Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ५ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 363
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ५ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ५ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् ।

    बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने बताए ।

    नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूला ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने पनि पौडेलले बताए ।

    ऊर्जा उत्पादनमा समय र जवानी लगाएका ऊर्जा उद्यमीहरुले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्याहरु एक एक गरी समाधान गर्न बृहत छलफलमा आउन ऊर्जा उद्यमीहरुलाई आग्रह गरे ।

    नेपालको ऊर्जा क्षेत्रको यत्तिको प्रगतिलाई प्रगति मानेर बस्न नहुने भन्दै उनले हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

    रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

    काठमाडौँ ।  नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ ।

     

    सो कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरण मात्रै बनाएको छैन, रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।

     

    सरकारले गत साउन ३० गते मात्रै उक्त कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि अनुसार रु पाँच लाखदेखि २० लाखसम्मको कर्जा परियोजना नै धितो राखेर पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । पछिल्ला दिनमा यसप्र्रकारको व्यावसायिक अवधारणाका बारेमा सरकार र निजी क्षेत्रले साझा छलफल मात्रै अगाडि बढाएका छैनन् । त्यसका लागि मिलेर काम गर्ने सङ्कल्पसमेत गरेका छन् ।

    शेयर बजार:आज नेप्से परिसूचक २.११ अंकले बढेर  २९६८.४४ बिन्दुमा, कारोबार करिब १० अर्बले घटेर १८ अर्ब बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २.११ अंकले बढेर  २९६८.४४ बिन्दुमा पुगेको छ । आज बुधबार १८ अर्ब ९०  करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।  यसैगरी ४ करोड १४ लाख ५४ हजार ६ सय ११ शेयरको कारोबार भभएको छ । आइतबारको तुलनामा आज करिब १० अर्ब रुपैयाँ कमको कारोबार भयो ।३सय ३७ कम्पनीका शेयरहरूको २ लाख १४ हजार ३सय १९ कारोबार भएको छ ।

     

    यसअघि आइतबार  नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा झरेको थियो । आइतबारको कारोबार २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

    बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

    काठमाडौँ ।गत आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ ।

          

    नेपाल उद्योग परिसङ्घ (सीएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ७३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको हो ।

     

    बजेटमा परेका २४ दशमलव ६५ प्रतिशत अर्थात् १८ वटा बुँदा पूर्ण कार्यान्वयन भएको, ६९ दशमलव ८६ प्रतिशत अर्थात् ५१ बुँदा आंशिक कार्यान्वयन भएको र पाँच दशमलव ४७ प्रतिशत अर्थात् चार वटा बुँदाको कार्यान्वयन शून्य देखिएको हो ।

     

    रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । रेन्बो डिस्टिलरीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पूँजी वृद्धि गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन प्रक्रिया पुरा गर्नका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत रोड टु आईपीओ योजनासम्बन्धी सम्झौता गरेको छ । मंगलवार भएको उक्त सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मीनराज भुसालले हस्ताक्षर गरेका हुन । एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पूँजी वृद्धि र व्यावसायिक प्रबर्द्धनमा परामर्श सेवा दिंदै आइरहेको छ ।

     

    कम्पनीले १० करोड रुपैयाँ चुक्तापूँजीलाई शतप्रतिशत वृद्धि गरी पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिएको छ । सम्झौता अनुसार एलिटले रेन्बोलाई चुक्तापूँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने  छ ।

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा

    काठमाडौं ।  सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम(३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    प्रि ओपन सेसन : नेप्से सूचक १४.६९ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढेको  छ । यससँगै सूचक २९८१.०३ विन्दुमा आएको छ । २ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २ कम्पनीको ४९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएको छ । 

     

    कुल ५३ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

    नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री बोलपत्र आह्वान

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको  संस्थापक शेयर बिक्री हुने भएको छ ।कम्पनीले विशाल समूहको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो ।

     

    शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयर धनीले असोज ८ गतेसम्म आवेदन दिन सक्ने  खुलाइएको छ । शेयर खरिद गर्न चाहनेले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने छ ।कम्पनीले शेयरको  भाउ प्रति कित्ता ४५० रुपैयाँ तोकेको छ । बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटललाई दियएको छ ।

    नेसनल लाइफ इन्सुरेन्स कम्पनीको साधारण सभा भदौ ७ गते

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको शुक्रबार भदौ ७ गते वार्षिको साधारण सभा बस्ने भएको छ ।साधारण सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     

     आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता

    दमौली । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । 

     

    केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।  युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।  युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ र बिक्रीदर ३५६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

    नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो

    काठमाडौँ ।  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । 

     

    प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

    वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो ।

    प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

    धरहरा खुला गर्ने तयारी भइरहेको छः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उहाँले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

     

    उहाँले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । “धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

         

    यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्नुहुँदै उहाँले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताउनुभयो ।

    उमेर छँदै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका प्रहरी अधिकारीहरूद्वारा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौं। २१ प्रहरी अधिकारील  नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दैे सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरुको  ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाश भइरहेको छ ।

     

    उमेर हद बाँकी नै रहँदा पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरु अदालत गएका हुन् । उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका छन् ।३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुंगो नलाग्दासम्म ३० वर्षे सेवा अवधिको व्यवस्था लागू नगर्न रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

    राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन, कसले मार्ला बाजी ?

    काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशकविहीन भएको छ । राजस्व अनुसन्धान विभागमा  कसलाई पठाउने भन्ने विषय सरकारले टुंगो लगाउन नसक्दा विभाग महानिर्देशकविहीन भएको हो ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्रीको विशेष ‘इन्ट्रेस्ट’ रहने गरेको छ । प्रधानमन्त्रीकै चाहना अनुसार राजस्व अनुसन्धान विभागमा महानिर्देशक पठाउने गरिन्छ । नेपाल सरकारका सहसचिवहरू मध्येबाट एक जनालाई महानिर्देशकको जिम्मेवारी दिने गरिन्छ ।

    गत हप्ता ५९ सहसचिवहरूको सरुवा गरेको सरकारले पाँच जना सहसचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको थियो । तिनै पाँच जना मध्येबाट राजस्व अनुसन्धान विभागको महानिर्देशक  बनाइने छ ।

    यद्यपि महानिर्देशक बन्नका लागि सहसचिवहरू मध्ये सुमन दाहाल र चण्डीप्रसाद घिमिरे तथा अर्का एक सहसचिवको रस्साकस्सी हुँदा सरकारलाई महानिर्देशक पठाउन कठिनाइ भएको हो ।महानिर्देशक पठाउन विभिन्न शक्तिकेन्द्रहरू समेतको चलखेल हुने गरेको छ ।

    आइएमई लाइफ इन्सुरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

    काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । 

    आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र  अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।
      
    आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय  संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल  सोलुसन लगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेल कार्यरत थिए र छन् ।

    खराब मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् । 
    अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको छ । बिहान १०ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको उक्त विमान खराब मौसमका कारण ‘डाइभर्ट’ भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेको विमानस्थलका महाप्रबन्धक निरौलाले राससलाई जानकारी दिए ।

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा रहेका १४खर्ब ३० अर्ब बढी रुपैयाँ बराबर निक्षेपको बीमा गरियो

    काठमाडौँ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ बराबर निक्षेपको बीमा (सुरक्षण) भएको छ । ५६ वटा बैंक तथा वित्तीय संस्थाका ४ करोड ५७ लाख ९५ हजार प्राकृतिक व्यक्तिका नाममा रहेको  खातामा जम्मा गरएको निक्षेप सुरक्षण भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले जनाएको हो ।

     

    अघिल्लो आर्थिक वर्ष ०८० असार मसान्तमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरिएको थियो ।मौजुदा व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको ५ लाख रुपैयाँ सम्मको बीमा हुनुपर्ने छ । यो बीमा व्यवस्था संस्थाका नाममा खुलेका खातामा रहेको निक्षेपमा  गरिँदैन् ।

    सुनको मूल्यमा फेरि अर्को नयाँ रेकर्ड,  प्रतितोला  १ लाख ५३ हजार रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८००  रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । आईतबारको बजारमा कायम एक लाख ५२ हजार ६०० रुपैयाँलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।

    हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

    मध्यविन्दु  ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा  बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो । 
      
    आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले  हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो ।

     

    “आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच  हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।” 

    प्रतिक्रिया दिनुहोस