Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार १९ बुधबार

  • 492
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार १९ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार १९ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नागरिक लगानी कोष र हिमालय ऊर्जाको सेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जाको हकप्रद सेयरमा भाउ समायोजन भएको छ । नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो । बुधबारको अन्तिमा कारोबार मूल्य २१३६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य १८७३.६८ रुपैयाँ कायम भएको छ । 

    हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गर्दा मूल्य १८४.५० रुपैयाँ कायम भएको छ ।बिहीबार समायोजित मूल्यलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।

    गत वैशाख १६ र १७ गते  आयोजित लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

    काठमाडौँ ।  गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् ।

    लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौँले आशयपत्र पेस गरेका हुन् ।

    लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत रु दुई अर्व ३५ करोड छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा , ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा आएको छ । आज  ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ४ वटा समूहको सूचक बढेको छ । फाइनान्स र ट्रेडिङ समूहमा ६ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

    यस दिन ३१४ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा मन्जुश्री फाइनान्स अग्रस्थानमा आएको छ ।

    नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज बुधबार असार १९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

    नारायणी डेभलपमेन्ट बैंकको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४८ हजार संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज ९असार १९० गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

    सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । 
    बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २५ रुपैयाँ कायम भएको छ

    रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ आइपीओ असार २७ गतेदेखि निष्कासन गर्ने

    काठमाडौं ।बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर जारी गर्न लागेको हो ।

    कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले यस आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ । साथै, लगानीकर्ताले अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

    सानिमा बैंकको ६८ हजार संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सानिमा बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १.४० विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.४० विन्दुले बढेको छ । आज  सूचक २१०१.८३ अंकमा आएको छ । ९० लाख ५३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४६ कम्पनीको १० हजार ५० कित्ता सेयर कारोबार भएको छ ।

    कुल २४ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

    आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार १९ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले असार २० गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

    कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले २९ औं वार्षिक साधारण सभा असार ३१ गते बोलाएको छ ।

    ४३ हजार बढीलाई रोजगार दिने गरी एघार महिनामा आयो सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता  नेपालमा आएको छ ।उद्योग विभागले जनाए अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएका हुन् ।

    ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा वाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएको  छ ।

    तस्करीको सुन किन्नेहरूमा लक्की ज्वेलर्स रहेको खुलासा

    काठमाडौं। विदेशबाट तस्करी भई आउने सुन नेपालमा नै केही ज्वेलरी पसलहरूले खरिद गर्ने गरेको खुलेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६१ किलो सुन प्रकरणमा गरेको दोस्रो चरणको अनुसन्धानमा केही सुन पसलका संचालकहरू पनि तानिएका हुन्। 

    काठमाडौं, चितवन र हेटौंडामा गहना पसल (ज्वेलरी पसल) सञ्चालनमा रहेको लक्की ज्वेलर्सले तस्करीको सुन किनेको पाइएको छ । यसका सञ्चालक धनुषा घर भएका ऋषि ठाकुर र म्यानेजर मुकुन्द्र ठाकुरलाई पनि प्रतिवादी बनाइएको छ।
    नेपाल भित्रिएको तस्करीको सुनमध्ये लक्की ज्वेलर्सले ३ किलो ४ सय ५० ग्राम खरिद गरेको खुलेको हो।

    मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो

    रामेछाप । मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ । 

    विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको थियो । यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो । असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताउनुभयो । “चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो । मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला रु”, उहाँले प्रश्न गर्नुभयो ।

    तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

    काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । 

    विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । 

     सहकारी ऐन २०७४ को दफा ४१ ९५० मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिनुभयो । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

     यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।

    अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

    क्यानबेरा । अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पु¥याउने चेतावनी दिएको छ ।

    अष्ट्रेलियाका एक सयभन्दा बढी ठूला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अष्ट्रेलिया ९बिसिए० ले बुधबार अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पु¥याउने जनाएको छ । 

    सत्तारुढ लेबर पार्टीले मे महिनामा अष्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङख्या सीमित गर्ने योजना प्रकट गरेको थियो ।

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, मन्त्रीहरुले आजै राजीनामा दिने

    काठमाडौँ । नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो ।
    कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । एमालेले आजै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । 

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा ९एमाले० मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो ।

    म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

    म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।  

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस