Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आर्थिक वर्ष २०८०/०८१ : चितवनमा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 321
    Shares

  • आर्थिक वर्ष २०८०/०८१ : चितवनमा  लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व

    चितवन ।  आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व सङ्कलन भएको हो ।

    कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । आयकरका लागि विभागले रु दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो । कार्यालयले रु दुई अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा रु एक अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले रु २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले रु १५ अर्ब ९८ करोड ८२ लाख सङ्कलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । रु ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा रु ४० करोड ३४ लाख राजस्व सङ्कलन भएको भट्टराईले बताउनुभयो । 

    प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा  लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उहाँले भन्नुभयो, “लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उहाँको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उहाँको अनुमान छ । 

    उहाँले भन्नुभयो, “घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।” कार्यालयमा गत आगमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस