Logo

Jul 01 2024 | २०८१, असार १७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 243
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १४ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    images

    धितोपत्र बोर्ड अध्यक्ष सिफारिस छनोट प्रक्रिया रद्द

    काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको जनाएको छ ।अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै यो जनाएको हो ।

    सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया अन्योलमा फसेको थियो ।समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । योग्यता पुगेका उम्मेदवारमध्ये तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको भएपनि   सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।

    महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि पनि यसअघि बुधबार दुई पटकसम्म समितिको बैठक बसेको भएपनि कुनै पनि निर्णय हुन सकेको थिएन ।महान्यायाधिवक्ताको रायअनुसार अन्तर्वार्तामा सहभागी नै नभएका उम्मेदवार समेत राखेर नाम सिफारिस गर्ने कि प्रक्रिया खारेज गर्ने भन्ने विषयमा समितिका सदस्यहरूबीच मतभेद् थियो ।

    साधना र सबैको लघुवित्त मर्जपश्चात सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने

    काठमाडौं । साधाना र सबैको लघुवित्त एक आपसमा मर्ज भएपछि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै कम्पनी एक भएपछि सम्पदा  लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ । 
    दुवै कम्पनी एक आपसमा मर्ज भएर एकीकृत कारोबार गर्नको लागि अन्तिम तयारीमा रहेका छन् । दुवै कम्पनीलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले पनि अन्तिम स्वीकृति दिईसकेको छ ।

    समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

    काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ। यी दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।
    गत चैत २९ गते सम्पन्न यी दुबै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो।

    सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आजबाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।

    नेपालमा काम गर्ने भारतीय नागरिकले क्यूआर कोडबाट पैसा पठाउन सक्ने , दिनको १५ हजार महिनामा १ लाखसम्म पठाउन मिल्ने

    काठमाडौं । नेपालमा काम गर्ने  भारतीय नागरिकले क्यूआर कोडबाट भारतमा पैसा पठाउन वा भुक्तानी गर्न पाउने सुविधा पाएका छन् ।बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गरी सो सुविधा दिएको हो ।

    केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । 
    नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

    जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसईई उत्तीर्ण

    काठमाडौँ । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।

    सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उहाँले जानकारी दिनुभयो । “शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्”, प्राचार्य भट्टले भन्नुभयो ।

    युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

    मस्को । युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताउनुभएको छ । उहाँले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गर्नुभयो ।

    आक्रमण बिहान ४ः३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गर्नुभएको छ ।

    यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।

    रामेछापको लिखुमा बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

    काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्।
    घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।

    पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

    लिमा ।पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

    युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९) डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ ।

    ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।

    मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

    जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । 

    संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको  समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’

    काठमाडौँ ।   प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा  गर्न आग्रह गर्नुभएको छ  । 

    उहाँहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गर्नुभएको छ । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो ।

    उहाँ भन्नुभयो, “उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन रु”

    मनसुनजन्य विपद् प्रतिकार्य यस्तो छ सरकारको तयारी

    काठमाडौँ । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ ।
     
    नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहारिने गरेका छन् । उत्तरबाट–दक्षिणतर्फ बहने अधिकांश नदी, खोलानाला र खहरेले नेपालमा बर्षायाममा निम्त्याउने बाढी पहिरोबाट बर्सेनि ठूलो जनधनको क्षति पु¥याउँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
     
    पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरण्ीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले पनि बाढी र पहिरोको जोखिमलाई थप मलजल गरेको छ । विपद्बाट कूल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको अवस्था छ ।

    न्युरोडस्थित ब्रम्हटोलको प्रतीक इन्टरप्राइजेजबाट स्रोत नखुलेको बीस लाख बढी हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । स्रोत नखुलेको अवैध रकम कारोबार गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका वडा न १२ ब्रह्मटोलस्थित प्रतीक इन्टरप्राइजेजबाट स्रोत नखुलेको बीस लाख चालीस हजार रुपैयासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

    असार ११ गते अवैध कारोबार भइरहेको सूचनाको आधारमा सो इन्टरप्राइजेजमा खानतलाशी गर्दा  जिल्ला प्रहरी परिसर काठमाडौंको  विशेष प्रहरी टोलीले प्रतीक इन्टरप्राइजेजबाट २० लाख ४० हजार स्रोत नखुलेको अवैध रकम बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सुनको मूल्य तोलामा १ हजारले वृद्धि , प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

    काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

    काठमाडौँ ।टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।

          

    टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

     

    टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उहाँको विश्वास छ ।

    टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

    काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।

    आजको मौसम : कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । 

    साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस