Logo

Nov 28 2024 | २०८१, मंसिर १३गते

images

मनसुनी वर्षात्ले राजधानीलगायतका देशका विभिन्न ठाउँ जलमग्न, सतर्क रहन आग्रह


नया सडक

२०८१, असार २३ आइतबार

  • 612
    Shares

  • मनसुनी वर्षात्ले राजधानीलगायतका देशका  विभिन्न ठाउँ जलमग्न, सतर्क रहन आग्रह

    काठमाडौं । उफ् गर्मीलाई यो वर्ष विदाई गर्न आएको मनसुनी वर्षात्ले राजधानी लगायत देशका विभिन्न क्षेत्रका बासिन्दालाई तर्साएको छ भने राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहने सरकारी नियोगहरूलाई तम्तयार रहन लगाएको छ ।काठमाडौं उपत्यका विभिन्न ठाउँ जलमग्न भएका छन् । बल्खु क्षेत्रमा पानी मानिसको छातीसम्म पुगेको छ ।सडक जलमग्न भएका छन् ।शुक्रबार रातिदेखिको अविरल वर्षाले  देशका विभिन्न स्थानमा ठूलो क्षति गरेको छ । कतिपय ठाउँका बस्ती जलमग्न भए भने कतिपय क्षेत्रलाई जोखिमको अवस्थामा पु¥याइ दिएको हो ।कतिपय ठाउँमा नदीले बाढी ल्याइदिएको छ । पहिरोबाट मानवीय क्षतिको जोखिम बढाइ दिएको छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत उद्धारका लागि सबैलाई जुट्न र तम्तयार रहन आह्वान गरिसकेका छन् ।

    पूर्वी नेपालको कोशी ब्यारेजका ४१ ढोका खोलिए

    koshi barrage.png

    पूर्वी नेपालको कोशी प्रदेश र मधेश प्रदेशको सीमामा रहेको कोशी नदीमा पानीको वहाव खतराको निशान भन्दा माथि पुगे पछि कोशी ब्यारेजका ४१वटा ढोका खोलिएका छन् ।सप्तकोशी नदीको जलसतह बढेर कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरियो ।  सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

    मधेश प्रदेशको पूर्वी क्षेत्र बलान नदीमा फसेका ६ किसानको उद्धार

    मधेश प्रदेशको सीमान्त पूर्वी जिल्ला सप्तरीको बलान नदीको बाढीमा फसेका ५ किसानको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेका छन् । उनीहरूले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी सार्वजनिक गरेका छन् ।

    लुम्बिनी प्रदेशको राप्तीमा बेपत्ता दुई जनाको शव फेला

    लुम्बिनी प्रदेशको राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी  सार्वजनिक गरेका छन् । यसैगरी दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको जनाइएको छ ।
    पहिरोमा पुरिएकी दुई जनाको शव भेटियो

    लुम्बिनी प्रदेशको गण्डक ब्यारेजका सबै ढोका खुला

    लुम्बिनी प्रदेशको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएका छन् ।
    नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी सार्वजनिक गरेका हुन् ।

    गण्डकी प्रदेशको कालीगण्डकी करिडोर ठप्प

    गण्डकी प्रदेशको कालीगण्डकी करिडोर ढप्प छ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी सार्वजनिक गरे  अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने स्थिति बनेको छ ।
    यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।

    गण्डकी प्रदेशको सिद्धार्थ राजमार्ग भासियो

    गण्डकी प्रदेशको स्याङ्जा जिल्लास्थित  गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा पर्ने सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडकखण्ड भासिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाल जानकारी सार्वजनिक गरेका हुन् । त्यस क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।

    गण्डकी प्रदेशमा  बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो

    गण्डकी प्रदेशमा बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको जानकारी सार्वजनिक गरेका छन् ।

    गण्डकी प्रदेशमाको तनहँमा दुई शव फेला

    तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

    सुदुरपश्चिमको महाकाली नदीमा  पानीसतह बढ्दै

    Mahakali river.png

    भारतीय सीमासँग जोडिएको सुदुरपश्चिम प्रदेशको महाकाली नदीको पानी सतह बढ्दै गएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको जनाइएको छ ।सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए अनुसार आइतबार  बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।

    सुदुरपश्चिम प्रदेशको महाकाली लोकमार्ग बन्द ,यात्रु अलपत्र

    सुदुरपश्चिम प्रदेशको महाकाली लोकमार्ग बन्द भएपछि त्यसक्षेत्रका यात्रु अलपत्र भएको छन् । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै रोकिनुपरेको छ ।  दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी सार्वजनिक गरेका हुन् ।  

    सुदुर पश्चिम प्रदेशको मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

    सुदुर पश्चिम प्रदेशको बाजुराको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी  सार्वजनिक गरेका छन् । वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस