामीमा वित्री खुला गरेको थियो ।

    सुनको मूल्य तोलामा सात सयले घट्यो , प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ

    काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

    युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
    कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
     यस सम्बन्धी सम्झौतापत्रमा इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.९७ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०७१.७७ अंकमा आएको छ । ४ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ६१ हजार ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।

    एक सुन पसलको विरुद्ध सुन बजारै बन्द

    काठमाडौं । एक सुन पसलले ग्राहकलाई सेवा दिन गरगहनाको मूल्य घटाएर बिक्रीको विज्ञापन सार्वजनिक गरेको विरोधमा सुन बजारै बन्द भएको छ ।रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलाग्ने र ज्यालामा भारी छुट भनेर विज्ञापन दिएको थियो। जसमा ज्याला ७ प्रतिशतमात्र लिने भनिएको छ। ज्वेलर्सले एकलौटी रुपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै सुनचाँदी व्यवसायीहरुले रिद्धि सिद्धि ज्वेलर्सको  विरोधमा उत्रिएका हुन्।

    विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छः मन्त्री श्रेष्ठ

    हेटौडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लागुऔषधमुक्त समाज निर्माणका लागि तीनै तहको सरकारले जनचेतना फैलाउनुपर्ने बताएका छन् । बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लागुऔषधमुक्त परिवार र समाज बनाउनुपर्ने बताएका हुन् । उनले लागुऔषध मुक्त परिवार र समाज निर्माणका लागि परिवार र समाज नै सबैभन्दा जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । उनले लागुऔषध मुक्त समाज बनाउनका लागि तीनै तहको सरकारले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय तहले अझ बढी जिम्मेवारीपूर्वक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१र०८२ को लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

    आजको मौसम : बागमती , कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने

    काठमाडौँ । देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

     

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ ।

    एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय

    भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । 

     

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले राससलाई जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले भोलि बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका रहेको थियो ।

    कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो । 

    उहाँले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।” हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्नहुँदै उहाँले नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । “संस्कृति नेपालीहरूको जीवनशैली र पहिचान पनि हो । त्यसैले इतिहासमा गर्व गरेर मात्रै पुग्दैन, इतिहास निर्माणका काममा पानि हामीले योगदान दिन आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    गोरखा मिडियामा रकम प्रवाहित गर्ने सहकारीको कागजात संसदीय छानबिन समितिद्वारा माग

    काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम प्रवाहित गर्ने ९  सहकारीको विवरणसम्बन्धी कागजात मागेको छ ।संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको हो ।

    समितिका सभापति सूर्य थापाले जानकारी सार्वजनिक गरेअनुसार  समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय भएको हो ।

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

    काठमाडौं  । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।  

    स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नुहुनेछ । स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

     काठमाडौ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । 

    यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न , महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न तथा साना व्यवसाय प्रर्बधन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न  परिचालन गरिनेछ । 

    लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।

    तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको  ठहर , मन्त्रीसहित पाँच दोषी दुईले पाए सफाई

    काठमाडौं । विशेष अदालतले  तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको  ठहर गरेको छ ।सर्पदंश उपचार केन्द्र स्थापनाका लागि राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी खोलिएको तत्कालीन ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा भ्रष्टाचार भएको  विशेष अदालतले मंगलबार ठहर गरेको हो ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेटमा तत्कालीन मन्त्रीसहित पाँच जनाको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा सरकारी रकमबाट नेताको नाममा प्रतिष्ठान खोलेर रकम हिनामिना गरेको अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी

    हेटौँडा ।  जङ्गली च्याउ खाँदा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।

     

    कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । “बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “असार ३ गते च्याउ खानुभएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।”

    गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौँ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुभयो । 

     

    सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रसंशनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उहाँले लागुऔषध दुव्र्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

    चिनियाँ उपविदेशमन्त्री सुन रित्तै फर्के , बीआरआई कार्यान्वयनमा भएन  हस्ताक्षर

    काठमाडौं । नेपाल चीनबीच चिनियाँ राष्ट्रपति सी चिनफिङ संरक्षित बेल्ट एन्ड रोड इनसिएटिभ(बीआरआई)को कार्यान्वयनसम्बन्धी विषयमा कुनै हस्ताक्षर भएन ।चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ रित्त नेपाल भ्रमण पुरा गरी फर्किएका हुन् ।तीन दिनको भ्रमणमा बीआरआईको विषयमा ठोस परिणाम लिएर जाने अपेक्षाका साथ नेपाल आएका चिनियाँ उपविदेशमन्त्री सुन रित्तै फकिए ।

    सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री सुनले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । 
    नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म त्यसमा कुनै पनि ठोस काम हुन सकेको छैन् । बीआरआई नेपाललाई ऋणमा डुबाउने खालको योजना भएको भनी यसका आलोचकहरूले आलोचना गरिरहेका छन् ।

     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस