Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, साउन १० बिहीबार

  • 516
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १० बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सार्वजनिक लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

    काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ । 

     

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयललाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । 

     

    समितिले आज ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अधिकांश सांसदहरुले लाल आयोगको प्रतिवेदन माग गर्न समिति सभापतिको ध्यानाकर्षण गराउनुभएको थियो । 

     

    एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    काठमाडौँ ।  लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि रु दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ । आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ मा भएका कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदनमा सो रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ । 

     

    सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो ।

    प्राइम बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

    बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

    शेयर बजारः नेप्से ३२ अंकले बढेर २५६८.११ बिन्दुमा, कुल कारोबार हिजो भन्दा घट्यो

    काठमाडौँ ।  आज नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ बिन्दुमा उक्लिएको छ । आज १४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको हो ।

     

     यो हिजोको १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भन्दा कम कारोबार हो । 

    आज ३२०  कम्पनीको साढे तीन  करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

    मौद्रिक नीति भोली शुक्रबार सार्वजनिक गर्ने तयारीमा केन्द्रीय बैंक

    काठमाडौं ।चालु आर्थिक वर्षको मौद्रिक नीति भोली शुक्रबार सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिको प्रस्ताव पारित गर्न शुक्रबार बोर्ड बैठक बोलाइएको केन्द्रीय बैंक स्रोतले जनाएको छ । ‘सबै परिस्थिति ठीकठाक भए भोली मौद्रिक नीति सार्वजनिक हुन्छ’ स्रोतले भन्यो ।

     

    गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

    सूर्योदय वोमी लघुवित्तको  साधारण सभा साउन ३२ गते

    काठमाडौँ ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । साउन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुर स्थित लुभु पार्टी प्यालेसमा दिउँसो १२ बजेर ३० मिनेटमा सभा सुरु गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा ७५.०३ प्रतिशतले बढ्यो

    काठमाडौँ ।  सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

     

    खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिम बापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।

    यसअवधिमा खुद ब्याज आम्दानी १८.९१ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

     

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।
    आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ
    ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।

    सुनको मूल्य तोलामा २४ सयले घट्यो,  प्रतितोला १ लाख ४५ हजार रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ ।

    स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताउनुभएको छ ।

     

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ कोे कार्यसम्पादन करारबमोजिम आज बुझाउनुभएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उहाँले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

    पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणा महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्नुभएको प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिनुभयो ।

    नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

    काठमाडौँ । मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुमगन गरेको छ । 

     

    सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुङ्गा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । 

     

    स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    मन्त्रिपरिषदद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सहित सबै सदस्य नियुक्त

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट  राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरिएको हो ।

     

    उपाध्यक्षमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख शिवराज अधिकारीलाई नियुक्त गरिएको स्रोतको भनाइ छ ।अधिकारी यसअघि योजना आयोग सदस्यमा मनोनीत भएका थिए।

    सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न

    काठमाडौं । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न भएको छ । २०८१ साउन ४ गते शुक्रबार काठमाडौंको यल्लो पागोडा होटलमा आयोजना भएको कार्यक्रम १००औं बैठक भव्य रूपमा सम्पन्न भएको हो ।

     

    १०० औं बैठकमा मुख्य वक्ताको रूपमा टोस्टमास्टर्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ४१ की निर्देशक विशिष्ट टोस्टमास्टर मून प्रधान र विशेष वक्ताको रूपमा अभिनेत्री तथा सगरमाथा टोस्टमास्टर्स क्लबकी सदस्य नीति शाहको उपस्थिति रहेको थियो ।

    राजस्व अनुसन्धान विभागद्वारा साढे तीन करोड बढीको बिगो र सजाय मागसहित ७ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं ।राजस्व अनुसन्धान विभागले राजस्व चुहावट कसुरमा एक बालक समेतगरी सात जना विरुद्ध साढे तीन करोड बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले ७ जना प्रतिवादी विरुद्ध ३ करोड ५० लाख १५ हजार ५सय ४१ रुपैया ३८ पैसा बिगो कायम गरी कैद सजाय मागदाबीसहित राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको हो ।

     

    गणेश दत्त बडु, दिनेश खरेल, अमोल बिठ्ठल विभूते, ऋषिकेश प्रकाश विभुते, भरतराज खरेल र आयुष बडु तथा कानुनको विवादमा परेका एक बालक ०८०÷८१ दुच्छेननी चोक १ समेत सात जनाले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा ३ विपरीत कार्य गरी ऐ. ऐनको दाफ ४(छ)बमोजिम कसुर गरेको पुष्टि हुन आएको विभागले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

    अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी )र राहदानी विभागबीच समझदारी

    काठमाडौँ । अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी–पत्रमा हस्ताक्षर भएको छ । 

     

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच आज उक्त समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै उहाँहरुले समझदारी–पत्र आदानप्रदान समेत गर्नुभयो ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशमध्ये एसएलटिडी ९चोरी र हराएको यात्रा कागजात) डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो । साथै डब्लुआइएसडिएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझाव अनुरुप नै समझदारी भएको उहाँले बताउनुभयो ।

    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

     

    त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न हुनुहुन्छ । त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

    चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

    रसुवा ।  गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्काे व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।

     

    गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ । सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस