Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २७ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन २७ आइतबार

  • 366
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २७ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

     

    आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०र८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

     

    विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो । आव २०७७र७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

    नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा ६७२ प्रतिशत बढ्यो

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७२ प्रतिशत वृद्धि भएको छ ।

     

    अघिल्लो वर्ष कम्पनीको खुद नाफा रू. ५ करोड ७८ लाख  रहेकोमा गत वर्ष बढेर रू. ४४ करोड ७० लाख पुगेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ९१ लाख रहेकोमा गत वर्ष घटेर रू.५५ लाख ४१ हजारमा झरेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा रू.८ करोड ६१ लाख रहेकोमा गत वर्ष बढेर रू. ५९ करोड ९१ लाख पुगेको हो ।

    आइएमई लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं।  नेपाल स्टक एक्सचेन्जे (नेप्से)मा आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

    नेप्सेमा नयाँ रेकर्ड २५ अर्ब ७७ करोड बढीको कारोबार , नेप्से २८६० बिन्दुमा

    काठमाडौं । आइतबार साताको पहिलो दिन सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार भएको हो  । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको छ ।

     

    आइतबार कारोबार मात्रै नभएर बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भयो ।२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा बढ्यो

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४७४.३८ प्रतिशत बढेर ६ करोड ७६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

     

    गत असार मसान्तसम्म कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेर २ करोड ९५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेर १ करोड ८० लाख रुपैयाँ रहेको छ ।

    आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आज साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

     

    कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर ९१ः१.५० को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।


    कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

    नेपाल एलडीसीमा स्तरोन्नति भए सकारात्मक सन्देश प्रवाहित हुने

    काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरण हुने निर्धारित समय जतिजति निकट आइरहेको छ त्यति धेरै चिन्ता चासो बढ्दै गइरहेको देखिएको छ । एलडीसीबाट विकासशीलमा रुपान्तरणका लागि नीतिगतरूपमा वकालत गर्ने देश भित्र र बाहिरका समूहहरूले यसका लागि आवश्यक पहल र गर्नुपर्ने आवश्यक सुधारका लागि सन्देश प्रवाह गरिहेका हुन् ।

     

    विकासशील देशहरूको समूहमा नेपालको स्तरोन्नतिले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा पर्न सक्ने असरबारे सरकारका विभिन्न निकायहरूले छुट्टाछुट्टै अध्ययन तथा विश्लेषणमा जुटिरहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले एलडीसीबाट माथि उक्लिएपछि नेपाललाई हुने बृहत्तर फाइदा तथा केही घाटाको तुलनात्मक अध्ययन सरोकारवाला निकार्यले गरिरहेको धारणा सार्वजनिक गरेका छन् । खतिवडाका अनुसार ती अध्ययनहरूको निष्कर्षका आधारमा यो प्रक्रियामा थप पहल गरिनेछ ।

    राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

    काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

     

    आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले यथाशिघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताउनुभयो । मन्त्री पौडेलले वाग्मती बाहेकका अन्य ६ प्रदेशमा सहिद गङ्गालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताउनुभयो ।

     

    उहाँले वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको बताउनुभयो ।

     

    मन्त्री पौडेलले बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीतिले ल्याइने बताउनुभयो । उहाँले भन्नुयो, “स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताउनुभयो ।”

    जुवाखालबाट पूर्वमन्त्री र कलाकारसहित ११ जना पक्राउ

    काठमाडौं । प्रहरीले जुवाखालबाट पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले शनिबार राति काठमाडौं महानगरपालिका ८ गौरीघाटबाट कोशी प्रदेशका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारी र टेलिसिरियल सक्किगोनिका कलाकार पुरुषोत्तम शर्मासहित ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट १ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ ।

    मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ ।

     

    राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले भन्नुभयो, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रुपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्वतयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन् । केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौँ ।”

     

    बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

    आन्तरिक राजस्व कार्यालय जनकपुरका बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

     

    जनकपुरधाम,।  आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ । सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ ।

     

    कर नबुझएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ । यसैगरी, पटकपटक ताकेता गर्दासम्म राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा रु १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकरी दिनुभयो ।

    परराष्ट्रसचिव लम्सालको निमन्त्रणमा भारतका विदेश सचिव मिस्री नेपालमा

    काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री   नेपाल आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री नेपाल आएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले मिस्रीको स्वागत गरेकी थिइन् । 

     

    लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।  भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    शिवम् सिमेन्टको नाफा ५८ प्रतिशत घट्यो

    काठमाडौं । शिवम् सिमेन्टको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा कम्पनीले २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ५८ प्रतिशत कम नाफा गरेको हो ।

     

    निर्माण क्षेत्रमा देखिएको सिथिलता, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन क्षमता अत्याधिक हुनु, विकास निर्माणसँग सम्बन्धीत सरकारी परियोजनाहरूका लागि छुट्याईएको बजेट न्यून खर्च हुनु, ठेकेदारहरूले निमार्ण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाउन नसकेका कारण कम्पनीको आम्दानी घटेको बताइएको छ ।

    कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल  बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

     

     आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना  छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस