Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 561
    Shares

  • प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको एक सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रहेको छ । प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरुबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ६३ दशमलव ४७ प्रतिशत पुँजीगत खर्च भएको, तीन हजार चार सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार ६ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सम्पन्न भएको तथा बैठकमा त्यसबारे छलफल भएको जानकारी दिनुभयो । मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईउद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ । बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अपर्याप्तता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजना समयमा सम्पन्न नभएको प्रस्तुतिकरणमा उल्लेख छ ।

    समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरुले चालु आर्थिक वर्ष २०८१/८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको एक सय दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ ।

    आर्थिक वर्षको सुरुआतदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते सबै मन्त्री र सचिवलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस