Logo

Jul 05 2024 | २०८१, असार २१गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, असार १८ मंगलबार

  • 300
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार १८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार १८ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    images

    रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृती

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीलाई बुक बिल्डिङ बिधीबाट ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो । अब कम्पनीले प्रतिकित्ता रू.८२० दशमलव  ८० का दरले हुन आउने रू.९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

    नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाको निर्णयबाट गत बुधबार अर्थात असार १२ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।   शेयर बजार : नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा ,४ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा आएको छ । आज ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् ।

     

    यस दिन ३१५ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ३३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर रहेका छन् । 

    नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न , बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो ।

    सर्वोच्चद्वारा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्न नयाँ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश

    काठमाडौं। सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट  प्रक्रिया अगाडि नबढाउन सरकारलाई आदेश दिएको छ ।अध्यक्ष छनौट प्रक्रिया अन्तर्गत लिइएको अन्तर्वार्तामा सामेल दुईमध्ये एकले हालेको मुद्दामा सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ५ जना सर्टलिस्टमा परेका थिए। ५ मध्ये तीन जना अन्तर्वार्ताका लागि गएनन्। कानुनी व्यवस्था अनुसार, कम्तीमा तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नु पर्ने भएकाले अन्तर्वार्तामा दुई जना मात्र उपस्थित भएका थिए ।

    धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस कार्यविधिमा संशोधन आवश्यक

    काठमाडौं । चरम राजनीतिकरणको धापले अल्झिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ६ महिना देखि अल्झिएको छ । गत वर्ष २०७९को पुस २० गते बोर्ड अध्यक्षको पद खाली भएयता अहिलेसम्म त्यसको अध्यक्षको नियुक्ति कहिले होला यसै भन्न नसकिने अवस्था बनेको हो ।

     

    धितोपत्र सम्बन्धी ऐन  २०६३को प्रस्तावनामा भनिएको छ ‘देशको आर्थिक विकासको लागि आवश्यक पुँजी परिचालन गर्न पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्काशन, खरिद, बिक्री  तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्न तत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकुल बनाउन वाञ्छनीय भएकोले, प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ । ’

    प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ ।

    कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले ३५ लाख इकाई अर्थात, ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । यस बैंकको असार १७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी अग्राधिकार सेयर बिक्री गर्न लागेको हो ।

    सेन्ट्रल फाइनान्सको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा फाइनान्सका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा यसको सेयर रजिष्ट्रार एनएनबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

    आज नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिन अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार १८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसमम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम ७३९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

    दोस्रो मिनेटमा ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द

    काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।

    मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।

    सुनको मूल्य तोलामा १५ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

    मंगलबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ ।

    डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

    नेपालगन्ज । भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । 

    जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।
     बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले  बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो ।

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ ।  सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ ।
          
     मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । बैठकले जापान सरकारबाट मानवसंशाधन विकासका लागि प्राप्त हुने रु ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।  
     सरकारका प्रवक्ता मन्त्री शर्माले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको उहाँले जानकारी दिँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६, लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको बताउनुभयो  ।

    हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी

    मास्को । लामो समयदेखि प्रतीक्षा गरिएको एफ– १६ लडाकु विमानको आगमनका लागि किभ तयारी गरिरहेको समयमा हवाई अड्डामा गरिएको आक्रमणमा पाँच युक्रेनी सैन्य जेटहरू नष्ट गरेको रुसले मङ्गलबार दावी गरेको छ ।

    रुसको रक्षा मन्त्रालयले रुसको सीमाबाट करिब १५० किलोमिटर टाढा रहेको मध्य युक्रेनी सहर मिरगोरोड नजिकैको हवाई अड्डामा इस्कान्डर–एम क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

    रुसी सेनाको आक्रमणको परिणामस्वरूप, पाँच परिचालन एसयू–२७ बहुउद्देश्यीय लडाकुहरू नष्ट हुनुका साथै मर्मत अन्तर्गत रहेका दुई क्षतिग्रस्त भएको टेलिग्राममा सार्वजनिक  विज्ञप्तिमा उल्लेख छ ।

    भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

    नयाँदिल्ली । भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

     यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।

       राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली ९एसआइटी० गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो ।

    पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा राख्न आदेश

    काठमाडौं ।नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

    सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए अनुसार थापालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार थापालाई  पक्राउ गरेको थियो।

    गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।
       
    गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’  फोटो प्रदर्शनीको उद्घाटन गर्दै उहाँले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सधै चिरस्मरणीय रहने बताउनुभयो ।

    राहुल र रोहित अग्रवालद्वारा सञ्चालित नकली कस्मेटिक सामान उत्पादन गर्ने  उद्योग र गोदाममा राजस्वको छापा , के गर्दै छ अनुसन्धान विभाग ?

    काठमाडौं । राजस्व अनुसन्धान विभागले नकली  कस्मेटिक सामानहरू बनाउने एक उद्योगमा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।विभागले राहुल अग्रवाल(लुहारीवाला) तथा  रोहित अग्रवाल(लुहारीवाला) र उनका बुवा मालचन्द लुहारीवालाले सञ्चालन गरेको मिसेल कस्मेटिक प्रालि नामक उद्योगमा छापामारी अनुसन्धान सुरु गरेको हो ।

    रोहित अग्रवाल परिवारले  काठमाडौंको गोकर्ण एरियामा उद्योग सञ्चालन गरेर विभिन्न ब्रान्डका कस्मेटिक सामानहरू बनाउने गरेको बताइएको छ । हेयर केराटिन स्याम्पू, डेक्सी ब्ल्याक हेयर स्याम्पू / कलर, केराटिन मोस्चराइजर एन्ड स्मूथ ट्रिटमेन्ट, केराटिन ट्रिटमेन्ट मिल्क, हेड एन्ड स्याम्पू,लगायत दर्जन भन्दा बढी चाइनिज र इन्डियन ब्रान्डका विभिन्न कस्मेटिक तथा स्याम्पूको जस्ताको त्यस्तै नकल गरी नकली उत्पादन गर्ने र बजारमा बिक्री वितरण गर्दै आएका छन् ।

    केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते

    नैरोबी । कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ। 

    केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो । 

    केएनसीएचआर रेकर्डले “देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा“ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८  देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ । 

    अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो

    मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

    झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो । 

    कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा रु १५ अनुदानको व्यवस्था गरेको थियो ।

    अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने : महासचिव शङ्कर पोखरेल

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ ।

     

    महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा ९एमाले० र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गर्नुभएको छ ।

    कांग्रेस र एमालेबीच नयाँ सहकार्य

    काठमाडौँ । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत  कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने गरिएको छैन ।

     नाम उल्लेख नगर्ने शर्तमा उहाँले रासससँग भन्नुभयो “छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको  सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राति नै हस्ताक्षर गर्नुभएको छ । ”

    आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं ।  मनसुनी वायुको प्रभावका कारण आज पनि केही स्थानमा भारी र अति वर्षाको सम्भावना रहेको हो ।

    आज बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा अति वर्षाको सम्भावना छ ।

     
     
     
     
     
     
     
     
     

     

     

     

     

     

     

     
     
     
     

     

     

     

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस