Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन २८ सोमबार

  • 348
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २९ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    मातृभूमि लघुवित्तको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएपछि मातृभूमि लघुवित्तको नाममा सेयर सूचीकरण भएको हो । जाल्पा र किसान १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोको आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

     

    मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि १२७८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं ।  नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । यस बैंकको साउन २७ गते बसेको सञ्चालक समिति बैंकले ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पेश गर्नुका साथै, बैठकले अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्न र प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयमा छलफल गर्न विशेष साधारण सभा भदौ १७ गते बोलाएको छ ।

    श्वेतगंगा हाइड्रोपावरको विद्युत बिक्रीबाट  आम्दानी ७४ करोड ७२ लाख

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी १६ करोड ४२ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च बढेको कारण कम्पनी घाटामा गएको हो । उक्त खर्च ३५ करोड ८० लाखबाट बढेर ५६ करोड २६ लाख पुगेको छ । 

    यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४३ करोड ६७ लाखबाट बढेर ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको श्वेतगंगा हाइड्रोपावरको रिटेन्ड अर्निङ ४४ करोड ६७ लाख रुपैयाँले ऋणात्मक छ ।

    नेप्सेमा आज पनि नयाँ रेकर्ड २७ अर्ब २४ करोडभन्दा  बढीको कारोबार , नेप्से २९३१.६५ विन्दुमा

    काठमाडौं । आइतबार साताको पहिलो दिन सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक ७०.८१ अंकले बढेर  २९३१.६५ विन्दुमा आएको छ । सोमबार अहिलेसम्मकै उच्च २७ अर्ब २४ करोडभन्दा बढीको कारोबार भएको हो ।

     

    यस दिन ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल फाइनान्स परेका छन् ।

    अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

     

    अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

    भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुग्नुभएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    महुली लघुवित्त वित्तीयको खुद नाफा ५६.४७ प्रतिशतले बढ्यो

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५६.४७ प्रतिशतले धेरै हो ।

    यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.८४ र ७१ .१९ प्रतिशतले बढेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । यसको इम्पेयरमेन्ट चार्ज पनि ४ करोड ६७ लाख रुपैयाँबाट घटेर १ करोड २३ लाख रुपैयाँमा झरेको छ । 

    हाल यस लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २५ करोड ८९ लाख रुपैयाँ जम्मा रहेको छ ।

    साहस उर्जाको खुद नाफा २८८ प्रतिशतले बढ्यो , विद्युत बिक्रीबाट आम्दानी २ अर्ब ४४ करोड

    काठमाडौं । साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २८८ प्रतिशत धेरै हो ।

     

     

    विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै साहसको नाफामा पनि सुधार आएको हो । कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, वित्तीय खर्च ४७ करोड ६३ लाखबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । 

    युनिलिभर नेपाल लिमिटेडको खुद नाफा  ७.६३ प्रतिशतले बढ्यो

    काठमाडौँ ।  युनिलिभर नेपाल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो।
    कम्पनीको आम्दानीको तुलनामा खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

     

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशत घटेको छ भने कुल आम्दानी २.२३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ५.८० प्रतिशत घटेको छ।

    प्रि ओपन सेसन : नेप्से सूचक १५.६४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.६४ अंकले बढेको  छ । यससँगै सूचक २८७६.४८ विन्दुमा आएको छ । २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर कारोबार भएको छ । कुल ८० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।

    हिमालय उर्जाको विद्युत बिक्री आम्दानी २७ करोड ५६ लाख रुपैयाँ

    काठमाडौँ ।हिमालय उर्जाको असार मसान्तसम्ममा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ५६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३.०७ प्रतिशत बढेको हो।विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ।

     

    आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घट्न पुगेको हो।

    आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १५६.६७ प्रतिशतले बढ्यो

    काठमाडौँ ।चौथो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५६.६७ प्रतिशतले बढेर ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन बढेसँगै यसको खुद नाफा बढेको हो ।

    खुद बिमा शुल्क आर्जन ९०.५६ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ८२ लाख ८१ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५४ लाख २ हजार रुपैयाँ पुगेको छ ।

    खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ

    वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बन्दगाहको भन्सार यार्डमा एक हजार पाँच सय ७६  खाली कन्टेनर हुँदा ठाउँ व्यवस्थापनमा समस्या भएको जानकारी दिनुभयो । 

     

    “विशेष गरेर कोभिड महामारीको समयमा कार्गो रेलले मालवाहक कन्टेनर छाडेर खाली र्याक रित्तै फर्किँदै गए । त्यही बेलादेखि थुप्रिएको खाली कन्टेनर अहिलेसम्म पनि यथावत रुपमा नै रहेका छन्”, उहाँले भन्नुभयो, “अहिले मालवाहक कन्टेनर सामान बोकेर आउने गर्छन् ।

    सुनको मूल्य तोलामा एक सयले घट्यो ,  प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १७ सय १५ रुपैयाँ कायम भएको छ ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४३१.८७ डलरमा र चाँदी प्रतिऔंस २७.४३ डलरमा कारोबार भइरहेको छ ।

    अध्यक्ष नेपालसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका मिस्रीले कोटेश्वरस्थित अध्यक्ष नेपाल निजी निवास पुगेर आज भेट गर्नुभएको हो ।

     

    भेटमा उहाँहरूबीच द्विपक्षीय हित, सांस्कृतिक सम्बन्ध र विकासलगायत क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

    यसअघि सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

    ल्याउन लागिएको वित्तीय सहकारी ऐनको मस्यौदा तयार, छिट्टै संसदमा लाने तयारी

    काठमाडौं । बचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षणका लागि वित्तीय सहकारी ऐनको मस्यौदा तयार गरिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले प्राधिकरण गठनसम्बन्धी ऐनकोे नाम ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ राखी  मस्यौदा तयार गरेको हो ।

     

    मस्यौदाको परिच्छेद एक मा संक्षिप्त नाम र प्रारम्भिक उल्लेख छ । परिच्छेद दुईमा प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार समावेश छ । परिच्छेद तीनमा आर्थिक तथा प्रशासनिक व्यवस्था, परिच्छेद चार इजाजत तथा वर्गीकरण, परिच्छेद पाँचमा पुँजी, पुँजीकोष र तरल सम्पत्तिको व्यवस्था गरिएको छ ।

    यसैगरी परिच्छेद ६ मा वित्तीय कारोबार सञ्चालन, परिच्छेद सातमा कर्जा प्रवाह तथा असुली, परिच्छेद आठमा नियमन, निरीक्षण तथा सुपरिवेक्षण, परिच्छेद ९ मा समस्याग्रस्त वित्तीय सहकारी सम्बन्धी व्यवस्था, परिच्छेद ११ मा वासलात लेखा परीक्षण तथा प्रतिवेदन र परिच्छेद १२ मा लेखा, अभिलेख विवरण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था छ ।

    पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

    काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिनुभएको हो ।  

     

    मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । “जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ”, उहाँले भन्नुभयो, “यो वर्ष हामीले खर्च गर्ने सामथ्र्य बढाउँछौँ ।”

    बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु, नौ घाइते

    जेहनाबाद ।भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद् घटना भएको हो  ।  

     

    घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताउनु भएको छ । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।  जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी  लिइरहेको बताउनुभएको छ । उहाँहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ । 

    क्रसर उद्योग पुरानो मापदण्डमा नवीकरण नगरिए चार अर्ब बढीको लगानी डुब्ने चिन्ता  प्रधानमन्त्री ओली समक्ष व्यक्त

    काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पुरानै मापदण्डका आधारमा क्रसर उद्योग तथा बालुवा उद्योग नवीकरण गर्न आग्रह गरेको छ ।संघका अध्यक्ष सीताराम न्यौपाने नेतृत्वमा गएका क्रसर उद्योगी व्यवसायीहरूले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुरानै मापदण्डका आधारमा उद्योग नवीकरण आग्रह गरेका हुन् । दर्तावाल सात सय क्रसर तथा बालुवा उद्योगहरुलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन उद्योगीले माग गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी सार्वजनिक गरेको छ ।

    डिजिटल पेमेन्टमा भ्याट लिन थालेपछि सेवाग्राही र सेवा प्रदायक दुवै मारमा

    काठमाडौँ । विद्युतीय भुक्तानी प्रणालीमा ( डिजिटल पेमेन्ट एण्ड क्लियरिङ सिस्टम) मूल्य अभिवृद्धि कर (भ्याट) थपिदिएपछि उपभोक्ता र सेवा प्रदायक दुवै मारमा पर्ने भएका छन् ।सरकारले चालु आर्थिक वर्षको बजेटबाट  डिजिटल पेमेन्टमा  भ्याट लिन थालेपछि सेवाग्राही र सेवाप्रदायक दुवै मारमा परेका हुन् ।

     

    भ्याट बढाइएपछि डिजिटल भुक्तानी प्रवृतिमा कमी आए सेवा प्रदायक कम्पनीहरूलाई उनीहरूको सेवा व्यवसायमा कमी आउने भएको छ ।डिजिटल पेमेन्टको विस्तार अझ जनताको ठुलो हिस्सामा हुन बाँकी रहेको छ । यस्तोमा डिजिटल पेमेन्टको ट्रेन्डमा कमी आए सेवा प्रदायक कम्पनीहरू निरुत्साहित हुने चिन्ता कतिपयको रहेको छ ।यसबारे केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको तर्फबाट अर्थमन्त्रालयमा ध्यानाकर्षण गराइएको छ ।

    विद्युतीय ‘ट्रान्सफर्मर’ चोर्ने गिरोहका १० जना पक्राउ

    काभ्रेपलाञ्चोक । जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

     

    जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । 

     

     

    प्रतिक्रिया दिनुहोस