Logo

Jul 02 2024 | २०८१, असार १८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, असार १६ आइतबार

  • 171
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार १६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १६ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    images

    भुगर्भ  सिमेन्टले  आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

    काठमाडौं। भुगर्भ सिमेन्ट लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य रू. १०० मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेगरी नबिल इन्भेष्टमेन्टलाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

    सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्टबीच बिहीवार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

    शेयर बजार : नेप्से सूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा ,३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

    काठमाडौं ।  नेप्से सूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा आएर अडिएको छ । ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहको सूचक मात्र बढेका छन् । ३२० कम्पनीको ९१ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर परेका छन् । 

    नेसनल लाइफको २ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं ।नेसनल लाइफ इन्सुरेन्सले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार १६ गते) बाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं आवेदन दिनुपर्नेछ ।

    नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते

    काठमाडौं ।लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

    तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

     

    यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

    काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले घटेको छ । यससँगै सूचक २०५१.७३ अंकमा आएको छ । ६ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको १ हजार ७ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।९ कम्पनीको भाउ बढ्दा २४ वटाको मूल्य घटेको छ ।

    प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

    काठमाडौँ ।  प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
           
    विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

    जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका निम्ति एवम् नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरी एकपटक सङ्कल्प लिन र एकताबद्ध हुन जरुरी छ ।”

    राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध झण्डै तीन करोड सजाय मागदाबी सहित मुद्दा हाल्ने तयारी

    कठमाडौं । राजस्व अनुसन्धान विभागले सुनिल पौडेल विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ । विभागले विदेशी मुद्रा अपचलनलगायतको अभियोगमा पौडेल झण्डै तीन करोड बिगो र सजाय मागदाबी सहित मुद्दा हाल्ने तयारी गरेको हो ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्धन निर्देशक सुनिल पौडेल विरुद्ध विदेशी मुद्रा अपचलनको अभियोगमा  राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्ने अन्तिम  तयारी गरेको छ ।मुद्दा दायर गर्न  विभागले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई रायका लागि पठाएको र राय आउनासाथ यसै हप्ता मुद्दा दर्ता गर्ने विभाग स्रोतले नयाँ सडकलाई बताएको छ ।

    ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

    राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

    काठमाडौँ ।  प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
     
            उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

    एभरेष्ट बैंकद्वारा  ३ अर्बको ऋणपत्र निष्काशन गर्ने घोषणा  , बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं ।  एभरेष्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने  घोषणा गरी  बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

    प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने  गरी  बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो ।

    बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने  छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

    लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    काठमाडौँ । प्रहरीले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेकोउक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

    बागमती प्रदेश सरकारद्वारा  ६ हजार ३सय ४४ किलोमिटर सडक यातायातको गूरु योजना सार्वजनिक

    काठमाढौं । बागमती प्रदेश सरकारले  कुल  ६ हजार ३सय ४४  किलोमिटर बाटो बनाउने  भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटोडाले प्रदेश राजपत्रमा त्यसको विवरण सार्वजनिक गरेको हो ।

    भौतिक पूर्वाधार मन्त्रालयले जनाए अनुसार  १०११ किलोमिटर प्रदेश लोकमार्ग अन्तर्र्गत र ५ हजार ३ सय ३२ किलोमिटर प्रदेश मार्ग बनाउने छ ।मन्त्रालयले प्रदेश लोकमार्ग र प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरेको जनाएको छ ।

     

     
     
     
     
     
     
     
     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस