Logo

Oct 06 2024 | २०८१, असोज २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार २३ आइतबार

  • 501
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार २३ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २३ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार नेप्सेमा रोक्का

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएकोे छ ।  
    मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार भोलि देखिनै रोक्का हुने भएको हो ।

    शेयर बजार : नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा , ६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा आएको छ । आज ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।

    यस दिन ३२५ कम्पनीको १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

    सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

    काठमाडौँ ।यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् ।

     

     आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिनुभयो ।

     

    “सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए)र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्”, रिजालले भन्नुभयो, “कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रातीदेखि बजेट भुक्तानी हुँदैन ।” सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उहाँले बताउनुभयो ।

    आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९असार २३ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १६२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २.२९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२९ विन्दुले बढेको छ । यससँगै सूचक २१२१.९९ अंकमा आएको छ । १ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५१ कम्पनीको २२ हजार ४ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।

    कुल २४ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

    १४ किलो चाँदीसहित तीन भारतीय नागरिक काठमाडौबाट पक्राउ

    काठमाडौं । १४ किलो २५० ग्राम चाँदीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका छन् ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार

     काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

    आज छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ।आज तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ।

    बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते

    काठमाडौँ ।  अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

     

    गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

     

    बाढी, पहिरामा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

    शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन : अध्यक्ष ओली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ ।

     

    नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताउनुभयो ।

    डडेल्धुरामा पहिरामा परी एकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

    डडेल्धुरा ।डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो । 

     

    लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको छ । परशुराम वडा नं। ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताउनुभयो ।

    विपद्प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔँ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

    सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभयो । 

    बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ ।
         
     बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने निर्णय संसदीय दलले गरेको  जानकारी दिनुभयो ।
     
         “सरकार अल्पमतमा परेको छ, काम चलाउन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित हो”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, “काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न बैठकले आग्रह गरेको छ, नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ ।” जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै बैठकले सरकारलाई सचेत गराएको उहाँले जानकारी दिनुभयो ।

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्नुहुनेछ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    मनसुनी वर्षात्ले राजधानीलगायतका देशका विभिन्न ठाउँ जलमग्न, सतर्क रहन आग्रह

    काठमाडौं । उफ् गर्मीलाई यो वर्ष विदाई गर्न आएको मनसुनी वर्षात्ले राजधानी लगायत देशका विभिन्न क्षेत्रका बासिन्दालाई तर्साएको छ भने राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहने सरकारी नियोगहरूलाई तम्तयार रहन लगाएको छ ।काठमाडौं उपत्यका विभिन्न ठाउँ जलमग्न भएका छन् । बल्खु क्षेत्रमा पानी मानिसको छातीसम्म पुगेको छ ।सडक जलमग्न भएका छन् ।शुक्रबार रातिदेखिको अविरल वर्षाले  देशका विभिन्न स्थानमा ठूलो क्षति गरेको छ । कतिपय ठाउँका बस्ती जलमग्न भए भने कतिपय क्षेत्रलाई जोखिमको अवस्थामा पु¥याइ दिएको हो ।कतिपय ठाउँमा नदीले बाढी ल्याइदिएको छ । पहिरोबाट मानवीय क्षतिको जोखिम बढाइ दिएको छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत उद्धारका लागि सबैलाई जुट्न र तम्तयार रहन आह्वान गरिसकेका छन् ।

    कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह

    धरान । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले  कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
     
    प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् । 

    नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् । 

    बलान नदीमा फसेका ६ किसानको उद्धार

    राजविराज । सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिनुभयो । 
     
        सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ ।  सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    मौसममा खराबी आएपछि कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

    काँक्रेविहार । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । 

    यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ । निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।” मौसममा सुधार नआएसम्म हवाई उडान हुन नसक्ने प्रमुख रिमालले बताउनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार त्यहाँ पाँच दिनदेखि हवाईसेवा अवरुद्ध छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको एक–दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।

     

     

     

     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस