Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 336
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ३ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    धितोपत्र बोर्डमा नयाँ कार्यबाहक अध्यक्ष, सहसचिव बराललाई नियुक्ति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा सहसचिव महेश बराल नियुक्त भएका छन् । बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका सहसचिव बरालले बिहीबार अर्थ मन्त्री विष्णु प्रसाद पौडेल समक्ष बोर्डको कार्यबाहक अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिएको धितोपत्र बोर्डले जनाएको छ । अर्थमन्त्रालयको सोमबारको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका थिए ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

    शेयर बजार : नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा , १५ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा आएको छ । आज १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स र हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।  

     

    यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन अप्पर तामाकोशी हाइड्रोपावरको करिब ३९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३० करोड नाघेको छ।

    नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग

    काठमाडौं ।  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

    मौद्रिक नीति भोलि सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पारेको राष्ट्र बैंक स्रोतले जनाएको छ । मौद्रिक नीतिको विषयमा छलफल गर्न आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बस्दैछ ।

     

     शुक्रबार बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गरी सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकको छ । मौद्रिक नीतिको विषयमा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु पौडेलबीच मंगलबारै छलफल भएको थियो ।

    सूर्योदय वोमी लघुवित्तले शुक्रवारदेखि एफपीओ जारी गर्ने

    काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि  (एफपीओ)निष्कासन गर्न लागेको हो । गत पुस १९ गतेपछि ठप्प रहेको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया जेठको पहिलो सातादेखि अघि बढेको हो । पछिल्लो समय बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर , दुई कम्पनीलाई म्युचुअल फण्डको इकाई , एक कम्पनीलाई आईपीओ र एक कम्पनीलाई एफपीओ निष्कासनका लागि अनुमति दिएको छ । 

     

    बोर्डबाट असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति पाएको सूर्योदय वोमी लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँमै शुक्रवारदेखि एफपीओ निष्कासन गर्दैछ ।

    शेयर बजारको उत्साह बरकरार राख्न अर्थमन्त्री पौडेलले मौद्रिक नीति शुक्रबारै ल्याउन चाहेका हुन् र ?

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा देखिएको मौजुदा उत्साह बरकरार राख्न चाहेकाले शुक्रबार मौद्रिक नीति ल्याउन प्रयास गरिरहेका छन् ।अन्यथा केही भएन भने शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक सार्वजनिक गर्ने बैंकका सम्बद्ध स्रोत र अर्थमन्त्री पौडेल निकट स्रोतले जनाएका हुन् ।

     

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा चलेयता शेयरमा साँढे उत्साह देखिएको हो ।शेयर बजारमा आएको यो उत्साह कायम राख्न अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरसँग लामो छलफल गरे ।

    गभर्नर महाप्रसाद अधिकारीले पनि पछिल्ला समय मौद्रिक नीति लचिलो आउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । मौद्रिक नीति लचिलो आउने र ल्याउन पर्ने चौतर्फी बहस चलिरहेको बेला अर्थमन्त्रीमा पौडेल आएपछि  शेयर बजारमा साताको अन्त्यतिर साढे बाह्र अर्बको कारोबार भयो ।

    आरएसडीसी लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशतले बढ्यो

    काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ३६.४७ प्रतिशतले बढेर १४ करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

     

     

    खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १५.२२ प्रतिशतले घटेर २४ करोड ४७ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

    मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिंङ पार्टनरमा ग्लोबल आइएमई बैंक

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिंङ पार्टनरमा ग्लोबल आइएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

    यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । 

    कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरु र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरुको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख २८ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    मादमे खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा साउन १७ गते गर्ने भएको छ । असार २६ गते बसेको सञ्चालक समितीको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर म.न.पा १० ज्वागलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । 

     
     

    सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

    आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं ।  एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज बिहीबार अन्तिम दिन हो । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ३ लाख कित्ता सेयर असार २८ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

     

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु पेश गर्न सकिनेछ ।

    सुनको मूल्य तोलामा तीन सयले घट्यो  , प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँ

    काठमाडौँ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।

    अन्धानुकरणले विद्युतीय सवारी साधनमा नीतिगत प्रोत्साहनले अर्थतन्त्र खाल्डोमा गएको विज्ञहरूको कथन

    काठमाडौं । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीतिको अन्धधुन्द अनुशरण गर्दा राज्यलाई घाटा हुन गएको छ । जलवायु परिवर्तनको समस्या समाधान गर्न हरित उर्जाको प्रयोगमा अन्तर्राष्ट्रिय एजेन्डा अन्तर्गतको विद्युतीय सवारी साधनलाई प्रोत्साहनको अन्धधुन्द अनुशरण गर्दा सरकारी ढुकुटीलाई घाटा हुन गएको हो ।

     

    पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई निरुत्साहन र विद्युतीय सवारी साधनलाई प्रोत्साहनको नीति नेपालका लागि प्रत्युत्पादक बन्दै गएको पर्यवेक्षकहरू बताउँछन् ।प्रोत्साहनको नाममा सवारी साधनमा कर छुट दिने नीतिको प्रतिस्पर्धा जस्तै देखिएको उनीहरूको भनाइ छ ।विद्युतीय सवारी साधनलाई घरानियाँहरूले उपयोग गर्ने विलासिताको कोटिमा राखिएकोमा त्यसलाई छुट सहुलियत दिने वर्गीकरणमा राख्न थालियो ।

    पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा यताका अर्थमन्त्रीहरूमा  विष्णु पौडेल, जनार्दन शर्मा, डा. प्रकाशशरण महत र वर्षमान पुनसबैले छुटको नीति लिएर आए ।राज्यले नीतिगतरूपमा घरानियाँहरूलाई विद्युती सवारी साधन आयात गर्दा २सय  प्रतिशतसम्मको भन्सार छुट दिन थालिएपछि सरकारी ढुकुटीमा आउनुपर्ने राजस्व रोकियो ।

    कामपाले थाल्यो आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ ।

     

    कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम सुरु गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिनुभयो ।     

     

    गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भर्नुभएको उहाँको भनाइ छ । 

    वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

    काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

     

    उहाँले भन्नुभयो, “हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पु-याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।” मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिनुभएको थियो ।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

    काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

     

    पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो ।

          वर्तमान सरकारलाई समर्थन गरेको लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री हुनुहुन्छ । प्रतिनिधिसभामा लोसपाका चार सांसद हुनुहुन्छ ।

          प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

    गुल्मीमा राहदानीबाट  रु ६ करोड भन्दाबढी राजस्व सङ्कलन

    गुल्मी ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०र ८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको जानकारी दिनुभयो । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०÷८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कल भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो । 

     

    कार्यालयबाट आव २०८०र८१ मा पाँच हजार सात सय ३६ नागरिकताको प्रतिलिपि, ४८  गैरआवासीय नागरिकता र १२ हजार दुइ सय ७३ राहदानी सिफारिस गरिएको छ । यसैगरी सात सय ६६ नाबालक परिचयपत्र, १६ हजार आठ सय ४४ राष्ट्रिय परिचयपत्र विवरण दर्ता र एक हजार नौ सय राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअशर्माले बताउनुभयो ।

    अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

    क्यानबेरा । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा   बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४।० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

     

    तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो  ।  सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।
      
    सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ  ।

    टु पीएम नूडल्सका उत्पादकले  ‘सही छ’ नारासहित भेज मसला करी र चिकन मसला करी बजारमा ल्यायो

    काठमाडौं । मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएको टु पीएम भेज मसला करी र चिकन मसला करी गरी दुई नूडल्सलाई औपचारिकरूपमा बजारमा ल्याइएको छ ।नेपालको स्न्याक्स र नूडल्स क्षेत्रमा अग्रणी नाम दु पीएम कम्पनीले मास्टरशेफ सन्तोष शाहसँगको सहकार्यमा दुई नयाँ इन्स्ट्यान्ट नूडल्सको स्वादहरू भेज मसला करी र चिकन मसला करीको शुभारम्भ गरेको  सो कम्पनीले एक पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।

     

    ‘सही छ’ भन्ने नारासहित यसले नूडल्सको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट भएको सुनिश्चित गरेको छ ।२०५६ मा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ मा पहिलो नूडल्सको शुभारम्भ गरेको थियो। विगतका २५ वर्षमा यसले रमपम, प्रिती र टु पीएम जस्ता अग्रणी ब्राण्डहरू सफलतापूर्वक उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस