काठमाडौँ । ९० प्रहरी अधिकृत भदौ महिनामा अवकाशमा जाने भएका छन् । नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि तीमध्ये अधिकांश अधिकृत १६ भदौ आइतबारदेखि लागु हुने गरी अवकाशमा गएका हुन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था अनुसार १६ भदौबाट एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना अवकाशमा गएका हुन् । उनीहरूले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै दायर गरेको रिट निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । सरकारले अदालतको सो आदेश विरुद्ध भ्याकेट निवेदन दिएर त्यसलाई खारेज गराइ दिएपछि उनीहरू अवकाशमा जान बाध्य भएका हुन् ।
आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् ।त्यस्तै ११ एसपी पनि अवकाशमा गएका छन् । अवकाश पाउनेहरुमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान छन् ।
त्यसैगरी श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डीएसपी पनि अवकाशमा गएका छन् ।योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ इन्स्पेक्टर पनि अवकाशमा गएका छन् ।नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ भदौमा अवकाशमा जाने भएका छने भने असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेल लगायत पनि अवकाशमा जाने भएका छन् ।