Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन १५ मंगलबार

  • 366
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १५ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

    खोटाङ ।  करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । 

     

    कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । “कार्यालयले अघिल्लो आव २०७९र८० मा रु २१ करोड ३८ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन भएको छ”, निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भन्नुभयो, “यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।”

    विसं २०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा , १७ अर्ब २६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा आएको छ । आज १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ८ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ४ वटा समूहको सूचक घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन र फाइनान्स समूहमा अधिक तेजी देखिएको छ । 

     

    यस दिन ३२९ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् ।

    लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साउन ३१ गते विशेष साधारण सभा

    काठमाडौं ।लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले साउन ३१ गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभा, न्युरोड-०८, पोखरा, यस कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । आइपीओ जारी पश्चात प्राप्त पुँजीको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

    लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को प्रतिफल घोषणा

    काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड  र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ।
    लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

     

    साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    शुभ लक्ष्मी कोषको ७.५० प्रतिशत प्रतिफल घोषणा

    काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि ७.५० प्रतिशत प्रतिफल घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले यस योजनाका इकाईधनीहरुलाई ७.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 
    उक्त लाभांश प्रयोजनका लागि आज साउन १५ गते बुक क्लोज गरिने भएको छ ।

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १५ गते मंगलबार १ डलरको भाउ  १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यहि भाउमा किनबेच भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

     

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा खरिद दर १७१ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ पाइन्छ ।

    तोलामा रु एक सयले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।

     

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ ।(रासस)

    बासी खाना खुवाएकाले थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना

    मलेखु (धादिङ)। होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो । “उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ”, उहाँले भन्नुभयो ।

    हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने गरी काम गरौँः मन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

     

    खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यकपर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।”

    मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्नुहुँदै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ ”, उहाँले भन्नुभयो, “यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो ।  त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।”

    सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शार्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्‍याउनुपर्ने बताउनुभएको छ । 

     

    तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उहाँले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

    प्रधानसेनापति शर्माले भन्नुभयो, “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।” उहाँले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदा कार्य गर्न निर्देशन दिनुभयो ।

    प्रधानमन्त्री ओलीले सय दिन भित्र छिटो छरितो काम गरेर देखाउने गरी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएका निर्देशनहरू

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन भित्र छिटो छरितो काम गरेर देखाउने गरी काम गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । उनले दिएका निर्देशनहरू यस प्रकार रहेका छन् ।

     

    – ढुक्कसँग काम गर्नुस्। यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ। 

    – राज्यका मन्त्रालय र निकायमा तलव दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन। मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, आर्थिक अवस्था राम्रो छैन। हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ। दिनभरी काम नगर्ने र पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू।

    - सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो। यो ललितपुरकै एक कार्यालयको घटना हो। सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य हुनुपर्छ। कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ।

    पर्सा प्रहरीद्वारा  भन्सार छली भएको आशंकामा लाखौँ मूल्यको लत्ताकपडा तथा खाद्यान्न सामान नियन्त्रणमा

    काठमाडौं । पर्सा प्रहरीले भन्सार छली भएको आशंकामा लाखौँको मालवस्तु नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा पर्सा जिल्ला प्रहरी  कार्यालय तथा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको कपडा, खाद्यान्न तथा खुद्रा सामान नियन्त्रणमा लिएको हो ।

     

    पर्सा प्रहरीले जानकारी सार्वजनिक गरे अनुसार मति २०८१।०४।११ गते अं.११ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.०८ रेल्वे रोड  स्थित सडकखण्डबाट अ.मु.रू. ४०,०००।– ( चालीस हजार ) बराबरको ४८५ के.जी. चिनी  नियन्त्रणमा लिइएको थियो ।

    यसैगरी मिति २०८१।०४।१२ गते अं.१६ः४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.०८ गहवा  स्थित सडकखण्डबाट अ.मु.रू. १,१०,०००।– ( एक लाख दश हजार ) बराबरको मिट मसाला ४ बोरा  नियन्त्रणमा लिइएको थियो ।

    प्रहरी चौकी गण्डक पर्साले मिति २०८१।०४।११ गते अं.२२ः०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक  स्थित सडकखण्डबाट अ.मु.रू. १,८०,०००।– ( एक लाख असी हजार ) बराबरको लेडिज कुर्ता सुरुवाल –७६ पिस, जेन्स कुर्ता – ६० पिस र स्टिलको कचौरा – २२४ पिस नियन्त्रणमा लिएको थियो ।

    वीरगञ्ज उद्योग वाणिज्य संघाद्वारा प्रहरी र राजस्व अनुसन्धान विभागलाई मालवाहक सवारी साधन चेकजाँच नगर्न आग्रह

    वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले  प्रहरी र राजस्व अनुसन्धान विभागलाई मालवाहक सवारी साधन चेकजाँच नगर्न आग्रह गरेको छ । वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित राजस्व अनुसन्धान कार्यालय पथलैयाका नवआगन्तुक प्रमुख अनुसन्धान अधिकृत बैकुण्ठ सापकोटाको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

     

    कार्यक्रममा  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले प्रहरी र राजस्व अनुसन्धानले भन्सारबाट छुटेका मालवाहक सवारी साधनलाई चेकजाँचको नाममा दुख दिएको बताउँदै प्रहरी र राजस्व अनुसन्धान विभागको सो कार्य बन्द गर्न आग्रह गरे ।

    करदाताहरूले कर चुक्ताको प्रमाणपत्र लिनै पर्ने नभएर आवश्यक भए घरबाट प्रिन्ट गरी लिन सकिने

    काठमाडौं ।करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्ने नभएकाले आवश्यकता अनुसार लिँदा हुने भएको छ ।आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्ने नभएको बताएका हुन् ।मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा तिवारीले यस्तो बताए ।

     

    महानिर्देशक तिवारीले  करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने बताउँदै  आवश्यक नै भएको खण्डमा कर चुक्ताको प्रमाण पत्र घरबाट प्रिन्ट गर्न सकिने जनाए ।

    जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ

    काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

     

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका–५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ ।

     

    यस्तै, काठमाडौँ–१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, बूढानीलकण्ठ–५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ–१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ–१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ–१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    सांसद पौडेलको प्रश्न-शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

    काठमाडौँ ।  सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ । 
    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?” गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उहाँले यसका लागि रु एक खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताउनुभयो ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

     

    समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

    साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

    काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । 

     

    साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

     

    संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

    आजको मौसम : मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा हुने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

     

    अहिले मुलुकका सात वटै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस