Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार २८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 429
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार २८ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार २८ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति वा संघ सस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजबाट १५ दिन भित्र यस विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ३ लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।

    नेसनल लाइफ इन्सुरेन्सको १४.७३७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी कुल १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ । हाल नेसनल लाइफ इन्सुरेन्स कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ ।

    त्रिशुली नदीमा लेदोले बगाएको बसको कपडा भेटियो बस भेटिएन, आज खोजी कार्य स्थगित

    काठमाडौं ।  नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस शुक्रबार बेलुका सम्म भेटिएका छैनन् ।
    बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरहरूले बसमा लगाइएको पर्दा निकालेका हुन् ।
    हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले पुष्टि गरेको प्रहरीले जनाएको छ ।
    १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् ।सिमलतालमा आज शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ  जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

    राष्ट्रपति पौडेलद्वारा अर्को सरकार गठन नभएसम्मका लागि कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई प्रदान

    काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ ।

    मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौँ रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    चेम्बर अफ कमर्स र सीएनआईले  मौद्रिक नीतिमा समावेश गर्न छुट्टा छुट्टा सुझाव बुझाए

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई)ले मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई  सुझाव दिएको छ । चेम्बर अफ कमर्स र सीएनआईले मौद्रिक नीतिको पूर्व सन्ध्यामा फरक फरक सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकलाई सीएनआईले १५ बुँदे  र चेम्बर अफ कमर्सले ३९ बुँदे सुझाव पत्र  दिएको छ ।

    अन्तर्राष्ट्रिय अभ्यास गर्न सुझाव दिँदै सीएनआईले  नीतिगत दरलाई  प्रभावकारी बनाउन, वैधानिक तरलता अनुपात (एसएलआर) आवश्यकता अनुरुप घटाउनका लागि लचक हुन, ब्याजदर निर्धारण गर्न भनेको छ ।छिमेकी मुलुकहरूका साथै संसारका थुप्रै देशले बैंक ब्याजदर निर्धारणका लागि आधार दरको अभ्यास छाड्दै गएका छन्। यसर्थ, नेपालमा पनि अन्तर्राष्ट्रिय बैंकिङ अभ्याससँग तादम्य मिलाउन र ब्याजदर निर्धारण पद्धतिलाई थप परिष्कृत गर्नका लागि आधार दरको उन्नत विकल्पमा जानुपर्ने परिसंघको धारणा रहेको सुझावमा उल्लेख छ। राष्ट्र बैंकले हाल लागू गरेको ०.५ प्रतिशत बफर तत्कालको अवस्थामा अनुपयुक्त रहेकाले स्थगन गर्नुपर्ने माग पनि सीएनआईले गरेको छ ।

    राष्ट्रपति पौडेलद्वारा सरकार बनाउन आह्वान गर्नेबारे कानुनविद्हरूको राय लिँदै

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले अब बन्ने सरकार धारा ७६को उपधारा २ र  ३ मा बन्ने  जिकिर लिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे कानुनविद्हरूसँगको छलफलको आयोजना गरेका छन् ।राष्ट्रपति पौडेलले कानुनविद्हरूसँगको छलफल पछि नयाँ सरकार बनाउन धारा उल्लेख गरी आह्वान गर्ने भएका हुन् ।

     प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत प्राप्त नगरेपछि अब नयाँ सरकार गठनको बाटो खुलेको छ । दाहालले प्रतिनिधिसभा विश्वासको मत प्राप्त नगरेको पत्र संसद्बाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ  । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागी कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन्

    प्रधानमन्त्री प्रचण्डको विश्वास मतको प्रस्तावको पक्षमा ६३  मत , विपक्षमा  १९४  मत, तटस्थ १ ,नयाँ सरकार गठन प्रक्रिया अब सुरु हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गरेको विश्वास मतको प्रस्ताव पराजित भएको छ । प्रचण्डको प्रस्तावमा  ६३    मत प्राप्त भएको छ भने विपक्षमा  १९४  मत प्राप्त भएको छ ।

    सो प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने तटस्थकहरूको संख्या १ रहेको छ । सदनमा उपस्थित भए मत विभाजनप्रक्रियामा भाग लिने सांसदहरूको कुल संख्या  २५८  रहेको छ । अब नयाँ सरकारको प्रक्रिया अगाडि बढने भएको ।

    छलफलका क्रममा प्रचण्डको विश्वास दिनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले बताएका थिए । विपक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा पार्टीले मतदान गर्ने बताएका थिए ।

    २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह

    काठमाडौँ । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरूसँग छलफल भएको हो । 

    छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रवार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । 

    साथै काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्रि बस पहिरोले बगाएको सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थानीय सरकारले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।

    विवादित टापुमा जापानी दावीलाई लिएर दक्षिण कोरियाद्वारा चासो व्यक्त

    सियोल । डोक्डो र जापानद्वारा ताकेसिमा भनिने दुई देशको बिचमा रहेको विवादित टापुमा जापानको पछिल्लो दावीको बिषयलाई लिएर दक्षिण कोरियाले शुक्रबार विरोध गरेको छ ।

    दक्षिण कोरियाली विदेश मन्त्रालयले विज्ञप्तिमा  कोरियाली सरकारले ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानून अन्तर्गत दक्षिण कोरियाली क्षेत्रको अभिन्न अङ्ग रहेको डोक्डोमाथि जापानी सरकारको  बारम्बार सार्वभौम दावीको कडा विरोध गर्छ ।

    मन्त्रालयले टोकियोलाई दावी तुरुन्तै फिर्ता लिन आग्रह गरेको छ जुन जापानको २०२४ रक्षा श्वेतपत्रमार्फत दिनको सुरुमा जारी गरिएको थियो ।

    निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि ९ अर्ब बढी सडक विभागलाई प्राप्त

    काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि ९ अर्ब ४० करोड रुपैयाँ उपलब्ध गराएको छ।   सडक विभाग अन्तर्गतका आयोजनामा बक्यौता भुक्तानीका लागि ९ अर्ब ४० करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराएको हो।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अर्थले रकमान्तर गरी भुक्तानीको बाटो खोलिदिएको जानकारी सार्वजनिक गरेका छन् । उनले रकमान्तर गरिएको पैसा मध्ये ८ अर्ब २५ करोड रुपैयाँ लेखा प्रणालीमा प्रविष्टि भइसकेको पनि उनले बताए ।

    पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव

    काठमाडौँ । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिनुभएको छ ।

     

    त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष डा दाहालले आज रासससँग कुरा गर्दै विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो धनजनको क्षति हुनसक्ने बताउनुभयो । उहाँका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ । 

    बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

    वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । 

     

    स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताउनुभयो । “हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेट्टिनुभएका उहाँले भन्नुभयो, “काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतिक्षामा छौँ ।”

    १ अर्ब ६० करोड रुपैयाँ नतिरे पछि विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुलीको लाइन

    काठमाडौं । १ अर्ब ६० करोड रुपैयाँ नतिरे पछि विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुलीको लाइन काटेको छ । पैसा नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको हो । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो ।

    जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ । यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।

    चार लाख रुपियाँ घुस सहित ललितपुर नापी कार्यालयका नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर।बि। लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।  ।  लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

    बुद्ध एयको जहाज धावनमार्गमा फस्यो, विमानस्थल बन्द

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुइँ (माटो)छुन पुगेको थियो । काठमाडौंबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने, ‘जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।’

     
     
     

     

     
     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस