काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ’पूर्व प्रहरी संगठन प्रमुख मञ्च’द्वारा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङलाई कारबाही गर्न माग गरिएको छ ।‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूर्व महानिरीक्षकहरूले मन्त्री गुरुङलाई कारबाही गर्न माग गर्दै प्रधनामन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
पूर्व महानिरीक्षकहरूले मंगलबार एक विज्ञप्ति जारी मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन भनेका छन् ।
‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ । नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील पनि सो विज्ञप्तिमा गरिएको छ।
नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले भनेका छन् ।पूर्व महानिरीक्षकहरूले स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्ने लोकतन्त्रको सुन्दर पक्ष भएको विज्ञप्तिमार्फत् जनाएका छन् ।