नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले पाँच किलो आठ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जाजजरकोटको शिवालय गाउँपालिका–७ घर भइ बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो ।
हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरुको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्वरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरुलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मृत्यु
नेपालगञ्जमा करेन्ट लागेर आज ३५ वर्षीय एक युवकको मृत्यु भएको छ । घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका– २० का विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
घरका एक्ला छोरा विकासकी श्रीमती र ११ वर्षीया छोरी छन् । विकासकी श्रीमती नौ महिनाअघि मात्र वैदेशिक रोजगारीमा जानुभएको थियो ।